काठमाडाैं,२८ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भातृ संगठनलाई पूर्णता दिने विषयमा आजको छलफल केन्द्रीत हुने बताइएको छ । हिजो देखि चलेको बैठकमा स्थानीय तहको निर्वाचन समिक्षा, भातृ तथा सुभेच्छुक संस्थाहरुको पूर्णता दिने र आगामी निर्वाचनको तयारीका सन्दर्भमा नेताहरुले विचार राखेका छन् । सोमबारको बैठकमा केन्द्रीय सदस्य नैन सिंह महरले नेविसंघ र तरुण्दलमा पदाधिकारी सहितको कार्यसमिति बनाउनु पर्नेमा जोड दिएका थिए ।
तर शीर्ष नेताहरु प्लेन कमिटी बनाउने तयारीमा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले तेस्रो आँखासँग भने, ‘सोमबार केही केन्द्रीय सदस्यहरु र आमन्त्रीत सदस्यहरुले आफ्ना विचार राख्नु भायो, वाहाहरुको जोड भातृसंगठनहरुको पदाधिकारी सहितको कार्यसमिति ल्याउान पर्छ भन्नेमा रह्यो, तर शीर्ष नेताहरु भने पदाधिकारी बनाउँदा को कस्को मान्छे भन्ने समस्या हुने आकलन गर्दै सबैलाई सदस्य बनाएर नेविसंघ, तरुणदलको प्लेन कमिटी ल्याउन तयारी भएअनुसार आजै केही निर्णय हुनसक्छ ।’
लामो समय नेतृत्व विहिन भएको नेविसंघमा दुजाङ शेर्पा र तरुणदलमा विद्वान गुरूङलाई तीन महिना अधि पार्टी सभापति शेरबहादुर देउवाले जिममेवारी दिएका थिए । हाल सम्म दुबै अध्यक्षले केही काम गर्न सकेका छैनन् । पार्टीको विधान अनुसार ६ महिना भित्र बनाउनु पर्ने विभिन्न विभागहरु समेत नबनाएको भन्दै डा. शेखर कोइराला समुहले निरन्तर आवाज उठाउदै आएका छन् । यो बैठकले ती विषयलाई समेत सम्बोधन गर्न सक्ने बताइएको छ ।
