काठमाडौं, २० मंसिर । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । एकपल्ट नेप्से ७३ अंकसम्म झरेर २ हजार ४४० र बढेर २ हजार ५५० अंकसम्म पनि पुगेको थियो ।
सोमबार नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार ५४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
आज २२७ कम्पनीको ६९ हजार ८८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपियाँको कारोबार भएको छ ।
कारोबारका आधारमा सबैभन्दा बढी नबिल बैंकको शेयर कारोबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्नसकेका छैनन् । आज उच्च नाफा कमाउनेमा मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यसको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
