• ट्रेण्डिङ्ग :
पुस्तक समीक्षा
स्वच्छ डोनाउको किनारमा डुबुल्की लगाउँदा

स्वच्छ डोनाउको किनारमा डुबुल्की लगाउँदा


  • 10.3K
    SHARES
    • माघ २२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    स्वच्छ डोनाउको किनारमा डुबुल्की लगाउँदा

    प्रस्तुत यात्रा संस्मरण स्वच्छ डोनाउको किनारतिरका लेखक मुक्तिनाथ उपाध्यायज्यूले युरोपीय केही प्राचीन कलाकृति, संस्कृति र  भाषा साहित्यको अत्यन्त नजिकबाट स्वयं उपस्थित भई जानकारी लिएर सामान्य भाषाशैलीमा ती देशहरुको बारेमा जान्नै पर्ने कुराहरुको अत्यन्त सहज र सरस रुपमा वर्णन गर्नु भएको छ । यसका साथै उहाँले विशेष प्रविधिहरु जसले देशलाई सफा स्वच्छ राखेर बिकसित गराएको छ त्यस्ता कुराहरु पनि प्रशस्तै वर्णन गरी दिएर त्याहाँको एक झल्को आँखैमा उतारीदिनु भएको छ ।

    images

    आफ्नो फुपूसासु शीला दिदीको छोरीको बिवाहको अवसरमा विश्व प्रसिद्ध अष्ट्रियाको राजधानी भिएना जानु भएको लेखकले त्यस ठाउँमा भएको स्वच्छ र सुन्दर डोनाउ जुन युरोपको दोस्रो दीर्घतम नदी डेन्युबको शाखा नदीहरु मध्ये एक हो त्यसको वरपरका ठाउँहरु भ्रमण गर्ने मौका पाउनुभएको र त्यस भ्रमणको बृतान्त नै यसमा भएकोले यस कृतिको नाम उहाँले स्वच्छ डोनाउको किनारतिर राख्नु भएको हो जस्तो मलाई लाग्दछ ।

    पुस्तकको नामले जीवन र प्रकृति बिचको सम्बन्ध अटूट छ भन्ने तथ्यलाई महत्वको साथ दर्शाएको छ । यस यात्रा संस्मरणमा युरोपका प्रसिद्ध देशहरु मध्ये अष्ट्रिया, इटाली, चेक रिपब्लिक र भेटिकन सिटीको परिचय, ती देशका सुन्दर शहरहरु र त्यहाँका महत्वपूर्ण कुराहरु जस्तै भाषा, संस्कृति, परीवेश, र जीवनशैलीको विस्तृत वर्णन छ । यो कृति भ्रमणको क्रममा आफूले देखेका, थाहा पाएका अनि स्वयंले अनुभव गरेका कुराहरुको सुन्दर र रुचिकर संगालो हो तर यसमा लेखकको बिभिन्न खाले भाव र विचार छचल्किएका छन् जसले यो कृतिलाई साहित्यिक जीवन्तता प्रदान गरेको छ ।

    लेखकले बढो इमान्दारी पूर्वक राम्रा नराम्रा सबै कुराहरुलाई पाठकहरु बीच पस्कनु भएको छ जुन डोनाउ झै स्वच्छ, सुन्दर र अकृतिम लाग्दछ भने बिचारहरु डोनाउको पानी झै स्वगतिमा वगेका देखिन्छन् । आफूले देखेको, भोगेको कुराहरुलाई अत्यन्त सरल, सशक्त र आकर्षक ढंगले जस्ताको तस्तै अक्षरमा उन्न सक्नु भएको कुरा पुस्तकले प्रष्ट्याएकै छ ।

    त्यसमा पनि नयाँ मुलुकमा गएर त्यहाँका बिभिन्न पक्षका बारे जानकारी हासिल गरेर समेटी दिनुभएकाले तत्तत् देश सम्बन्धि जानकारीमुलक पुस्तक बन्न गएको देखिन्छ । यसमा त्यहाँको इतिहास, राजनीति, दर्शन, कला, साहित्य, संगीत, भाषा, भूगोल र विभिन्न विधामा प्रसिद्धि कमाएका त्यहाँका ब्यक्तिहरुको नाम पनि समाविष्ट छन् ।

