काठमाडौं। पछिल्लो समय ईस्पोर्ट्समा नेपाली युवा आकर्षित हुँदै गएका छन् । खेलमा रमाइलोसँगै आम्दानी पनि बढ्दै गएपछि युवाहरु आकर्षित हुँदै गएका हुन् । ईस्पोर्ट्स अर्थात् विद्युतीय उपकरण प्रयोग गरी विभिन्न खेल खेल्ने प्रचलनले पछिल्ला वर्षहरूमा नेपालमा पनि व्यापक हुँदै गएको छ । प्रविधिको विकास, उपकरण र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल र कम्प्युटर जस्ता उपकरण प्रयोग गरी पब्जी मोबाइल, फ्री फाएर, डोटा २, काउन्टर स्ट्राइक लगायतका अनेकन् खेलमा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारहरू बताउँछन् । सुरुवाती समयमा सोखका रूपमा वा मनोरञ्जनका लागि यस्ता खेलमा रमाउनेहरूले कतिपयले त यी खेलमै भविष्य देख्न थालेका छन् ।
त्यसको कारण हो खेलेमा रमाउँदै गर्दा हुन थालेको आम्दानी। इन्टरनेटको माध्यमबाट एक - एक जनादेखि समूहगत रूपमा खेल खेल्न सकिने हुँदा हाल राष्ट्रिय, क्षेत्रीय अनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना भइरहेका छन् । त्यसता कतिपय प्रतियोगिता जित्नेले ५५,००० अमेरिकी डलर (हालको विनिमय दर अनुसार ७० लाख रुपैयाँ भन्दा बढी) प्राप्त गर्ने जानकारहरू बताउँछन् । नेपालमा दर्ता गरेर सञ्चालन भएका ईस्पोर्ट्स कम्पनीको सङ्ख्या २०को हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ।
सामान्य भाषामा भन्दा विद्युतीय उपकरण प्रयोग गरी एक्लै वा एक आपसमा इन्टरनेटमार्फत खेलिने खेललाई ईस्पोर्ट्स भनिन्छ। विगतमा टेलिभिजनमा जोडेर खेल्न सकिने भिडिओ गेम अनि कम्प्युटर गेम आदि खेलिन्थ्यो । सुरुवाततिर कम्प्युटर आफूले मात्रै खेल्न सकिने खेलहरूमा सीमित थियो ।
पछि एकै पटक दुई वा दुई भन्दा बढी व्यक्तिले खेल्न मिल्ने खेल हुँदै समूहगत रूपमा खेल्न मिल्ने खेलहरू विकास भए । हाल ईस्पोर्ट्स अन्तर्गत पिसी गेम्स (कम्प्युटरबाट खेलिने खेल), मोबाइल गेम्स, प्ले स्टेसनबाट खेलिने कन्सोल गेम्स, ए आर भी आर गेम्स र सिमुलेसन् गेम्सहरू प्रख्यात हुँदै गएका छन् । ''धेरैले एकै पटक खेल्न मिल्ने 'कम्पिटेटिभ' गेम आएपछि चाही यो एकदमै प्रख्यात भयो। ईस्पोर्ट्स भनेर सुरु भएकोचाहिँ सन् २००४ - २००६ तिर होला,'' नेपाल ईस्पोर्ट्स सङ्घका अध्यक्ष सुरज डङ्गोलले भने।
उनका अनुसार सन् २००८मा इन्टरन्याशनल ईस्पोर्ट्स फेडरेसन (महासङ्घ) स्थापना भएपछि यसलाई खेलकै रूपमा मान्यता दिन थालिएको हो । त्यसअघि ई-गेम, गेमिङ, साइबर गेम्स लगायतका नामबाट यस्ता खेलहरू परिचित थिए। तर सङ्घको स्थापनाले यसलाई एउटै परिचय दिलायो ।
