नुमेश घर्तीमगर
साइप्रस, ५ माघ । लिमासोल शहरमा आफैले काम गर्ने घरको कोठामा बुधवार दिउँसो साढे २ बजेतिर युनिशा तामाङ नाम गरेकी युवतीलाई रोजगारदाताले मृत फेला पारेका छन् । मेलम्ची– ७ सिन्धुपाल्चोक जिल्ला घर भएकी मृतक २७ वर्षीया तामाङ विगत दुई वर्षदेखि साइप्रसमा श्रमिकको रूपमा रहेको नेपाली दूतावास कार्यालय निकोसियाले पुष्टि गरेको छ ।

आफन्तका अनुसार मृतक तामाङको आगामी महिना बिदामा नेपाल जाने योजना रहेको थियो । उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि लिमासोल जेनरल अस्पतालमा राखिएको छ । मृत्युको कारण नखुलेको तर शङ्का आत्महत्याको छ । यस घटनाका लागि प्रहरीले छानबिन गरिरहेको नेपाली दूतावासका प्रबन्धक डा. राम जीवन पंजियारले जानकारी दिए ।
त्यसैगरी डेढ महिना पहिले आत्महत्या गरेकी पवित्रा घर्तीमगरको शव फ्लाइट कतार एर्वेजदेखि बुधवार नै नेपाल पठाइएको नेपाली दूतावास निकोसिया कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालदेखि मेनपावरले प्रलोभन देखाई साइप्रस पठाउने गरेको घटना बेलाबखत बाहिर आउने गरेको छ । मेनपावरले भनेजति तलब नपाउने, भनेजस्तो काम नहुने, निर्धारित सयमभन्दा बेसी खट्नुपर्ने भएकाले नेपाली कामदार ठगिएको गुनासो गर्छन् । साइप्रस सरकारको नियमविपरीत सबै क्षेत्रमा श्रम गराउने पाइएको छ । महिलाहरू प्रायः घरेलु कामका लागि ४/५ लाख तिरेर ४/५ सय युरो तलबमा आएका हुन्छन् । कुनै रोजगारदाताले त्यो पनि दिँदैनन् ।

नयाँ भएको हुँदा कहाँ गर्ने थाहा पनि हुँदैन । या नेपाल फिर्ता जानुपर्ने हो कि भन्ने त्रासले यातना सहेरै काम गर्ने अवस्था आउँछ । साइप्रसको एजेन्टले खासै ख्याल गर्दैन । नेपालको मेनपावरले जवाफै दिँदैन । ऋण गरेर ठूलो सपना बोकेर युरोप छिरिसकेपछि यहाँको स्थिति बुझ्दै जाँदा मानसिक तनाव बढ्न थाल्छ । घरमा लाख पैसा माग्न लाग्छन् । यहाँ भनेजस्तो तलब पाइँदैन। घरेलु कामदार युवतीहरूलाई स्थानीय भाषा आउँदैन । बूढाबूढी रोजगारदाता अङ्ग्रेजी जान्दैनन् । हुनसक्छ यिनै एक कारणले युनिशा तामाङले आत्महत्याको बाटो रोजिन् कि भन्ने शङ्का उब्जिएको छ †