    अष्ट्रियाको स्वतन्त्रताको इतिहास, भौगोलिक भिन्नताहरु, डेन्युब नदी र यसका शाखा नदीहरुले प्रदान गरेको अपूर्व रमणीयता, भिएनाको (अष्ट्रियाको राजधानी) विश्वविद्यालय, ऐतिहासिक, कलात्मक र सांस्कृतिक भवनहरु, सल्जवर्गको (अष्ट्रियाको चौथो ठूलो शहर) प्राकृतिक मनोरम दृष्य, रोमको (इटालीको राजधानी) उत्पत्तिको चाखलाग्दो कथा, यसको सुन्दरता, प्रागको (चेक रिपब्लिकको राजधानी) प्राचिन संस्कृति र इतिहास, त्यहाँ पर्ने बाल्टोवा नदीको मनोरम दृष्य, विश्वको सबै भन्दा सानो देश भेटिकन सिटीको मोहक सुन्दरता, विशेष त्यहाँको जीवन्त चित्रकारिताको सजीव वर्णनले पुस्तकलाई ज्यादै रोचक बनाएको छ । तर यसै बीच रोमको कोलोेसियम रंगशालामा धेरैै पहिले पहिले हुने गरेको हिंसा र बर्बरताको ब्याख्याले कमलो मुटु हुनेहरुको त मुटु नै हल्लाउछ ।

    त्यसैगरी जसोतसो बिदेश छिरेका नेपलीहरुको संघर्षमय जीवन , दलालहरुले नेपालबाट बिदेश पठाइदिन्छु भनेर पैसा लिएर हुन सम्मको दुःख दिएर अलपत्र बनाएर बिदेशमा अन्यत्र छोडीदिएको यथार्थ भुक्तभोगीहरुकै मुखबाट थाहा पाएको कुराहरुको पनि सही जानकारी दिनुभएकोले लेखकको जातीय र राष्ट्रिय भावना मार्मिक ढंगमा व्यक्त भएका छन् जो स्तुत्य र सह्राहनीय छ । साथै तृष्णा उपन्यासका लेखक रविचन्द्र भट्टराई जसको उक्त उपन्यासको बिमोचनमा लेखक पनि शामिल हुनुहुन्थ्यो उहाँले पनि बिदेश जाने क्रममा नेपालीहरुले खेप्नु परेको सास्तीहरुलाई उपन्यासमा राम्ररी उल्लेख गर्नु भएको छ भन्ने जानकारी दिनु भएको छ ।

    यी बाहेक यस पुस्तकमा जीवनका उतारचढावहरु, भोगाइहरु, मनका तरंगहरु, नयाँ ठाँउ घुम्दाका रमाइला अनुभवहरु, कुनै कुरा पहिलो पल्ट देख्दाका अचम्भित क्षणहरु, परिस्थिति अनुसार उर्लदा मनका भावहरु अति नै प्राकृतिक रुपमा व्यक्त गरिएका छन् । युरोपमा देखिएका कतिपय कुराहरुलाई नेपालसँग दाँजेर तुलनात्मक फरक पनि देखाइएको छ ।

    बिभिन्न पात्रहरु जसको सेरोफेरोमा रहेर लेखकले युरोप भ्रमण गर्नुभएको छ ती सबैमा शीला दिदीको भूमिका सबै भन्दा महत्वपूर्ण छ । शीला दिदी एक कर्मठ महिला हुनुहुन्छ जसले आफ्नै अथक प्रयास र मिहिनेतले आफूलाई अघि बढाउदै लैजानुभयो र यस्तै प्रयासरत रहदा उहाँले आफूलाई अष्ट्रियामा स्थापित गर्न सक्नुभयो ।

    जीवनलाई राम्रो बनाउनको लागि मान्छेले अनेकौ प्रयासहरु गरिरहेकै हुन्छन्, सबैले आ–आफ्नै खाले संघर्ष गरिरहेकै हुन्छन्, यति गर्दागर्दै पनि कसलाई कुन सुख मिल्छ र मिल्दैन त्यसको ठेगान हुदैन । राम्रोको लागी पहिलो श्रीमान्संग सम्बन्ध बिच्छेद गरेर हेयरविग स्टेइनरसंग बैवाहिक सम्बन्धमा गाँसिनु भएको शीला दिदीको सम्बन्ध फेरी देस्रो श्रीमान्संग पनि धेरै दिन सम्म टिक्न सकेन । बिदेशको संस्कार र परिवेशमा भौतिक सुखसुबिधाको आनन्द पाइएता पनि त्यस अनुपातमा परस्पर भावनात्मक सम्बन्ध खासै बलियो हुदैन । त्यहाँ जीवनलाई चरम स्वतन्त्रता मिलेको हुन्छ तर कसैको मतलब कसैलाई हुदैन ।

