• ट्रेण्डिङ्ग :
लाखौं खर्चेर युरोप गएका युवायुवती कुलतमा फस्दै

लाखौं खर्चेर युरोप गएका युवायुवती कुलतमा फस्दै


  • 21.7K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 33.4K Views

    लाखौं खर्चेर युरोप गएका युवायुवती कुलतमा फस्दै

    दीपक भण्डारी 

    images

    लिस्बोन (पोर्चुगल), ८ माघ । “शुरुमा खेतीमा काम गर्न लागियो । खेतीमा अफसिजन लाग्यो । कम्पनीले सबै मान्छे निकालिदियो । अरु कतै कामको सम्भावना देखिएन । शहरमा काम पाउने आशामा लिस्बोन आइयो । पैसा हुँदासम्म होस्टेलमा बसियो । पैसा पनि सकियो अनि सडकमा आइयो”, रुकुम घर बताउने एक युवा बताउँछन् ।

    “घरबाट लाखौ ऋण खोजेर युरोप (पोर्चुगल) आइयो । घरमा साहुको ब्याजले तनाव भयो । उता बैंकको ब्याजले घरबारी लिलाम गर्ने अवस्था आयो । काम पाउँदैन । अहिले त घरमा पनि सम्पर्क हुँदैन”, बागलुङका एक युवाको भनाइ यस्तो छ । बाध्यताले सडकमा आउनु पर्यो । सडकमा बाँच्नको लागि पनि संगत त्यस्तै साथीहरुको भयो । अहिले त नभइ नहुने भयो । घरपरिवार सम्झिँदा मुटु भक्कानिएर आउँछ तर विकल्प केही छैन । मन भुलाउनका लागि पनि लागु औषधको सेवन गर्न बाध्य भइयो । उनीहरुको भनाइ छ ।

    आफ्नो घर रुकुम बताउने प्रकाश (नाम परिवर्तन)ले आफू पैसा कमाउने र उच्च शिक्षा प्राप्त गर्नको लागि युक्रेन गएको बताए । त्यहाँको बसाई उनको राम्रै थियो । त्यहीं नै उनी एक युवतीसँग मायाजाल फसे । शुरुशुरुमा त उनीहरु दुईबीच राम्रो सम्बन्ध बन्यो । यसै समयमा युक्रेन र रसियाबीच युद्ध शुरु भयो । त्यसपछि उनीहरु दुबैजना फ्रान्स पुगे । त्यहाँ कार्ड ढिलो बन्छ भन्ने निस्कर्ष निकाल्दै पोर्चुगल छिरे । त्यहाँसम्म पनि उनीहरुको सम्बन्ध राम्रै थियो । जब पछि पोर्चुगलमा प्रेमिकाले धोका दिइन्, त्यसपछि प्रकाशले लागू औषध प्रयोग गर्न शुरु गरे । र, लागूऔषधको यो लतमा फसे ।

    Portugal1.jpg

    युरोपमा नेपालको कहालीलाग्दो तस्वीर । कुलतमा फसेका युवायुवतीहरु यसरी पालमुनि बस्न वाध्य छन् । तस्वीर: दीपक भण्डारी/ तेस्रो आँखा

    यी त एक प्रतिनिधि पात्र मात्र हुन् तर सबैजसो व्यक्तिहरुको समस्या केलाउने हो भने यस्तै केही न केही कथा लुकेकै पाइन्छ । केही न केही व्यथा लुकेकै पाइन्छ । 

    विशेषगरी छोराछोरी युरोप पठाएका छौं, अब सबै राम्रो हुन्छ भनेर नेपालमा रहने बुवा आमाहरुले ढुक्क नहुन एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष तिलक गैरेको आग्रह छ । “मेरो कार्यकालमा केहीलाई परिवारको आग्रहमा ट्राभल्स डकुमेन्ट बनाएर नेपाल पनि पठाएका छौं । केहीलाई यतै पुनस्र्थापना पनि गरेका छौं”, पूर्वअध्यक्ष गैरेको भनाइ छ । यस्तो कुलतमा आफ्ना सन्ततिहरु नफसून् भनेर परिवार नै सजग हुनुपर्ने उनको सुझाव छ । उनले जनचेतनाको खाचो रहेको पनि औंल्याए ।

