काठमाडौं, १९ मंसिर । नेपाली भाषाको गायन क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३१ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी सम्झना गरिंदैछ ।
वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उहाँको निधन विसं २०४७ मंसिर १९ गते भएको थियो ।
उहाँको सम्झनामा आज नारायण गोपाल संगीत कोषलगायत अन्य सांगीतिक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित नारायण गोपाल चोकमा रहेको उहाँको प्रतिमामा बिहान माल्यार्पण गरिएको छ ।
विसं २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ ।
उहाँलाई २०२३ सालमा सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।
यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
उहाँका ‘म त लालीगुराँस भएछु’, ए कान्छा ठट्टैमा यो.., एउटा मान्छेको मायाले कति.. लगायतका थुप्रै कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।
