• ट्रेण्डिङ्ग :
कतारका अमिरको नेपाल भ्रमण निश्चित, महत्त्वपूर्ण समझदारी के‍-के होलान

कतारका अमिरको नेपाल भ्रमण निश्चित, महत्त्वपूर्ण समझदारी के‍-के होलान


  • 5.3K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.1K Views

    कतारका अमिरको नेपाल भ्रमण निश्चित, महत्त्वपूर्ण समझदारी के‍-के होलान

    आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने र त्यस क्रममा दुई देशबीच "ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने" नेपाली अधिकारीहरूले बताएका छन्।

    images

    नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारका सरकार तथा राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ।

    पछिल्ला वर्षहरूमा नेपालका दुईजना राष्ट्र प्रमुखहरूले भने कतारको भ्रमण गरिसकेको परराष्ट्र मन्त्रालयले राखेको विवरणमा देखिन्छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच "श्रम मामिलासम्बन्धी" केही समझदारी तथा सम्झौता गर्न लागिएको छ।

    त्यसका लागि कतिपय समझदारी तथा सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने काम जारी छ।

    बीबीसीले कुराकानी गरेका नेपाली श्रम तथा कूटनीतिक अधिकारीहरूले दिएको जानकारीअनुसार उक्त भ्रमणका क्रममा नेपाल र कतारबीच विकास साझेदारीसम्बन्धी समझदारीसमेत हुने छन्।

    कस्ता समझदारी हुँदै छन ?

    k2.jpg

    समझदारीसँगै कतारले नेपालमा दाताको रूपमा विभिन्न विकास/निर्माण क्षेत्रमा लगानी गर्ने बाटो खुल्ने अधिकारीहरू बताउँछन्।

    विकास साझेदारीसम्बन्धी कम्तीमा आठवटा समझदारीबारे छलफल भएर मस्यौदाहरू आदानप्रदान भइसकेको र केहीलाई अन्तिम रूप दिइसकेको उनीहरूको भनाइ छ।

    विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा कतारको विकास सहायतालाई स्वीकार्ने निर्णय भइसकेको अधिकारीहरू बताउँछन्।

    कतारको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी निकाय 'कतार फन्ड फर डेभलपमेन्ट' (क्यूएफएफडी)मार्फत् नेपालले त्यस्तो सहायता पाउनेछ।

    हालसम्म औपचारिक रूपमा कतारबाट त्यस्तो सहायता नआएको बताइन्छ।

    अमिरको भ्रमणका क्रममा भने त्यसबारे समझदारीपत्रमा हस्ताक्षर हुने अधिकारीहरूको भनाइ छ।

    श्रमसम्बन्धी सम्झौता

    k3.jpg
    फाइल तस्बिर

    श्रममन्त्री भण्डारीले बीबीसीसँग कुराकानी गर्दै सन् २००५ मा नेपाल र कतारबीच भएको तर खासै कार्यान्वयनमा नआएको श्रम सम्झौताको नयाँ मस्यौदा तयार पारिएको बताएका छन्।

    उनले उक्त सम्झौतासम्बन्धी समझदारीपत्रमा अमिरको भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गर्ने योजना बनाइएको बताए।

    भण्डारीले भने, "मस्यौदा हामीले कतारलाई पठाएका छौँ। मार्च तेस्रो सातादेखि एप्रिल पहिलो सातासम्ममा कतारका अमिरको भ्रणम हुनेछ र त्यसमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।"

    उनले दुई देशबीच त्यस बेला "बहुआयामिक" क्षेत्रमा सम्झौताहरू हुने बताए।

    भण्डारीले भने, "सञ्चारदेखि वन क्षेत्र र जलवायु परिवर्तनदेखि लगानी र श्रमसम्मका कुरा हुन्छन्। बहु-समझदारी हुन्छन् र ती मन्त्रालय अनुसार फरक फरक छन्।"

    उनले सम्बन्धित मन्त्रालयहरूले समझदारीपत्रहरू वा सम्झौतापत्रहरूको मस्यौदामा काम गरिरहेको जानकारी पनि दिए।

    कतार प्रहरीमा भर्ती र घरेलु कामदारबारे के हुन्छ ? 

    k4.jpg
    कतार प्रहरीमा नेपालीलाई भर्ना लिने बारे पनि छलफल हुने श्रममन्त्रीले बताएका छन्

    मन्त्री भण्डारीले दिएको जानकारी अनुसार कतार प्रहरीमा नेपालीहरूलाई लिनेबारे पनि समझदारी हुनसक्छ।

    यद्यपि त्यसबार थप गृहकार्य गर्न बाँकी छ।

    कतारले केही वर्षअघि नै नेपालबाट आफ्नो प्रहरीमा भर्नाका लागि सरकार-सरकारबीच सम्झौता अन्तर्गत नेपाली नागरिक लाने प्रस्ताव गरेको थियो।

