उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु-बालकुमारी, ललितपुरकै धोबीघाटमा दुई वटा र काठमाडौंको गुह्यश्वरीमा थप एउटा गरी सात ठाउँमा पानी प्रशोधन केन्द्र निर्माणकाे कार्य अघि बढेको खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना निर्देशनालयका प्रमुख चन्द्र पाँ श्रेष्ठले जानकारी दिए ।
सर्वसाधारण तथा कलकारखानाबाट निस्कने ढललाई प्रशोधन गरेरमात्र बाग्मतीमा मिसाइने प्रक्रिया अघि बढेको छ । घर तथा कलकारखानाबाट निस्किएको ढललाई सिधै खोलाको पानीमा मिसाउँदा बढी फोहोर भएको भन्दै उपत्यकामा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
एसियाली विकास बैंकको सहयोगमा चारवटा प्रशोधन केन्द्र निर्माण हुँदैछ । एउटा आयोजना भने सम्पन्न भइसकेको र बाग्मतीको पानी सफा बनाउनका लागि चारवटा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनी भन्छन्, ‘ढल व्यवस्थापन पनि गर्दैछौँ । हामी सहायक नदीमा पनि जानुपर्छ । सबैतिर एकैपटक जानका लागि हाम्रो क्षमता पनि पुग्दैन । मुख्य बाग्मतीको सहायक नदी, सहायक नदीका पनि सहायक नदीमा गएका छौं । सबै सहायक नदीमा जानुपर्छ तर बाग्मती नदीलाई बढी प्राथमिकता दिएका छौं ।’
सातवटा सहायक नदी र बाग्मती नदीमा ढल व्यवस्थापन गर्नका लागि करिब ५५ अर्ब रुपैयाँ लागत लाग्ने र अन्य सहायक नदीको पनि अध्ययन गर्ने उनले बताए ।
उनले भने, ‘हामी पानी शुद्धी बनएर गरेर खोलामै पठाउँछौं, जुन पानी खान योग्य नभए पनि त्यहाँ माछाहरु बाँच्न सक्छन् । हामीले प्रशोधन गरेको पानी पिउनका लागि नभएर माछा बाँच्नेसम्मको हुनेछ ।’
फोहोर पानीलाई स्वच्छ बनाउका लागि गुह्यश्वरी, सल्लाघारी, कोड्कु र सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माण भईरहेको छ । यी चार ठाउँका प्रशोधन केन्द्र सन् २०२३ सम्ममा निर्माण भइसक्ने आयोजनाको भनाइ छ ।
काठमाडौं उपत्यकाको प्रमुख नदी बाग्मतीको पानी स्वच्छ राख्न ढल मिसिनबाट बचाउनुपर्ने हुन्छ । त्यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बाग्मती, धोवीखोला र विष्णुमती नदी किनारमा ढल बगाउन छुट्टै पाइपलाइन विस्तार गरिरहेको छ । यस्तै, मेलम्चीले मनहरा र हनुमन्ते खोलामा पाइपलाइन विछ्याउने काम गरिरहेको छ ।
पाइपलाइनबाट बग्ने पानीलाई विभिन्न स्थानमा निर्माण हुने प्रशोधन केन्द्रले सफा बनाई खोलामा बगाउनेछ । चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो ।
चारवटा प्रशोधन केन्द्र निर्माणको लागि खर्च कति लाग्छ ?
चार ठाउँमा प्रशोधन केन्द्र तथा मनहरा र हनुमन्ते खोलामा ढलको पाइप विछ्याउनका लागि मेलम्ची आयोजनाले १३६ मिलियन अमेरिकी डलर खर्च गर्दैछ । एसियाली विकास बैंकको ८० मिलियन अमेरिकी डलर ऋण सहयोग र सरकारले ५६ मिलियन अमेरिकी डलर आयोजनालाई दिएको छ । निर्माण सम्झौता अनुसार सन् २०१९ सम्म बागमतीमा स्वच्छ पानी बग्नु पर्ने भए पनि अझै आयोजनाले काम सम्पन्न गरेको छैन ।
गुह्यश्वरीको काम सकिसकेको छ तर १० वर्षसम्म मेन्टेनेन्सको काम गर्नु पर्नेछ । ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ ।
कहाँ पुग्यो बाग्मती ब्युटीफिकेशनको काम ?
बाग्मती ‘ब्युटिफिकेशन’ को काम २७ वर्षसम्म पनि कुनै सुधार आएकाे छैन । लामो समयदेखि रोकिएको काम अहिले पुन: सुरु भएको बाग्मती एकीकृत सभ्यता समाजले बताएको छ । आयोजनामा हालसम्म १४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको समाजले बताएको छ । हाल आयोजना अघि बढाउनका लागि भने जग्गा मुआब्जाको क्षतिपूर्तिको कारणले समस्या भइरहेको समाजले जनाएको छ ।
समाजले सन् २०१९ भित्र ब्युटिफिकेशन बाग्मती बनाइसक्ने गरी आयोजना अघि बढाएको थियो । बाग्मती नदीको वरिपरि किनारमा लगाएका बोटबिरुवा र फूलको संरक्षण गरी २०१९ भित्र स्वच्छ, सफा र हराभरा बनाउने तयारी स्वरुप विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो ।
मुआब्जा विवादका कारण नै बाग्मतीको ब्युटिफिकेसन परियोजनाको काम रोकिएका थियो । विवाद मन्त्रालयसम्म पनि पुगेको थियो । यो विवाद संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलको विषय नै बनीसकेको थियो ।
ब्युटिफिकेशन क्षेत्रमा पर्ने जग्गाका धनीले मुआब्जाको क्षतिपूर्ति नदिएसम्म काम गर्न नदिने अडान लिएपछि आयोजनाको काम १० महिनासम्म ठप्प भएको थियो । बाग्मती नदी क्षेत्रका वासिन्दाले १८८ रोपनी जग्गाको मुआब्जा माग गर्दा कुनै सुनुवाइ नगरेपछि आयोजनाको काम रोकिएको थियो ।
अहिले सरकारसँग पहल गर्दै बाग्मतीदेखि गोकर्णसम्म ब्युटिफिकेशनको काम अगाडि बढाइरहेको बाग्मती एकीकृत सभ्यता समाजका सूचना अधिकारी कमल अर्याल बताउँछन् । उनी भन्छन्, ‘बाग्मतीको उदगमस्थल सुन्दरीजलदेखि चोभारसम्म ढलको पाइप बिछ्याइसकेको छ । पशुपतिदेखि माथिकोे ढल गुह्यश्वरीमा मिसाइएको छ भने तीलगंगादेखि धोबिघाटसम्म पनि काम भइरहेको छ ।’
उनका अनुसार, नदी क्षेत्रमा रोकिएको पार्क बनाउने, फूल रोप्ने र ढल निर्माणको काम फेरि सुरु भएको छ । नदीको पानीको गुणस्तर सुधार्न बाग्मती शुद्धीकरण प्रशोधन केन्द्र पनि सञ्चालन भइरहेको उनले जानकारी दिए । भूमिका तिमल्सिना/न्युज कारखाना
