काठमाडौं, १७ माघ। कोरोना कहरबाट विश्व आक्रान्त छ। कोरोना भाइरस नियन्त्रण होला भन्ने बेला यसका अनेकन रुप अर्थात नयाँ भेरिएन्ट देखा परिरहेको छ। यस्तो अवस्थामा कोरोनासँग ज्युने भन्दै न्यू नर्मल लाइफ जिउँने प्रयास पनि गरियो। तर अवस्था भने झनझन भयावह बनि नै रहयो। विदेशको यात्रा प्रतिबन्ध लगाइयो। कैयन नेपालीहरुलाई विमान चार्टड गरेर स्वेशमा फर्काईयो पनि। देश लकडाउनमा गए। घरभित्रै बस्न बाध्य भए। आफ्नैसँग दूरी बढ्न थाल्यो। लाखौं नेपाली विदेश मै अलपत्र परे। तर पनि नेपालीको विदेशीने यात्रा भने रोकिएन। कोरोना कहरकै समयमा पनि विदेश जानेको संख्या दोब्बरले बढेको छ।
विदेशनी पुरुषको संख्यासँगै महिलाको संख्या पनि ह्वातै बढेको छ। गत वर्षको तुलनामा यस वर्ष सात सय ८६ प्रतिशतले विदेश जाने महिलाको संख्या बढेको छ। जसमध्ये खाडी मुलुकमा जानेको संख्या धेरै छ। वैदेशीक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७८/२०७९ मा साउनदेखि पुससम्म तीन लाख १० हजार एक १५ नेपाली विदेशीएका छन जसमध्ये ३६ हजार दुई ४५ मात्र महिलाको संख्या रहेको छ।
त्यस्तै, ०७७ मा ३० हजार पाँच सय ६९ जना विदेशीएका छन् जसमध्ये महिलाको संख्या ४६ सय पाँच रहेको छ। तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष कोरोना कहरकाबीच विदेश जानेको संख्या दुई लाख ७९ हजार पाँच सय ४६ ले बढी छ। कोरोनाको समयमा आर्थिक अभाव बढेपछि पैसा कमाउनकै लागि विदेश जान बाध्य भएको जानकारहरु बताउँछन्। सामान्य समय जस्तो विदेश जान पनि सहज छैन तर पनि नेपालीहरु विदेश जान तम्तयार छन्।
नाम नबताउने सर्तमा एक जना सवारी चालक भन्छन् ‘नेपालमा कमाइ हुदैन परिवार पाल्न पनि हम्मे हम्मे पर्छ विदेश नगएर के गर्नु ? सबै छोडर प्रदेश जाने रहर होइन बाध्यता हो।’ २५ वर्षीय ती युवाले प्राइभेट संस्थाकाे गाडी चलाउँछन्। कतार जानका लागि तयारी अवस्थामा रहेका उनी कोरोनाकै कारण ढिला भएको बताउँछन्। उनका साथीहरु गएर काम सुरु गरिसकेको बताउँदै उनी भन्छन् ‘काम राम्रो छ, साथीहरूले गएर काम सुरू गरिसकेका छन् रे, कोरोनाले पनि खासै असर गरेको छैन रे।’
‘मासिक ३० हजार कमाइन्छ हुन्छ, रे’ उनले भने ‘क्वारेन्टीन बस्नुपर्छ भनेर गएन फेरी कोरोना सुरु भयो।’ यस्तो कोरोना कहरमा आफ्नै देशमा यस्तो गाह्रो छ। विदेशमा के सहज होला त ? भन्ने प्रश्नमा उनी भन्छन् ‘यहाँ बसेर के गर्नु दिनभरी काम गर्यो खान लाउनसम्म पुग्दैन, कोरोना त केही समयको लागि मात्रै त हो पछि हराइहाल्छ नि।’ उनले सिप पनि सिकेका छैनन्। उनी टायल काट्ने कामका लागि कतार जादैँछन्। त्यहाँ काम सिकेर आएर नेपालमा सोही प्रकारको व्यवसाय सुरु गर्ने उनको योजना छ। राम्रो काम पाइन्छ भन्ने आशमा उनी विदेश जाने दिन गन्दै बसेका छन्।
उनको सपना र वास्तविकता भने फरक छ। यति बेला विश्व कोरोना भाइरसको तेस्रो लहरको चपेटामा परेको छ । तर उनी जस्ता धेरै युवापुस्ता विदेश जाने दिन गन्दै बसेका छन्। विदेशमा जान पहिलो जस्तो सहज छैन विभिन्न देशहरुले बनाएको स्वास्थ्य प्रोटोकलसमेत पालना गर्नुपर्ने हुन्छ। यस्ता थुप्रै कठिनाइका बाबजुत पनि नेपालीहरु विदेश जान उत्साहित नै देखिन्छन्।
कोरोना महामारीमा विदेश जानेको संख्या किन बढ्यो भन्ने तेस्रो आँखाको प्रश्नमा वैदेशीक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले रोगले भन्दा भोकले पिल्सिएपछि बाध्यताले विदेशीने गरेको बताउँछन्।
पूनम डिसी
