शान्तिनगर २६ साउन/ शान्तिनगर गाउँपालिका अन्तर्गतको स्थानीय परियोजना सुझाव समितिका पदाधिकारीहरू र समुन्नति डिजिटल फाईनान्स परियोजनाको संयुक्त टोलीले परियोजनाको गाउँपालिका भित्र सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको छ ।
टोलीले वडा नं ७, कुमलगढी स्थित कुमलगढी डिजिटल साक्षरता कक्षाको अनुगमन गरि कक्षाका सहभागीहरूसंग अन्तरकृया गरेको थियो । सहभागीहरूले कक्षामा आफ्नो मोबाइल मार्फत विभिन्न विद्युतीय कारोबार गर्न सिकेको र कक्षामा सिकाईने विषयवस्तुकै कारण आफ्नो कृषि कर्म लगायतका आम्दानीहरू बाट अनावश्यक तथा फजुल खर्च घटाई वचत गर्नुपर्ने र यसरी गरेको वचत आधिकारीक संस्थाहरूमा सुरक्षित राखी विद्युतीय माध्यम बाट वित्तीय कारोबार गर्नु पर्छ भन्ने ज्ञान सिकेको कुरा बताएका थिए ।
यस्तै सहभागीहरुले, बिजुली लगायतका शुल्कहरू आफैले घरमै बसेर तिर्न सिकेको बताएका थिए थिए । हाल शान्तिनगरमा ९ वटा कक्षाहरू सञ्चालन छन् जसमा १९१ जना सहभागी छनभने जसमध्ये १८२ जना महिला सहभागी छन । यसैविच टोलीले शान्तिनगर ७, स्थित साना किसान कृषि सहकारीसंस्थामा भ्रमण गरी सहकारीले परियोजना संग साझेदारी गरि परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न कार्यक्रमहरू सञ्चालन वारे जानकारी लिएको थियो ।
परियोजनाले सहकारीको क्षमता विकासका लागि ल्यापटप लगायतका विभिन्न विद्युतीय उपकरणहरू सहयोग स्वरुप उपलब्ध गराएको छ भने सहकारीको सदस्यहरूलाई एस एम एस सेवा उपलब्ध गराउन सहकार्य गरेको छ ।
हाल सहकारीले मोबाइल बैंकिङ्गको सेवा सुरु गर्न परिक्षण गरीरहेको छ । यसका साथै परियोजनाले सहकारीहरू संगको समन्वयमा आगामी दिनहरूमा थप ५०० जनालाई डिजिटल वित्तीय साक्षरता सम्बन्धित तालिम दिने योजना गरेको परियोजनाका प्रबन्धक सन्तोष अधिकारीले बताए । परियोजना र पालिका बिचको सहकार्यमा यस वर्ष पालिका भित्र कम्तिमा ५ स्थानमा वाइफाइ हटस्पट बनाउने सहमति समेत भएको छ ।
