• ट्रेण्डिङ्ग :
अनलाइन एकल नाटक प्रतियोगिताको उपाधिका लागि पाँच नाटक छानिए

अनलाइन एकल नाटक प्रतियोगिताको उपाधिका लागि पाँच नाटक छानिए


  • 4.5K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    अनलाइन एकल नाटक प्रतियोगिताको उपाधिका लागि पाँच नाटक छानिए

    काठमाडौं, १८ साउन । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७–७८’को फाइनलका लागि पाँचवटा नाटक छनोट भएका छन् ।  उत्कृष्ट पाँचमा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् ।

    images

    ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ । प्रतियोगितामा सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा छनोट भएका थिए ।

    ती ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्यब च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अंकका आधारमा ११ बाट उत्कृष्ट ५ नाटक छनोट गरिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले जानकारी दिए ।

    उत्कृष्ट ५ नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत् २२ साउनमा विशेष कार्यक्रमबीच विजेता छनोट गरिनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने नाटकलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १५, १५ हजार रुपैयाँ प्रदान गरिने छ । ‘नाट्य क्षेत्रमा भविश्य खोजीरहेका प्रतिभाहरुलाई राष्ट्रिय मञ्च र अवसर प्रदान गर्न अनलाइन एकल नाटक प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने ।

    नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कनेजस्ता विषय मान्य नहुने प्रावधान राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # पाँच नाटक छानिए

  • तेस्रो आँखा