काठमाडौं,८ असार । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका(५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ ।
मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् ।
उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् । मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ । मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
