काठमाडौं । चलचित्र हलहरुमा आज (शुक्रबार) देखि तीन नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ प्रदर्शनमा आएका हुन् । दीपक वलीले निर्देशन गरेको ‘कृष्णलीला’ चलचित्र अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आधारित छ । भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको यस चलचित्रमा अभिनय छ ।
यसैगरी रञ्जित रौनियारद्वारा निर्देशित चलचित्र ‘माईकल अधिकारी’ पनि प्रदर्शनमा आएको छ । यसमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय छ । सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाललगायतले अभिनय गरेका छन् । चलचित्रमा नायिका श्रेष्ठले गर्भवती महिलाको अभिनय गरेकी छिन् । आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भूमिकामा नायिका श्रेष्ठलाई देख्न सकिन्छ ।
प्रदर्शनमा ल्याइएको अर्को चलचित्र ‘प्रेमगञ्ज’ हो । यो चलचित्र परिच्छेद सेनको निर्देशनमा निर्माण गरिएको हा भने यसमा तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका छ । यो प्रेमकथामा आधारित चलचित्र हो । अर्कातिर कार्तिकेय–२ पनि नेपाली सिने बजारमा आएको छ । यसमा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख अभिनय छ ।
