दाङ, मंसिर १७ । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय प्रदेशको अस्थायी मुकामबाट स्थायी राजधानीमा सारिएको छ । अस्थायी मुकाम बुटवलबाट देउखुरीको सिसहनियाँमा रहेको एउटा सरकारी भवनमा मन्त्रालय सारिएको स्वास्थ्यमन्त्री ईन्द्रजीत चौधरीले जानकारी दिनुभयो ।
‘राप्ती गाउँपालिकाले भवन उपलब्ध गराएपछि हामीले त्यही भवनमा मन्त्रालय सार्ने निर्णय लियौँ,’ मन्त्री चौधरीले भन्नुभयो– ‘त्यो भवन मन्त्रालय प्रयोजनका लागि उपयुक्त छ ।’
तत्कालीन वडा कार्यालय रहेको भवनमा १२ वटा कोठा छन् ।
भवन उपलब्ध भएपछि त्यहाँ मन्त्रालयको बोर्ड टाँगिएको छ । भवनमा रंगरोगनसँगै भौतिक संरचना सुधार गरेर मन्त्रालयको काम सुरुवात गरिने उहाँले जानकारी दिनुभयो ।
‘भवनमा रंग–रोगनसँगै केीि मर्मत गर्नुपर्ने पनि देखिएको छ, फलतः हामीले अहिले बोर्डमात्रै टाँगेका छौँ,’ मन्त्री चौधरीले भन्नुभयो– ‘यो काम सकिएपछि हामी देउखुरीबाटै मन्त्रालयका सबै काम गर्छौं ।’
उहाँका अनुसार भवन मर्मतका लागि १५ दिन जति लाग्नेछ ।
यो काम पूरा भएपछि सबै कर्मचारी मन्त्रालयमै हाजिर हुनेछन् तर बुटवलमा सम्पर्क कार्यालय भने रहने छ ।
अस्थायी मुकाम बुटवलमा रहेको यो मन्त्रालय अहिले भाडाको घरमा छ ।
यस अघि स्थायी राजधानीको लालमटियामा शहरी तथा ग्रामीण विकास मन्त्रालय पनि सारिएको छ । राप्ती प्राविधिक शिक्षालयको भवनमा यो मन्त्रालयको बोर्डमात्रै टाँगिएको छ ।
यो मन्त्रालयमा डिल्ली चौधरी मन्त्री नियुक्त भएपछि उहाँले स्थायी राजधानीमा रहेकै मन्त्रालयमा आएर पदभार ग्रहण गरे पनि कामकाजमा असहज भएको भन्दै मन्त्रालयका कामकाज अस्थायी मुकाम बुटवलबाटै गर्न थालिएको हो ।
स्वास्थ्य मन्त्रालयको स्थानान्तरणसँगै प्रदेशसभा सञ्चालनको अन्तिम तयारी पनि भइरहेको छ । हाल निर्माणाधीन प्रदेशसभा भवनको काम आगामी माघ महिनासम्म सम्पन्न भइसक्ने भनिएको छ । यो भवन निर्माण भए लगत्तै प्रदेशसभा पनि स्थायी राजधानीमै सञ्चालन हुने मन्त्री चौधरीले बताउनुभयो ।
प्रदेशसभा भवन सञ्चालन भएपछि सबै मन्त्रालयसँगै अन्य सरकारी निकाय पनि स्थायी राजधानीमै सर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।