    शीला दिदीको पहिलो श्रीमान् तिरको दुई छोराहरु र दाोस्रो श्रीमान् तिरको एक छोरी भएता पनि कोहि पनि उहाँसंग बस्दैनन्, उहाँ एक्लै बस्नु हुन्छ । त्यताको सभ्यता नै यस्तै छ । असीमित स्वतन्त्रता बीच हुर्किएका जवानहरुलाई सीमामा राख्ने कुनै पर्खाल हुदैन । लिभिड टुगेदरको सम्बन्धमा बसेकाहरुले कहिले सम्म एक अर्कोलाई साथ दिने हो भन्ने कुराको कुनै भरोसा हुदैन, त्यसो त बिहै गरेकाहरुको पनि हुदो रहेनछ । आफ्नै इच्छाको गर्नु बाहेक अरु कसैको भावनाको कदर हुदैन ।

    pustak.jpg

    मलाई लाग्दछ जीवनका लागि धेरै स्वतन्त्रता भन्दा माया, प्रेम, स्नेह र सहिष्णुताको खाँचो हुन्छ जसले मान्छेको जिउने तरिकालाई बदलिदिन सक्छ । त्यै पनि हामी बिदेशीकै देखासिखी गर्न खोज्छौ । देखासिखी यस्तो सभ्यताको होइन, त्याहाँको स्वच्छताको, विकासको, प्रबिधिको गर्नु उचित हुन्छ ।

    मान्छेका इच्छा आकांक्षा असीम हुन सक्छन् तर जीवनमा सबैसंग सबै थोक कहा हुनु ? शीला दिदीको अष्ट्रियामा सबै थोक राम्रै भएता पनि श्रीमान्संगको सुख भएन, शीला दिदीको जेठो छेरा भाष्करले त्याहाँको स्वतन्त्र जीवनको जति आनन्द लिएता पनि उसलाई साथ दिने जीवनसाथी उसले भेटेको छैन, लेखकको जेठी सासु रुनी र साडुदाई फ्रिदरिखले सुखको जीवन बिताइरहेता पनि पछि फ्रिदरिखको दृष्टिशक्ति साह्रै कमजोर भएर रुनीले श्रीमान्को लाठी भएर हिड्नु परेको छ ।

    यहाँ उल्लेखित ब्यक्तिहरु झै समाजमा हेर्दा यस्ता दृष्टान्तहरु भेटिन्छन् । लेखकलाई पनि आफ्नो श्रीमतीलाई संगै युरोप घुमाउन लैजान मन थियो तर जागीरले गर्दा भएन । उहाँले लेख्नु भएको छ अन्त्यमा एक्लै परे । दुःख किन पो मान्नु र ? आएको पनि एक्लै अनि जानु पनि एक्लै हो । त्यसैले जो संग जे छ त्यसैलाई आत्मसात र सामन्जस्य गर्दै बाँच्नु नै जीवन हो ।

    सबैसँग आत्मीयता राखेर मित्रबत् ब्यवहार गर्ने लेखक मुतिm उपाध्यायज्यू स्पष्टवक्ता पनि हुनुहुदो रहेछ, प्रशस्त वाइन र वियर खाएको स्पष्ट लेख्नु भएको छ । कुनै कुनै बेला उहाँ रोमान्टिक भावमा पनि बग्नु भएको छ । कहिले मुक्ति पनि युरोप गएको छ भन्ने ढ्याड्ग्रो ठटाउन फेसबुक छदैछ भन्नु हुन्छ भने कहिले रोमको एउटा अन्धविश्वासलाई आपूmले पनि कायम राख्दै रोमको त्यस फुहारामा जहाँ मुद्रा हुत्याउदा चिताएको कुरा पुग्छ भन्ने विश्वास रहेछ पैसा हुत्याउदै संसार घुम्न पाऊ भन्नुभएको कुरा नहिच्किचाइकन लेख्नु भएको छ ।

    अन्त्यमा सबै कुराका बारे जिज्ञाशा राख्ने लेखकको अथक प्रयास र लेखकीय खुबीले गर्दा नै यो यात्रा संस्मरण ज्ञानबर्धक र आनन्द दिने दुवै हुन पुगेको छ । उहाँको यो प्रयास र विशेष गरी लेखकीय कला प्रशंसनीय छ । उहाँको कलम अभैm माझिदै जाओस्, लेखनले उत्कर्ष चुमोस्, उहाँको बहुआयामिक ब्यक्तित्वमा लेखनले अझ बढी सुवास छरोस् र यस्को सुगन्ध देश विदेशमा पैmलियोस् भन्ने शुभकामनाका साथ सुमन । 
     

          

  • सम्बन्धित विषय:

  • # कला साहित्य

  • सुमन पाण्डे
    लेखकबाट थप