काठमाडौं, ३१ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीतिक संलग्नता देखिएको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बालुवाटारमा शुक्रबार भएको पाँच दलीय गठनबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए ।
बैठकमा सहभागी अन्य नेताहरूले पनि अधिकारीको राजीनामा माग्नु पर्ने आवाज उठाएकाे थिए । बिहीबार प्रधानमन्त्री देउवासँग गभर्नर अधिकारीले भेट गर्दै राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिको बारेमा जानकारी गराएका थिए । असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी नाम रहेको छ ।
उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामा माग हुँदै आएको छ । अधिकारी र एमालेले भने एम अधिकारी भनेको महाप्रसाद नभएको जनाएका छन् ।
