काठमाडौं, २६ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव सीपी मैनालीले खुकुलो नागरिकता निति नेपालको हित विपरीत रहेको बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मैनालीले खुल्ला सिमाना र दुई ठुला देशको बिचमा रहेको देशले खुकुलो नागरिकता नीति अपनाउनु देशको हित विपरीत भएको बताएका हुन् । ‘ठुला र धेरै जनसंख्या भएका देशकोबीचमा रहेको नेपालले सजिलै नागरिकता प्रदान गर्ने व्यवस्थाले मुलुकको रैथाने बासिन्दाहरु अल्पमतमा पर्ने स्थिति आउन सक्छ’, मैनालीले भने ‘खुकुलो नागरिकता निति नेपालको लागी हित विपरीत रहेको छ ।’
उनले देशमा सात सालदेखि यता पटकपटक नागरिकता निति परिवर्तन हुँदै आएको तर यो अझै व्यवस्थित नभएको बताए । पहिलेको नागरिकता विधेयकमा भएको राम्रो नितिलाई हटाएर नराम्रो नीति ल्याउन यो नागरिकता विधेयक फिर्ता ल्याएको उनको भनाइ छ ।
अनेक हिसाबले विदेशीलाई नेपाल भित्र्याउने प्रणालीलाई अन्त्य गर्नु पर्ने उनको माग छ। किर्ते नागरिकता पहिचान गरि त्यसलाई खारेज गर्नुपर्ने उनले स्पष्ट पारे । उच्च स्तरीय नागरिकता अध्ययन समिती बनाएर देशको सार्वभौमिकतालाई असर नगर्ने गरि नागरिकताको समस्या समाधान गर्न पनि उनले सरकारसँग माग गरे । सरकारले नागरिकता विधेयक फिर्ता ल्याएर विदेशीको गुलाम बनेर देशको हित विपरीत नागरिकता विधेयक ल्याउन सक्ने सम्भावना रहेकोले यसप्रति सचेत हुनुपर्ने उनकाे भनाइ छ ।
