तुलसीपुर ३१ वैशाख/ तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट तयारी सन्ध्यामा तुलसीपुर क्षेत्रका पत्रकारहरुसंग छलफल गरेको छ । सोमबार तुलसीपुर भएको छलफलमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा तुलसीपुर क्षेत्रको समग्र विकास संगै शान्तिशुरक्षा, फोहोर व्यवस्थापन, सञ्चार क्षेत्रको विकासका बारेमा छलफल भएको हो । छलफलमा पत्रकाहरुले विगतमा तुलसीपुर क्षेत्रमा रहेका सञ्चार माध्यमहरुको विकासका लागि महानगरले गरेको प्रतिवद्धता कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिनु पर्ने बताएका थिए ।
साथै पालिकाबाट पाउँनुपर्ने लोक कल्याणकारी विज्ञापन स्थानीय स्तरका मिडियाले पाउँनु पर्ने उनीहरुले सझाव दिएका थिए । तुलसीपुरमा भई रहेका विकास निर्माणको कामको अवलोकनको लागि उपमहानगरपालिकाले पत्रकारहरुलाई लैजानु पर्ने उनीहरुको भनाई थियो । साथै पत्रकारहरुको क्षमता विकासको लागि तालिम मात्र दिनु भन्दा उनीहरुलाई फेलोसीप प्रदान गर्नुपर्ने बताएका थिए । साथै तुलसीपुर उपमहानगरपालिकामा हुने गरेका गतिविधिका बारेमा समाचार प्रकाशन तथा प्रशारण गर्नको लागि पत्रकारहरुलाई सहज रुपमा सूचना उपलब्ध गराउन माग गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, नेपाल पे्रस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, पत्रकार गोपाल शर्मा भट्टराई, ओपेन्द्र बस्नेत, खेमरमज रिजाल, बालाराम खड्का, एकराज भण्डारी, दिपक बोहरा, उमा भण्डारी, शुनिल पोख्रेल, निरला अर्याललगायतले सुझाव दिएका थिए ।
