काठमाडाैं,१० जेठ । तेह्रथुमको फेदाप गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक चार हजार रुपैयाँ उपचार खर्च प्रदान गर्ने भएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशवप्रसाद भेटुवालले सोमबार पदभार ग्रहण गर्दै ज्येष्ठ नागरिकको जीवनलाई सहज बनाउन उपचार खर्च दिने निर्णय गरेका हुन् ।
अध्यक्ष भेटुवालले सरकारले ज्येष्ठ नागरिकहरुलाई भत्ता र उपचार खर्च दिने गरेको भएपनि त्यसले अपुग हुने स्थिति रहेको भन्दै उनीहरुको जीवनलाई थप सहज बनाउन उपचार खर्च दिने निर्णय गरेको बताए । गाउँपालिकामा ७० वर्ष माथिका करिब नौ सय ज्येष्ठ नागरिक छन् ।
‘सरकारले ज्येष्ठ नागरिकको सम्मानमा अहिले जति सुविधा दिएको छ, त्यो पर्याप्त छैन । अझ हाम्रो भुगोल र परिवेश सुहाउँदो छैन । ज्येष्ठ नागरिक समाजका अभिभावक हुन् । उनीहरुको जीवनलाई सहज बनाउनु स्थानीय सरकारको दायित्व हो,’ अध्यक्ष भेटुवालले भने, ‘हामीले ज्येष्ठ नागरिकहरु प्रतिको सम्मानलाई बुझेका छौँ । सुरुवातमा स्वास्थ्य उपचार र दैनिक जीवनयापनमा सहज होस् भनेर वार्षिक चार हजार रुपैयाँ ज्येष्ठ नागरिक वृत्ति दिने निर्णय गरेका छौँ ।’
अध्यक्ष भेटुवालले आफ्नो कार्यकालमा सबै लक्षित वर्गको सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । गाउँपालिकामा अध्यक्ष भेटुवाल र उपाध्यक्ष सुनिता पाहिमले सोमबार पदभार ग्रहण गरेका छन् । यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । कांग्रेसबाट भेटुवाल अध्यक्ष बनेका हुन् भने पाहिम माओवादी केन्द्रबाट उपाध्यक्षमा विजयी भएकी हुन् । अघिल्लो पटक यहाँ नेकपा एमालेले जितेको थियो ।
