न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । रकेटको इन्जिनमा समस्या देखिएपछि सोमबारका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ । मानवरहित रकेटमा देखिएको समस्या समयमै हल गर्न नसकिएपछि प्रक्षेपण स्थगित कदम चालिएको थियो ।
अर्को सम्भावित प्रक्षेपणको मिति आगामी शुक्रवारलाई भनिएको छ । आर्टमिस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उक्त कार्यक्रमले नयाँ युगको सुरुवात गर्ने बताएकी छन् ।
स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । त्यसले ५० वर्षको रिक्ततापछि मानवलाई चन्द्रमामा पठाउन लागेको नासाको आर्टमिस कार्यक्रमका लागि एउटा आधारस्तम्भ खडा गर्ने भनिएको छ ।
केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार ८ बजेर ३३ मिनेट अर्थात् जीएमटी समय १२ बजेट ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गर्यो । इन्जिनको समस्या समाधान भए सेप्टेम्बर २ मा रकेट प्रक्षेपण हुने जनाइएको छ ।
रकेटको उद्देश्य एउटा अराइअन नामक परीक्षण क्याप्सुललाई पृथ्वीबाट टाढा पठाउनु हुनेछ। उक्त अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै छ हप्तापछि प्रशान्त महासागरमा खस्नेछ ।
महत्त्वपूर्ण क्षण
यो पहिलो परीक्षण उडानमा अन्तरिक्षयात्रीहरू हुने छैनन् । तर यदि अहिलेको परीक्षण सफल भयो भने भविष्यमा यही रकेटबाट अन्तरिक्षयात्रीहरू चन्द्रमामा जानेछन् । अपेक्षा गरेअनुसार अहिलेको अभियान सफल भएमा सन् २०२४ बाट मानवलाई चन्द्रमामा पठाउने लक्ष्य राखिएको छ ।
नासाका अन्तरिक्षयात्री रेन्डी ब्रेसनिक भन्छन्,“आर्टमिस वानमा हामीले हामी के गर्न सक्छौँ भनेर हेर्न खोजिरहेका छौँ। यसबाट हामीले मानवसहितको आर्टमिस २ मिसनको जोखिम सम्बोधन गर्न सक्नेछौ।“ नासाका लागि मात्र नभई युरोपियन स्पेस एजेन्सीका लागि यो महत्वपूर्ण क्षण हो ।
अराइअनको मोड्युलका लागि उसले काम गरेको हो । पछिल्लो पट्टिको उक्त भागले रकेटको क्याप्सुललाई अन्तरिक्षमा पठाउने छ । यस्तो खालको सहकार्यकै मद्दतले भविष्यमा आफ्नो महादेशका नागरिकलाई पनि चन्द्रामाको सतहसम्म अन्तरिक्ष अभियानमा सरिक गराइने युरोपियन स्पेस एजेन्सीको अपेक्षा छ । हालसम्म आर्टमिस ९ सम्म योजना गरिएको छ ।
त्यो चरणसम्म पुग्दा अन्तरिक्षयात्रीहरूले प्रयोग गर्नका लागि चन्द्रमामा बस्ने आवास र हिँडडुलमा प्रयोग हुने सवारीसाधन पुग्ने भनिएको छ । त्यसबेलासम्म आर्टमिसले मंगल ग्रहमा मानव पठाउन आधार दिने अपेक्षा राखिएको छ । नासाका प्रशासक बिल नेल्सन भन्छन्, “यो समयसीमा राष्ट्रपति ओबामाले तय गरेका हुन्। उनले सन् २०३३ भनेका थिए। “ “त्यसपछिका प्रत्येक प्रशासनले उक्त कार्यक्रमलाई समर्थन गरेका थिए । अहिले मानिएको वस्तुपरक समयसीमा जुन मलाई भनिएको छ त्यो सन् २०३० को अन्त्य वा सम्भवतः २०४० हो ।“
शक्तिशाली रकेट
एसएलएसलाई लन्च प्याडमा लगेर एक हप्तासम्म इन्जिनियरहरूले त्यसमा प्राविधिक काम गरेर उडानका लागि तयार बनाएका थिए । रकेट प्रक्षेपणलाई हेर्न केनेडी आसपासको समुद्री तट र सडकमा दुई लाख मानिसहरू जम्मा हुने ठानिएको थियो ।
यो रकेटको क्रू क्याप्स्यूल अर्थात् अन्तरिक्षयात्री बस्ने खण्डको पनि क्षमता बढाइएको छ । अराइअन भनिने उक्त क्याप्स्यूल सन् १९६० र सन् १९७० को दशको मोड्युल भन्दा अझ फराकिलो छ । लन्चको समयमा एलएलएसले ३९.१ मेगान्यूटन्सको बल प्रयोग गर्ने बताइन्छ । त्यो सन् १९६० र सन् १९७० को दशकमा एपोलोका अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पठाएको स्याट्रन भी रकेट भन्दा १५ गुणा बढी शक्तिशाली हो ।
एसएलएस रकेट पठाउने बेलाको शक्तिले शक्ति ६० कनकर्ड सुपरसोनिक जेटलाई उडान सुरु गर्न आवश्यक शक्ति निस्कने भनिएको छ । यो परीक्षणको उद्देश्य अराइअनको तापक्रम सहने क्षमताको परीक्षण गर्नु हो । पृथ्वीको कक्षमा फर्कँदा यसको सुरक्षा कवच ठिक अवस्थामा रहन्छ कि रहँदैन भन्ने परीक्षण गरिनेछ ।-बीबीसी
