काठमाडौं,२ असार । लोकसेवा आयोगको बागलुङ कार्यालयले ७२औँ वार्षिकोत्सका अवसरमा वृक्षरोपण र सम्मान कार्यक्रम आयोजना गरिएको छ । बुधवार कार्यालय परिसरमा कपुर, पारिजात, हर्रो, कल्कीलगायत बिरुवा रोपिनाका साथै दश वर्षदेखि सेवारत कार्यालय सहयोगी देवीप्रसाद शर्मालाई सम्मान गरिएको शाखा अधिकृत भुवनहरि अधिकारीले जानकारी दिए ।
शर्मा विगत २८ वर्षदेखि सरकारी सेवामा छन् । लामो समयदेखि निष्ठा र इमान्दारीपूर्वक कार्यालयको सेवामा खटिएकाले उनलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालय परिसरको सौन्दर्यीकरणसँगै पर्यावरण स्वच्छ राख्न वार्षिकोत्सवका अवसरमा वृक्षरोपण गर्ने सोच पलाएको आयोगका परीक्षा शाखा प्रमुख गोपाल बरालले बताए । आयोग विसं २००८ असार १ गते गठन गरिएको थियो ।