    हाल पोर्चुगलमा हुने चोरी लगायतका विकृतिका घटनामा पनि सबैभन्दा धेरै नेपालीहरुको सङ्लग्नता धेरै देखिएको कन्सुलर कार्यालयले जनाएको छ । “हामी यस्ता समस्या भएका मान्छेहरुलाई परिवारक आग्रहअनुसार नेपाल पनि पठाउँछौं । कतिलाई यतै पनि पुनस्र्थापना गरेका छौं”, कन्सुलर अफिसको भनाइ छ ।

    अहिले यूरोपमा वर्षातकोे समय हो । तर, ती युवायुवतीहरु खाली ठाउँमा टेन्ट लगाएर रात बिताउने गर्छन् । कोही खाली घरमा गएर बस्ने गर्दछन् । “एकजना बहिनीको किड्नी फेल भएको छ”, गैर आवासीय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले भनिन्, “एकजनालाई एचआइभी एड्स लागेको छ भनेर स्वास्थ्यकर्मीहरुले बताएका छन् ।” काफ्ले लामो समयदेखि यस्तै नेपालीहरुको संरक्षण र उद्धारमा खटिँदै आएकी छन् ।

    “हामी यो कुलतबाट बाहिर निस्कन चाहन्छौं तर कसैको साथ सहयोग छैन । जहिले निराशामा मात्र बाँच्नुपर्ने भएपछि लागुऔषधको लतमा फसेका हौं”, यस्तो स्वीकार गर्ने धेरै युवाहरु अहिले संरक्षणको आशामा बाँचिरहेका छन् । 

    नेपालमा राम्रै परिवारका छोराछोरीहरु लाखौं खर्चेर युरोपको सुन्दर भविष्य देखेर त्यसबाट लालायित हुन्छन् । यहाँ भनेजस्तो छैन । काम पाउँदैन । “बेरोजगारी नै यहाँको मुख्य समस्या हो”, गैर आवासीय नेपाली संघ पोर्चुगलका सदस्य चक्र गुरुङको ठम्याई छ । 

    खासगरी नेपालका काठमाडौं, नुवाकोट, दाङ, म्याग्दी, बाग्लुङ, रुकुम, चितवन लगायतका युवाहरु धेरैजसो कुलतमा फसेको पाइन्छ । तर पोर्चुगलमा बनेका विभिन्न जिल्लाका सेवा समाजहरुलाई यो विषय कानमा तेल हालेजस्तो छ । यो समस्याले विकराल रुप लिँदै जाने हो भने सबैका लागि निकै पेचिलो बन्ने निश्चितप्रायः छ ।

    विशेषगरी पोर्चुृगलको राजधानी लिस्बोनका विभिन्न क्षेत्रमा यस्ता समस्यामा रहेका नेपालीहरु भेटिन्छन् । लिस्बोनको ओदिविलास, अलकन्त्रा, कायसुद्रे, ओरन्ते, एवेनिदा लगायतका ठाउँमा यस्ता लागूऔषध प्रयोगकर्ता नेपालीहरु भेटिन्छन् । सबैभन्दा धेरै लिस्बोनको मुटु मानिने मार्टिमुनिज भन्ने ठाउँमा भेटिन्छन् ।

    “यतिसम्म कि केही युवाहरु पासपोर्ट धितो राखेर पैसा माग्छन् अनि लागु औषध किन्छन्”, उपाध्यक्ष काफ्लेको भनाइ छ । उनका अनुसार सबै जिल्लाका सेवा समाजले मात्र आआफ्नो जिल्लाको मान्छेहरुलाई जिम्मा लिन सके यो समस्या शून्यमा झार्न सकिन्छ । “तर न त लिस्वोनमा अभिभावकीय भूमिकामा रहेको कन्सुलर अफिसलाई वास्ता छ न त नेपालीहरुको साझा संस्था एनआएएनमा नेतृत्व गर्ने नेताहरुलाई नै मतलब छ”, एक नेपालीको भनाइ छ । 

    खासगरी परिवारदेखि एक्लिएको महसुस गर्ने यी युवायुवतीहरुलाई मायाको खाँचो छ । यस्ता समस्याहरुलाई अब स्थापना हुन लागेको नेपाली राजदूतावासले समाधानको पहल गर्नेछ भन्ने अपेक्षा नेपालीहरुको रहेको छ ।

  • सम्बन्धित विषय:

  • # युरोप गएका युवायुवती

  • तेस्रो आँखा