    तर त्यस बेला नेपाल सरकारले समयमै निर्णय नगर्दा म्यानपावर कम्पनीमार्फत् कतिपय नेपालीहरू कतार प्रहरीमा गइरहेको विवरण आइरहेका छन्।

    त्यसलाई औपचारिक माध्यमबाट लैजाने व्यवस्था मिलाउनेबारे पनि छलफल हुने अधिकारीहरू बताउँछन्।

    त्यस्तै कतारमा श्रम शोषणसहित अन्य खाले शोषण नहुने प्रत्याभूतिका साथमा नेपाली महिला कामदारहरूलाई पनि घरेलु कामदारका रूपमा पठाउनेसम्बन्धी एउटा प्रोटोकलबारे पनि छलफल जारी रहेको मन्त्री भण्डारीले बताए।

    "प्रोटोकल तयार छ यदि उहाँहरू तयार हुनुभयो भने त्यसबारे पनि समझदारी बन्छ," उनले भने।

    केही वर्षअघि एउटा संसदीय समितिले दिएको निर्देशन अन्तर्गत अधिकांश खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान नेपालले प्रतिबन्ध लगाएको छ।

    तर औपचारिक माध्यम बन्द भएपछि भारतलगायत अन्य देशहुँदै नेपाली महिलाहरू घरेलु कामदारका रूपमा खाडी जाने प्रयास गर्दा उनीहरू अप्ठेरोमा परेका खबरहरू आउने गरेका छन्।

    उनले त्यस्ता शोषणको अन्त्य हुने प्रत्याभूतिसहित सहमति जुट्ने आशा व्यक्त गरे।

    अन्य कस्ता समझदारी हुँदै छन ?

    बीबीसीले कुराकानी गरेका कूटनीतिक अधिकारीहरूले बताए अनुसार नेपाल र कतारबीच उक्त भ्रमणका क्रममा नेपाली कूटनीतिक कर्मचारीहरूलाई प्रशिक्षण दिनेसम्बन्धी एउटा समझदारीमा पनि हस्ताक्षर हुनेछ।

    त्यस्तै शिक्षा क्षेत्रमा सहायता गर्नेसम्बन्धी र सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी समझदारीहरू पनि गर्ने तयारी छ।

    नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको त्यस्तै निकायबीच पनि सहकार्य गर्ने समझदारी हुने बताइएको छ।

    युवा र खेलकुद एवं संस्कृति र कलाबारे पनि छुट्टै समझदारीहरू हुनेछन्।

    k5.jpg
    फाइल तस्बिर

    नेपालको उपहार हात्तीका दुईवटा छावा

    कतारी अमिरको भ्रमणका क्रममा नेपालले कतारलाई दुई वटा हात्तीका छावा दिने भएको अधिकारीहरूले जनाएका छन्।

    केही वर्षअघि नेपालले कतारलाई नेपालमा पाइने एक प्रकारको बाज उपहार दिने प्रस्ताव गरेको थियो।

    त्यस बेला कतारी राजदरबारले त्यसलाई स्वीकार गरे पनि नेपालमै मन्त्रालयहरूबीच समन्वय नहुँदा उक्त योजना असफल भएको अधिकारीहरू बताउँछन्।

    यसपालि भने नेपालले कतारी चिडियाखानाका लागि दुईवटा छावा उपहार दिन लागेको बुझिएको छ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले भने, "हामीले चितवनको प्रजनन केन्द्रबाट दुईवटा हात्तीका छावा दिने तयारी गरेका छौँ। ती हात्ती जङ्गली होइनन्।"

    "यसबारे हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौँ। सायद वन्यजन्तु आदानप्रदानबारे पनि एउटा समझदारी हुन्छ होला।"

    विज्ञ के भन्छन ?

    कतारका अमिरको नेपाल भ्रमणले दुई देशबीचको निकटता बढाउने कतिपय विज्ञहरूको बुझाइ छ।

    त्यस्तैमध्येका एक कतारका लागि नेपाली पूर्व राजदूत नारद भारद्वाज भन्छन्, "कतार र नेपालबीच श्रम कूटनीतिका कारण एकदमै निकट सम्बन्ध भएको छ त्यसलाई यसले थप उचाइमा लैजान मद्दत गर्छ।"

    यद्यपि उनी कतारीहरूको प्राथमिकता लगानीमा केन्द्रित रहेको आफूले बुझेको बताए।

    "उनीहरू विकास सहायतामा भन्दा पनि बढी लगानीमा केन्द्रित भएको देखिन्छ। तर नेपालको अस्थिर नीतिका कारण हामीले लगानी गर्न सकेनौँ भन्ने उनीहरूको गुनासो छ।"

    नेपालको जलविद्युत्‌मा कतारी चासो भए पनि यहाँ लगानी गरेको बिजुली निर्यातका लागि भरपर्दो मापदण्ड नभएसम्म त्यो सम्भव नहुने भारद्वाजको भनाइ छ।बीबीसी


    तेस्रो आँखा