स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशका ठूला राजनीतिक दलहरूले गठबन्धनको प्रक्रिया अन्तिम चरणमा पुगाइसकेका छन। कुन ठाउँ कसले लैजाने सबै टुंगो लगाइसकेका छन। कुनै नगरहरुमा असन्तुष्टि जनाइरहे पनि केन्द्रीय नेताको दबाबमा चुपचाप अर्को राजनीतिक दलको झण्डा समाएर चुनावमा प्रचारप्रसार गर्न बाहेक नेता तथा कार्यकर्ताकाे अरु कुनै विकल्प छैन। हामी जनतालाई जे गरेर भए पनि झुक्याउने जानेका अनुभवी राजनीतिक दलसँग के नै गर्न सकिन्छ र तर नागरिक सचेत बन्यौ भने नै यस्ता व्यक्तिहरुलाई पाखा लगाउन सकिन्छ ।
त्यो आफ्नो अमुल्य मतले नै सम्भव छ । नत्र जति चिच्याएर कराएर गाली गरेर मात्र केही हुनेवाला छैन। अझैसम्म पनि कतिपयले स्थानीय सरकार भनेको स्पष्ट रुपमा बुझेकै छैनन् जस्तो लाग्छ। स्थानीय सरकारको काम कर्तव्य बुझ्यो भने नै आफुले दिएको भोटको सम्मान हुने हो। तर, राजनीतिक दलहरूले जसरी अहिले स्थानीय तहको कार्यकारिणीका लागि हुने प्रत्यक्ष निर्वाचनमा समेत गठबन्धन गर्न थालेका छन्, त्यो चाहिँ बिल्कुलै गलत कदम हो।
स्थानीय सरकारको मूलभूत उद्देश्य तल्लो तहमा विकास निर्माण गर्नु र नागरिकलाई स्थानीय स्तरमै सेवासुविधा उपलब्ध गराउनु हो। त्यसैले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष गाँसिएको स्थानीय तहमा राजनीतिक अस्थिरता कत्ति पनि हुनु हुँदैन। त्यो अस्थिरता नआओ्स भनेर नै गाउँ÷नगरपालिकाका प्रमुख÷ उपप्रमुख, वडा अध्यक्षदेखि सदस्यसम्म सबै प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिन्छन्।
स्थानीय सरकारका लागि हुने चुनावमा अहिले भईरहेको यस्तो भागबन्डा गठबन्धन पद्धति बसायो भने भोलि लोकतन्त्रकै लागि खतरनाक बन्न सक्छ।
स्थानीय सरकारमा पक्ष–प्रतिपक्ष भन्ने हुन्न। स्थानीय सरकारमा एउटै पार्टीले सबै पद जितेका भए अरू पार्टीले नराम्रा कामको आलोचना गर्छन्। जनप्रतिनिधिहरू जनताको प्रत्यक्ष निगरानीमा हुन्छन्। फरक पार्टीबाट छन् भने उनीहरूले नै एकअर्कालाई चेक एन्ड ब्यालेन्स गर्छन्। तर गठबन्धन गरेपछि त तुलसीपुर काङ्ग्रेसले लुट्ने घोराही माओवादीले लुट्ने पोखरा समाजवादीले लुट्ने सबैले मिलेर लुट्ने भन्ने सन्देश जान्छ। हामी कहिलेसम्म उनिहरुले जे गर्दा पनि टुलुटुलु हेरिरहने
सबै थाहा छ उनिहरुले गलत गरिरहेको पनि थाहा छ।गाली पनि गर्छौ तर किन यति चाडै बिर्सन्छौ उनिहरुले दिएको पिडा सोच्नुस त तपाईंको छिमेकीको घरमा आगो लाग्दा कत्ति क्षति भयो! भोलि बिहानै अलिकति राहत लिएर घर पुनः निर्माण गर्दिने आश्वासन दिदै जनप्रतिनिधि आईपुग्छन हामी त्यहीँ कुरामा खुसी भईहाल्छौ ओहो हामीलाई भेट्न जनप्रतिनिधि आउनुभयो। तर सोच्नुस त यदि त्यो जनप्रतिनिधिले हाम्रो टोल छिमेकमा आगो लाग्दा बित्तिकै दमकल उपलब्ध गराईदिएको भए।
के तपाईंको टोलमा दमकलको ब्यवस्था छ? यदि छ भने के राम्रोसँग गल्लि गल्लीमा दमकल जानसक्ने बाटो छ? तपाईंको परिवारको सदस्यले सामान्य स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउदा दुई केजी स्याउ र सुन्तला लिएर जनप्रतिनिधि भेट्न आउदा यसै खुसी हुनुहुन्छ जनप्रतिनिधि दुखको बेलामा हामीलाई सान्त्वना दिन आउनु भयो भनेर तर त्यही जनप्रतिनिधिले गाउँमा राम्रो स्वास्थ्य उपचार गर्ने स्वास्थ्य चौकी निर्माण गरिदिएको भए तपाईंले आफ्नो परिवारको सदस्य गुमाउनु पर्ने थिएन।
किन यति सजिलोसँग बिर्सिन्छौ हामीले यति धेरै ठूला पीडाहरु अब सम्झनुस भोट हाल्नु भन्दा अगाडि । लकडाउनको बेलामा अक्सिजन नपाएर कुनै जनप्रतिनिधिले ज्यान गुमाएको समाचार सुन्नु भयो ? कुनै राजनीतिक दलका ठुला नेताहरु लकडाउनको बेला छटपटाएको देख्नु भयो ? एउटा अक्सिजन सिलिन्डर नपाएर जनता मरिरहदा उनीहरुको त घरघरमा स्टकमा अक्सिजन सिलिन्डर राखिएका हुन्थे। अकालमा ज्यान गुमाउनेहरु को हत्यारा होइनन् तिनिहरु ? बाँकी सबै निर्णय तपाईहरुकै हातमा छ । विवेक पुर्याएर भोट गर्नु होला।तपाईंको एउटा गल्तीले पाँच वर्ष पछुटाउनु नपरोस्।यो पार्टी त्यो पार्टी भन्दा पनि योग्य र सक्षम नेतृत्व चुन्नुस।
कसैको प्रलोभनमा परेर अथवा दबाबमा होईन आफ्नै बुद्धि विवेकले भोट गर्नुस्। रंगिन प्रचा पम्पेटमा छापिएका ठुला ठुला योजनाले भरिएका घोषणापत्रमा विश्वास नगर्नुहोस् गएको पाँच वर्षमा गरेका प्रतिबद्धता हरुको लिस्ट माग्नुस काहाँ कति काम भए मूल्यांकन गर्नुस र सहि निर्णय लिनुहोस ताकि फेरि पाँच वर्ष पश्चताप मा बिताउनु नपरोस।
समिर ओली
