तेस्रोआँखा डेस्क
दाङ, मंसिर २० । तत्कालीन ५ नम्बर प्रदेशको अस्थायी मुकाम कहाँ तोक्ने ? प्रदेशसभा निर्वाचनको परिणामलगत्तै भेगीय ‘मतान्तर’ उब्जियो ।
प्रदेशका १२ वटै जिल्लाका लागि पायक पर्ने एकथरी आवाज चर्किरहेको थियो भने आफूलाई विकसित ‘शहर’ का बासिन्दा भन्नेहरूले ‘बुटवल’ को ‘डिफेन्स’ लिइरहेका थिए ।
आमनागरिकको तहबाट निस्किएका यी आवाज एकथरी थिए तर अस्थायी मुकाम तोक्ने पहिलो केन्द्र भनेकै संघीय सरकार थियो । त्यो बेला सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।
आफ्ना प्रिय नेता प्रधानमन्त्री भएका बेला प्रदेशको अस्थायी मुकाम आफूले भनेकै ठाउँमा तोक्ने ‘रेस’ मा थिए हालका गृहमन्त्री बालकृष्ण खाँण । उनी बुटवलका । दाङलाई राजधानी तोक्ने सवालमा कहिल्यै सकारात्मक नबनेका उनै खाँणले बुटवललाई अस्थायी राजधानी तोक्नका लागि आफ्नो ‘बलबुता’ ले भ्याएसम्मकै गरे ।
नभन्दै, उनै खाँणहरूको जोडबलले प्रदेशको अस्थायी राजधानी बुटवलमै तोकियो । दाङका दीपक गिरीहरूले सरकारको यो गलत निणर्यको बिरोध गरिरहेका थिए पनि तर खाँणलाई नसुनी देउवाले गिरीलाई सुन्ने कुरै भएन । भलै अहिले दाङ स्थायी राजधानी तोकिएको छ ।
बुटवल राजधानी तोकिनु खाँणका लागि आफ्नो गृह जिल्लाको माया बटुल्ने अवसरमात्रै थिएन, प्रदेशको राजधानी आफूले भनेकै ठाउँमा तोकेर उनी सिंगो प्रदेशको एकल नेता बनेको भ्रममा भ्रमित थिए । फलतः राजधानी घोषणापछि प्रदेशस्तरीय राजनीतिमा उनले चलाएको ‘रजगज’ ले पनि यसको पुष्टि गरिरहेकै थियो ।
त्यसो त, देउवा निकटस्थ खाँण प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक हुनु र अहिले प्रधानमन्त्री देउवापछाडिको दोस्रो बरियतामा सरकारमा रहनु उनको व्यक्तिगत राजनीतिको उँचो कद त हो नै । यी पद देउवा-प्रेमले प्राप्त भएका थिए । उनी आफू प्रदेशको एकल नेता बन्न त प्रदेश राजनीतिको परीक्षामा सामेल हुनैपथ्र्यो ।
अस्थायी मुकाम तोकेर आफूलाई प्रदेशको अघोषित ‘बडेमान’ का नेता मानेका खाँणका लागि यसलाई प्रमाणित गर्ने अवसर कांग्रेसको १४औँ महाधिवेशन बन्यो । सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेशमा आफ्नो एक्लो उपस्थिति देखाउने अभिलाषा उनले प्रमाणित गर्न चाहन्थे ।
उनी विश्वस्त पनि थिए कि प्रदेशको बहुमतले आफूलाई प्रदेशको एकल नेताको रूपमा घोषित गर्ने छ । त्यही भएर त लुम्बिनी प्रदेशको स्थायी राधजानी दाङमा कांग्रेसको प्रदेश महाधिवेशन तोकिएन, स्थायी राजधानी इतर देखिँदै आएका खाँणकै गृहजिल्ला रूपन्देहीमा यो महाधिवेशन तोकियो ।
अनि उनै खाँण महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथिसमेत चुनिए । खाँणको गृहजिल्ला रूपन्देहीमै प्रदेश महाधिवेशन तोकिनु अनि उनै खाँण प्रमुख अतिथि चयन हुनुले संस्थापन इतरलाई विजयी बनाउने अभियानका साथ भैरहवा पुगेका दीपक गिरीहरू स्वतः असफल हुन्छन् भन्ने लख कांग्रेसवृत्तमा काटिएकै थियो ।
तर, गिरीहरूले त्यो दम देखाए र आफूलाई प्रदेशको अघोषित एकल नेता मान्दै आएका खाँणलाई हारको नमीठो ‘स्वाद’ चखाए । त्यो पनि उनै गृहमन्त्री खाँणकै गृहजिल्ला रूपन्देहीमा आफूलाई प्रदेशको निणर्ायक नेता बनेको ‘विजय बिगुल’ दीपक गिरीहरूले फुकिदिएका छन् । खाँणका लागि यो ‘बिगुल’ इतिहासमा लामो समयसम्म पनि नमीठो धुनका रूपमा गुञ्जिइरहने छ ।
भरतकुमार शाहलाई प्रदेशको नेतृत्व दिलाएर प्रदेशको एकल निणर्ायक शक्ति बन्ने अभियानमा थिए खाँण । शाहको नेतृत्वमा छुट्टै प्यानल निर्माण गरेर चुनावी मैदानमा उतारेका खाँणबिरुद्ध दीपक गिरी, चन्द्र भण्डारी, अनिता देवकोटाहरूले अमर सिंह पुन नेतृत्वको समूहलाई मैदान उतारे । एक उपसभापतिबाहेक अन्य सबै पदमा पुन नेतृत्वको प्यानलका उम्मेदवार विजयी भए । यो निर्वाचन पुन र शाहबीचको भिडन्तमात्रै थिएन ।
दीपक गिरी र बालकृष्ण खाँणबीच प्रदेशमा ‘बिरासत’ कायम गर्ने लडाइँ पनि थियो । अन्ततः सोमबार बिहानको परिणामले गिरीलाई जिताइदिएको छ भने प्रदेशमा बिरासत कायम राख्न निकै कसरत थालेका खाँणलाई हारले गलाइदिएको छ ।
देउवाका अति प्रिय भइरहँदा पनि प्रदेशका कांग्रेसीहरूसामु आफू प्रिय नभएको महशुस प्रदेश महाधिवेशनको चुनावी अंकगणितले स्पष्टरूपमै गराइदिएको छ । किनकि, प्रदेशमा उनको आफ्नो राजनीतिक प्रभावलाई खाँण आफैंले आफ्नै गृहजिल्लामा पढ्न पाएका छन् ।
संस्थापन समूहको नेता बनेर भरत शाहहरूलाई जिताउन मन्त्रालय छाडेरै भैरहवामा केही दिनदेखि ‘अड्डा’ जमाएर बसेका खाँणले अब पनि प्रदेशमा एकलरूपमा हालीमुहाली गर्ने प्रयास गर्लान् ? यो त हेर्न बाँकी नै छ तर उनका लागि अब यो रजगज भने सजिलो बनिदिएन ।
उनको गृहजिल्लामा आफ्नो समूहलाई जिताएर प्रदेशमा ‘बिरासत’ कायम गरेको बिगुल फुकेका दीपक गिरी खाँणका लागि चानचुने शक्ति बनेर अब उभिने छैनन् । खाँणबाट पुनः एकल रजगजको प्रयास भए प्रदेशमा दिलाएको आफ्नो समूहको जीतको प्रमुख हकदार गिरीले भन्नेछन्- ‘आफ्नै आँगनमा हारेको बिर्सेको ?’
