अजरबैजान, १६ असार । सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल ‘Non-lAigned Movement's Parliamentary Network’ को सम्मेलनलाई नेपालको संसदीय प्रतिनिनिधि मण्डलका तर्फबाट नेपाली समय अनुसार आज साँझ सम्बोधन गर्दै उहाँले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन नेपालको सहयोग र ऐक्यवद्धता व्यक्त गरेका हुन् ।
‘नेपालको प्रतिनिधिमण्डलका तर्फबाट सहयोग र ऐक्यबद्धताको बढ्दो स्तरको लागि असंलग्न आन्दोलनका सदस्यहरुसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि हामी आन्दोलनका नेताहरूलगायत विश्वका सबै नेताहरूलाई हातेमालो गर्न आह्वान गर्दछौं ।’ सभामुख सापकोटाले आफ्नो सम्बोधनमा भने । सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अंगको रूपमा समेटेको जानकारी गराउँदै भने ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनु पर्छ र कमजोर देशहरूको लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ ।’
सम्बोधनका क्रममा सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुङ्गा सावित भएको उल्लेख गरे । यसले आन्दोलन भित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको उनको भनाई थियो । ‘आन्दोलनको छलफलमा संसदहरूलाई संलग्न गराउनुले यस विश्वव्यापी एजेन्डालाई जनताको नजिक ल्याउन योगदान पुर्याउँछ । त्यस्ता संलग्नताहरूले आन्दोलन अन्तर्गत हाम्रा साझा लक्ष्यहरूलाई दिगो र समृद्ध बनाउन मद्दत गर्नेछ । यस सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्दै असंलग्न मूल्यहरूलाई गहिरो र विस्तार गर्न संसदहरूलाई सक्षम बनाउने मेरो प्रतिनिधिमण्डलको धारणा छ ।’सभामुख सापकोटाले भने ।
‘असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वाबलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको छ । हामीले सामूहिक रूपमा द्वन्द्व र चुनौतीहरूलाई कम गरेका छौं ।’ उनले भने, ‘उपलब्धिहरूको बावजुद, हामीले द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक मन्दी, मूल्यवृद्धिसम्मका नयाँ र दोहोरिने समस्याहरूको सामना गरिराखेका छौं । धनी र गरिबबीचको असमानता बढ्दै गएको साथै ऊर्जा संकट र खाद्य असुरक्षा पनि सूचीमा थपिएका छन् ।’ सभामुख सापकोटाले आफ्नो सम्बोधनका क्रममा भू–राजनीतिक तनावको उदयको बीचमा, विश्वले हतियारको दौडको अभूतपूर्व स्तर देखेको, महाशक्तिहरू र महत्वाकांक्षी शक्तिहरू बीच पनि सैन्य खर्च बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
आज देखि सुरु भएको सम्मेलन असार १८ गते सम्म चल्ने छ । सभामुख सापकोटाको नेतृत्वमा प्रतिनिधि सभा सदस्य पुष्पा भुषाल गौतम, राष्ट्रिय सभा सदस्य रामचन्द्र राइ र सभामुख सापकोटाका स्वीकीय सचिव गोविन्द पाठक यही असार १४ गते अजरबैजानर प्रस्थान गर्नु भएको हो । नेपाली प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने छ ।
