काठमाडौं, २१ पुस । अमेरिकामा व्यवसायिक पत्रकारिता गर्दै आइरहेका पत्रकार किशोर पन्थीलाई अमेरिकाको सिका युनिभर्सिटीले मानार्थ विद्यावारिधि उपाधिमार्फत् सम्मानित गरेको छ। सिका युनिभर्सिटीले उनलाई समाजिक काममा योगदान गरे वापत ‘ह्युमेन लेटर्स’मा मानार्थ विद्यावारिधि गरेको उपाधि प्रदान गरेको हो।
अमेरिकामा सकृय व्यवसायिक पत्रकार पन्थी नेपालमा पिठ्युमा एन्टेना बोकेर रेडियो बजाउने पत्रकारका रुपमा चर्चित छन्। सामुदायिक पत्रकारिताका साथमा ‘अध्यागमन जानकरी’ ले प्रवासमा लोकप्रिय पन्थी यो पदवी पाउने पहिलो नेपाली पत्रकार हुन्।
नेपाली मुलका अमेरिकन सांसद ह्यारी भण्डारीले शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘उहाँले अमेरिकामा नेपाली भाषामै, नेपालीका लागि पूर्णकालिन पत्रकार भएर गर्नुभएको सामुदायिक पत्रकारिताको मान हो, सम्मान हो । म उहाँको यस शिखर उपलव्धीलाई नमन गर्दै हार्दिक वधाइ ज्ञापन गर्दछु। र, उहाँको यस उपलव्धीलाई अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिताको एक मानक उपलव्धीका रूपमा अपनत्व ग्रहण गर्न अनुरोध गर्दछु ।’
मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन्। आगामी जनवरी २० मा भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन्।
पत्रकार पन्थी न्युयोर्कबाट ११ बर्षदेखि प्रकाशित हुदै आएको खसोखासका प्रधानसम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सकृय रहदै आएका छन्। अमेरिकामा एकदशकभन्दा लामो समय पूर्णकालिन पत्रकारितामा सकृय पत्रकार पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन्।
