• ट्रेण्डिङ्ग :
‘ए हजुर, के थियो होला ? यता आउनुस् न !’
यातायात व्यवस्था कार्यालयमा बिचौलियाकाे बिगबिगी

यातायात व्यवस्था कार्यालयमा बिचौलियाकाे बिगबिगी


  • 14.3K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 22.0K Views

    यातायात व्यवस्था कार्यालयमा बिचौलियाकाे बिगबिगी

    काठमाडाैं, १३ माघ । बिहीबार अपराह्न एक बजे, यातायात व्यवस्था कार्यालय ललितपुरमा पुग्दा कार्यालयको गेटैमा केही थान चुरोट, खैनी र मास्क बेच्न बसेका एक युवाले बोलाए। ‘के काम थियो हजुर, यता आउनुस न म सहयोग गर्छु ।’ उनको कुरा सुन्न एकैछिन समय खर्च गरौंन त भनेर छेउमा जादा उनले यातायात सेवा सम्बन्धी अनलाइन फारम भर्ने देखि फाँटका सबै काम गरिदिने सुनाए। उनी देखाउनका लागि सानो खुद्रे पसल राख्ने र यातायात व्यवस्था कार्यालयमा बिचौलीयाको काम गर्दारहेछन्। छेउमै केही महिला दिदीबहिनीहरु पनि ‘के काम थियो होला’ भन्दै सेवाग्राहीहरुलाई बोलाउदै सहयोग गरिदिने भनिरहेका थिए ।   

    images

    ती युवाका कुरा सुनिसकेपछि केही पर फलफूल व्यपार गर्दै गरेका अर्का व्यापारीकोमा फलफूल खाने योजनाका साथ पुग्दा ‘तपाइको काम सकिएन ?’ फलफूल व्यापारीले प्रश्न गरे । संयोग तेस्रो आँखाको टीमले बुधबार पनि यातायात व्यवस्था कार्यालय जाँदा उनैकोमा फलफूल खाएको थियो । त्यसैले उनले हिजो देखी आएका सेवाग्राही भन्ने पहिचान गरे । उनको प्रश्न पछि हामीले भन्यौ, ‘एक जना सेवाग्राहीलाई काम गर्न एक जना सहयोगि अनिवार्य चाहिने रैछ यहा त’ हाम्रो कुरा सकिन नपाउदै उनले थपे, अँ यहाँ त चाहिन्छ, मैले पनि कतिलाई सहयोग गरिदिने गरेको छु ।’        

    यी त केही प्रतिनिधि पात्र मात्र हुन्। यातायात व्यवस्था कार्यालय परिसरमा पुग्नेबितिकै सेवाग्राहीलाई बिचौलियाले तानातान गर्छन। कार्यालय परिसरमा फलफूल व्यापार गर्ने देखी मास्क बेच्ने, चुरोट, खैनी, चटपटे बेच्ने समेत यातायातसँग सम्बन्धित काम लिएर गएका सेवाग्राहीँग दलाली गर्छन। उनीहरुबाट सर्वसाधारण सेवाग्राहीहरु दिनदहाडै ठगिनेगरेका छन्।

    उपत्यका बाहिरबाट आएका सेवाग्राही धोरै सयम लिएर आउने र चाडै कामसकेर जाने योजनामा हुन्छन्। त्यही मौका छोपेर सेवा दिलाउन सहयोग गर्ने नाममा  बिचौलियाहरुले सेवाग्राहीबाट पैसा असुल्ने गरेको पाइएको छ। पुराना बिचौलियाहरुले पैसा लिएर काम सकेर पठाउँने गरेपनि नयाँ बिचौलियाहरु कार्यालय परिसरमा पसेर सेवाग्राहीसँग पैसा असुलेर भाग्ने गरेको सेवाग्राहीको गुनोसो छ। बिचौलियासमेत नयाँ र पुराना छुट्याउने गरिन्छ यहाँ, कर्मचारीहरुसँगको सेटिङमा पैसा लिएर नियमित काम गरिदिने पुराना बिचौलियाले नयाँ बिचौलियाहरुले ठगको रुपमा हेर्ने गरेको पाइएको छ। वर्षौ देखी काम गर्दै आएका बिचौलियाहरु आफूलाई सेवाग्राहीका असल सहयोगी भन्न रुचाउँछन भने भर्खरै काम सिक्दै गरेकाहरुलाई ठगको रुपमा प्रस्तुत गर्छन्।