पश्चिमा राष्ट्र अनि चीन, जापान, दक्षिण कोरिया लगायतका ओरिएन्टल राष्ट्रहरूमा ईस्पोर्ट्सले ख्याति कमाएको लामै समय भइसकेको छ। ती मुलुकमा आर्केड गेम (खास गरी भिडिओ गेम) पनि निकै प्रख्यात थिए।नेपालमा पनि भिडिओ गेम पार्लरहरूमा स्ट्रिट फाइटर, टेकन जस्ता खेलहरू नभित्रिएका होइनन्। तर अन्य देशहरूमा जस्तै यो खेल नेपालमा भने व्यापक हुन सकेन।
डङ्गोलका अनुसार नेपालमा साइवर क्याफेको सङ्ख्या विस्तार हुन थालेसँगै अनलाइन खेलबारे धेरैले थाहा पाउन थाले । सीएस: गो अर्थात् काउन्टर स्ट्राइक : ग्लोबल अफेन्सिभको पहिलो संस्करण आएपछि समूहगत रूपमा खेलिने खेल झन् प्रख्यात भएको उनी बताउँछन् । सँगै फुटबलले पनि ख्याति पाउन थाल्यो ।
ईस्पोर्ट्सको दायरा फैलिएसँगै संस्थागत रूपमा अघि बढ्ने सन् २०१२ देखीको आफूहरूको सोचले सन् २०१६मा सङ्घ स्थापना भएपछि मूर्त रूप लिएको उनी बताउँछन् ।
यो सङ्घले इन्टरन्याशनल ईस्पोर्ट्स फेडरेसन (महासङ्घ)को सम्बन्ध प्राप्त गरेको छ। साथै एशियन स्पोर्टस फेडरेसन लगायतका खेलकुद सङ्घसँग पनि उसले सम्बन्ध स्थापना गरेको छ । सन् २०१८बाट सङ्घले बर्सेनि नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्दै आएको छ । उक्त प्रतियोगितामा डोटा, सीएस गो, फिफा, पब्जी मोबाइल र फ्री फायर जस्ता खेलहरू समावेश गरिएका छन् ।
सन् २०१० तिरबाटै क्रमिक रूपमा विस्तार हुँदै गएको ईस्पोर्ट्स अन्तर्गतका खेल मध्ये नेपालमा सबैभन्दा बढी मोबाइल गेम्सले ख्याति कमाएको जानकारहरू बताउँछन् ।
अझ कोरोनाभाइरस महामारीका कारण लकडाउन लगायतका प्रतिबन्धात्मक व्यवस्था लागु भएपछि मोबाइल गेम्स खेल्नेहरूको सङ्ख्या व्यापक रूपमा बढेको उनीहरूको भनाइ छ । सहज रूपमा आफ्नै फोनमार्फत अरू साथी भाइसँग जोडिएर खेल्न मिल्ने भएकोले पनि मोबाइल गेम्स प्रख्यात भएको बताइन्छ ।
''यसमा प्रवेश सहज छ। गेमिङ पीसी किन्दा कम्तीमा दुई लाख रुपैयाँ पर्छ। प्ले स्टेसनमा पनि झन्डै एक लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। मोबाइल त ३० - ४० हजारकैले काम चल्छ,'' डङ्गोलले भने । त्यसै कारण नेपाल सहित दक्षिण एशियाका राष्ट्रमा मोबाइल गेम्स तुलनात्मक रूपमा बढी खेलिन्छ। पश्चिमा राष्ट्रहरूमा भने कम्प्युटरबाट खेलिने खेलहरू बढी खेलिने बताइन्छ । हालसालै काठमाण्डूमा आयोजना गरिएको एशियन गेम्सका लागि छनोट चरणको खेलमा चार हजार भन्दा बढी खेलाडी सहभागी भएको सङ्घले जनाएको छ। नेपालमा मनोरञ्जनका लागि ईस्पोर्ट्समा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रहे पनि प्रतिस्पर्धात्मक खेलमै सहभागी हुनेहरूको सङ्ख्या भने कम रहेको बताइन्छ।
