काठमाडाैं,३१ असार । नेकपा एमालेका कार्यकर्ता बनेका राष्टबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। नेकपा एमालेको अर्थ तथा योजना विभागमा छद्म नाम एम अधिकारी राखेको र उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको नै भएको दाबीसहित विरोध भइरहेका छन्। एमालेले पनि एम अधिकारी को हुन् भन्ने प्रष्टाउन सकेको छैन।
उक्त समितिका एक सदस्यले एम अधिकारी भनेका महाप्रसाद अधिकारी नै भएको बताए । नेविसंघले आज माइतीघर मण्डलमा गभर्नर अधिकारीविरूद्ध प्रदर्शन गरेको हो। नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको भन्दै बर्खास्त गर्न माग गरेका छन्। उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप शसक्त बनाइने बताएका छन्।
