काठमाडौं, ७ साउन। एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विधान महाधिवेशन गर्ने भएको छ। अखिलको तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला असोज १ गतेबाट गर्ने अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।
शुक्रबार बसेको केन्द्रीय कमिटी पदाधिकारीको बैठकले विधान महाधिवेशनमा संगठनको विधान, सङ्गठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमा तीन दिनसम्म छलफल चल्ने उनले बताइन्। अखिलले जीवनउपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्ध नेपाल निमार्णको आधारका लागी तेश्रो नीति तथा विधान अधिवेशन भन्ने नारा तय गरेको छ।
अखिलले विश्वविद्यालयमा नियमितरूपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्दर्भमा रचनात्मक दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