    यसरी ठगिन्छन सेवाग्राही

    बुधबार तेस्रो आँखा अनलाइनको टीम यातायात व्यवस्था कार्यालय ललितपुरमा पुग्दा काभ्रे जिल्लाका एक सेवाग्राही ‘पैसा लिएर भाग्यो’ भन्दै कसैलाइ खोज्दै थिए। ट्रकको बिलबुक बनाउन यातायात व्यवस्था कार्यालय पुगेका उनी नयाँ बिचौलियाको फन्दामा परेका रहेछन्। उनले आफ्नो फाइलसहित पाँच हजार दिएको बताए। ‘विगत आठ वर्षदेखि यातायात क्षेत्रका समस्या सहजीकरणमा काम गर्दै आएको भनेपछि चाडै काम बन्छ भन्ने सोचेर पैसा दिएँ,’ उनले भने ‘चिनजान र सम्पर्क नम्बरसमेत नलिइ कागजातसहित पाँच हजार बुझाएका उनले यसरी भाग्छ भन्ने थाहै नसोचेको बताए। ती सेवाग्राही लाई कार्यालय परिषरभित्र फलफूल व्यापार गरेर बसेका व्यक्तिले ‘मान्छे नचिनी दिनुहुन्न नी’ भनेर सम्झाए। ठेलागाडामा फलफूल व्यपार गर्दै बसेका उनले सेवाग्राहीलाई भने, ‘मलाइ भन्नु भएको भए काम भैहाल्थ्यो।’ तव थाहा भयो उनि पनि यातायात व्यवस्था कार्यालयका पुरानै बिचौलिया रहेछन्।

     सेवाग्राही सास्तीमा  

    यातायात व्यवस्था कार्यालय ललितपुरमा सेवा लिन गएका सेवाग्राहीले सास्ती भोग्नु परेको छ। यातायात सम्बन्धी सानातिना काम लिएर जाँदा समेत सेवाग्राही आफैले ती कामहरु गर्न सक्दैनन्। कुनै न कुनै बिचौलिया नसमाइ काम गर्न नसकिने सेवाग्राहीहरुको गुनासो छ।

    सवारी साधनको कर बुझाउने देखि नविकरण गर्ने, लाइसेन्स सम्बन्धी कामहरु गर्नका लागि कर्मचारी सिधै कर्मचारी समक्ष  पुग्न नसकिने उनिहरुले भनाइ छ। विगत एक साता देखि लाइसेन्स भेरीफाइको काम लिएर निरन्तर यातायात व्यवस्था कार्यालय धाएका मोरङका सुनिल चौधरी अझै काम नसकिएको बताउँछन्।

    ‘गत बिहीबारदेखी लाइसेन्सको भेरीफाइका लागि आएको अझै काम भएको छैन,’ उनले गुनासो गरे । कोठा नम्बर १८ र १९ मा धाउदा-धाउदा एक हप्ता बितेको चौधरीले बताए। बुधबार र बिहीबार उक्त कोठा (ढड्डा हेर्ने फाँट) का कर्मचारी दिनभर जसो कार्यकक्षमा थिएनन्। यो कार्यालयको बाहिर झ्यालहरुमा बिचौलियादेखी सावधान लेखिएपनि कर्मचारीले समयमा नियमित काम नगरिदिदा सेवाग्राहीलाई अनिवार्य बिचौलिया पछ्याउनु पर्ने बाध्याता उस्तै छ। सेवाग्राहीबाट कर्मचारीलेसमेत अतिरिक्त रकम नलिइ काम गर्न निकै अप्ठ्यारो मान्ने गरेको गुनासो गरेका छन्।   

    मन्त्रीकाे छड्के अनुगमन

    तेस्राे आँखाले केही दिनदेखि फलाे गरिरहेकाे यातायात व्यवस्था कार्यलयमा आज बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिए ।

    मन्त्री दाहालले पुलिस लगाएर भए पनि बिचाैलीयालाई समाएर कारबाही गर्ने प्रतिवद्धता जनाए। ‘कार्यालयभित्र कहीँकतै कर्मचारीको सेटिङ भएको पाइएमा खोजी गरी कारबाही गछाैं,’ उनले भने ‘ कानुनी कारबाहीमा आएपछि बिचौलियाको बिगबिगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछन् ।’ 

    सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले कार्यालयमा छड्के अनुगमन गरेका हुन् । मन्त्रालयका सचिव अशोक शाहसहित काे टाेली छड्के अनुगमनका लागि कार्यालय पुगेको थियो।

     

     

     


    जीवन शर्मा
    लेखकबाट थप