• ट्रेण्डिङ्ग :
युक्रेनको कब्जामा छोरा, आँशुको आहालमा आमा

युक्रेनको कब्जामा छोरा, आँशुको आहालमा आमा


  • 10.6K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 16.3K Views

    युक्रेनको कब्जामा छोरा, आँशुको आहालमा आमा

    अञ्जना चौधरी, दाङ २६ मंसिर/ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीकी तिलकुमारी पुनका आँखा ओभाएका छैनन् । न भोक छ, नत रातमा निद्रा नै  । मंसिर २४ गतेदेखि उनको छटपटी अझै बढेको छ । एक वर्ष पहिले श्रीमान गुमाएकी तिलकुमारीको एक मात्र छोरा युक्रेनको कब्जामा परेको खबर पाएपछि तिलकुमारीको मन कुनै पल शान्त छैन ।

    images

    तिलकुमारीका तीन छोरीहरु सम्झाउन खोजिरहन्छन् । तर छोरालाई सम्झेर घरीघरी टोलाउने र रुने गर्छिन् । घरभरी आफन्त तथा छरछिमेकीहरु उनलाई सान्त्वना दिन आइरहेका छन् तर उनी भने छोराको फोनको प्रतिक्षामा छिन् । ‘छोरा अनलाइनमा आयो की, फोन गर !’ भन्दै छोरीहरुलाई आग्रह गरिरहन्छिन् । छोरा प्रतीक गत मंसिर १६ गतेदेखि परिवारको सम्पर्कमा आएका छैनन् । लेबर काम गरेर छोराछोरी पाल्दै आएकी तिलकुमारी छोरा विदेश गएपछि भने घरमै थिइन् । आफ्ना पुराना दिन फेरिएलान् भन्ने लागेको थियो ।

    तिलकुमारीको एक छोरा र तीन छोरी छन् । जेठी र माइली छोरीको बिहे भइसकेको छ । कान्छी छोरी कक्षा ९ मा पढ्छिन् । तिलकुमारीको परिवार रोल्पादेखि बसाई सरेर २०७२ सालमा दाङको बिजौरीमा बस्दै आएको छ । उनका श्रीमान रोजगारीको सिलसिलामा मलेसिया जाउआउ गर्थे । कमाई राम्रै छ भनी उनले परिवारलाई घर बनाउन लगाएका थिए । त्यसको केही दिनमा उनको एपेण्डीसाइड भएर मलेसियामै अप्रेशन भयो । अप्रेशन गरेर तीन वर्ष उतै कमाएर घर आए । तर घर आएको तीन महिनापछि प्रतिकका बुवा फेरी विरामी भए । चेकजाँचको क्रममा उनको दुईवटै मृगौला फेल भएको डाक्टरले बताए ।

    उनलाई दाङ, काठमाडौं गरेर तीन वर्षसम्म उपचार गराउँदा करिब ९ लाख ऋण लाग्यो । तर पुन परिवारले जतिनै कोशिस गरे पनि २०७९ असार १ गते घरको मुलीलाई गुमायो । घरको मुली गुमेपछि आमा बहिनी र परिवारको जिम्मा प्रतीकको काँधमा आएको थियो । घर बनाउँदाको ऋण, बुवालाई उपचार गर्दा पनि ऋणनै थपिएपछि प्रतीक परिवारको सल्लाहामा पोर्चुगल जाने मनसाय बनाएका थिए । तर ८, ९ महिनासम्म भिसा नआएपछि उनी रुसमा राम्रो कमाई हुने भनी गत असार ७ गते अरु १० लाख ऋणको जोहो गरेर विद्यार्थी भिसामा युद्धग्रस्त क्षेत्र रुस प्रस्थान गरेका थिए । तर प्रतीकको सपना भने रुसबाट फोर्चुगल जाने नै थियो ।

    परिवार र मावलीले प्रतीकलाई रुस जान नदिन प्रयास गरे पनि उनी नमानेर गएका थिए । विद्यार्थी भिसामा रुस गएका उनी पहिले होटलमा काम गर्छु भनी परिवारलाई बताएका थिए । तीन महिना होटलमा काम गरेपछि उनी परिवारलाई जानकारी नदिएरै रुसी सेनामा भर्ती भएको प्रतीककी दिदी समिक्षा पुनले बताइन् । सेनामा भर्ती भएका थाहा पाएपछि उनलाई परिवारले घर फिर्ता बोलाए । तर प्रतीक भने आफुहरु तालिममा रहेको र अहिले युद्धमा नपठाउने भन्दै परिवारलाई टार्दै आएका थिए । भर्ती भएको एक वर्षपछि २० लाख रुपैयाँ आउने परिवारलाई बताएका थिए । त्यही २० लाखको लोभमा भाई प्रतिक रुसी सेनामा भर्ती भएको उनकी दिदी समिक्षाले बताईन् ।

    मंसिर १६ गते बहिनीलाई राती १२ बजे अनलाइन आउन नसक्ने कान्छी बहिनी बिपना पुनलाई म्यासेज गरेका उनी त्यसपछि सम्पर्कमा आएका थिएनन् । त्यसको एक हप्तापछि मात्रै सामाजिक सञ्जालमा आएको प्रतीकको भिडियो आफन्तले परिवारलाई पठाएपछि उनको परिवार अशान्त बनेको छ । कमाएर ऋण तिर्छु भन्ने एक मात्र सहारा युक्रेनको बन्धकमा परेपछि उनको परिवारमा सन्नाटा छाएको छ । ‘छोरा बन्धकमा छ, यता घरमा साहुँ आइरहन्छन् मैले के गरी ऋण तिरौँ ?’ उनकी आमा तिलकुमारीले भनिन् । पुनकाअनुसार ३० लाख बढी ऋण छ । ‘बरु म लेबर गरेर मेरो छोरालाई पाल्छु, मेरो छोरालाई सकुशल फिर्ता ल्याइदिन पहल गर्नु्’ तिलकुमारीले भक्कानिदै भनिन् । ‘बुवा उमेरमै छोडेर गएपछि भाइले आमालाई सहारा दिन्छ भन्ने आशा थियो, अहिले त्यही भाइ मरेको बाँचेको थाहा नहुँदा एकदमै गाह्रो भएको छ,’ उनकी दिदी समिक्षाले भनिन्, सबैको सहयोगमा भाईको अवस्था कस्तो थाहा पाउन पाए हुन्थ्यो । प्रतीक कुन कन्सल्टेन्सीबाट रुस गएको भन्ने पनि परिवारलाई जानकारी नहुँदा परिवार अझ समस्या भएको छ ।

     


    तेस्रो आँखा