सूर्य घर्तीमगर
मलेसिया, १० माघ । रोल्पाली सेवा समाजको शाखा मलेसियाले आगामी फेब्रुअरी १० तारिख २०२४ मा तेस्रो अधिवेशन गर्न थालेको छ ।
रोल्पाली सेवा समाज मलेसिया विगत ७ वर्षदेखि मलेसियामा क्रियाशील रहँदै आएको छ । सन् २०१६ मा स्वर्गीय मोहनलाल घर्तीमगरको संयोजकत्वमा गठित रोल्पाली सेवा समाजले सन् २०१८ सेप्टेम्बरमा आफ्नो प्रथम अधिवेशन गरेको थियो । प्रथम अधिवेशनले राजकुमार बुढा मगर (सुगम)को अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको थियो ।
धेरै सामाजिक कार्यहरु गर्दै आएको रोल्पाली सेवा समाज मलेसियाले कोरोना भाइरस कोभिड १९ को बावजुद भर्चुअल प्रविधिको माध्यमबाट सन् २०२१ अक्टोबरमा संगठनको दोस्रो अधिवेशन गरेको थियो । दोस्रो अधिवेशनले तेजकुमार बुढामगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरी आफ्नो कार्ययोजनाअनुरुप मलेसियामा भैपरी आएको आम समस्या र समाज सेवाको काममा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
संगठनको विधानअनुसार ३ वर्षको कार्यकालभित्रै अधिवेशन गर्नुपर्ने भएको हुँदा मलेसियामा आउँदै गरेको चाइनिज नयाँ वर्षको विदाको अवसरमा आफ्नो संगठनको तेस्रो अधिवेशन सम्पन्न गर्न लागेको वर्तमान अध्यक्ष एवम् अधिवेशन संयोजक तेजकुमार बुढामगरले जानकारी दिए । उक्त अधिवेशनलाई सफल पार्न मलेसियामा क्रियाशील व्यवसायी, कुटनीतिक नियोग, संघसंस्था, सञ्चारकर्मीलगायत मलेसियामा कार्यरत नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि आव्हान गरिएको जानकारी संयोजक बुढामगरले दिए ।
