काठमाडाैं,२६ असार । सत्तारूढ प्रमुख तीन दलले स्थानीय तह निर्वाचनमा आपसमा अविश्वास, धोका र जालझेल भएको निष्कर्ष निकालेका छन् । गत वैशाख ३० मा एकै चरणमा भएको निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले आधाभन्दा बढी ठाउँमा तालमेल गरेका थिए ।
तीनै दलले आफ्ना औपचारिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा गठबन्धनभित्र देखिएका स–साना समस्या र धोकाबारे उजागर गरेका छन् । ७ सय ५३ पालिकामध्ये ३ सय २४ वटामा तालमेल गरेकामा गठबन्धन दलले २ सय १८ प्रमुख र १ सय ८७ उपप्रमुख जितेका छन् । स्थानीय निर्वाचनको अनुभवबाट पाठ सिकेर आसन्न प्रदेश र संघीय निर्वाचनमा तालमेल गर्नुपर्ने दलका प्रतिवेदनहरूमा जोड दिइएको छ ।
कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको अनुगमन, मूल्यांकन र सुपरिवेक्षण समितिको प्रतिवेदन, माओवादीको केन्द्रीय समितिबाट पारित अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन र एकीकृत समाजवादीको केन्द्रीय परिषद्को विस्तारित बैठकबाट पारित अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा समग्रमा गठबन्धन उपलब्धिमूलक रहे पनि त्यहाँभित्र दर्जनौं समस्या देखिएको उल्लेख छ । तीन दलले सहयात्री दल र आन्तरिक (उम्मेदवार चयनदेखि अन्तर्घात) समेत र आपसी अविश्वास, धोका र जालझेल नै अपेक्षाकृत नतिजा नआउनुकाे कारण रहेकाे ठहर्याएका छन् ।
