एजेन्सी ११ असोज/ गैरआवासीय नेपाली संघको आगामी कार्यकालको अध्यक्ष पद्मा राजेन्द्र कुमार शर्मा आरकले बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । उनले कर्मभूमी कतारबाट ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दैअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर प्रतिवद्धतापत्र पनि सार्वजनिक गरे ।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने उनले दाबी गरे । आफुले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे ।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनले जिकिर गरे ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेका छन् । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।
नेपालको बाग्लुङ जिल्लामा वि।सं। २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए । कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकाउन्टेन्टको रुपमा जागिर सुरु गरे । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।
