आमाले सुनाएका परिकथाहरु
अन्तस्करणमा लुकिबसेको रहेछ आजसम्म,
मेरा हातमा पखेटा र प्वाँखहरु पल्लवित भएछन्,
निर्मल आकाशमा स्वच्छन्द पंक्षी झैँ
विचरण गर्न पुगेँछु म ।
धर्तीसँग जिस्किबस्ने सूर्य त्यहीँ थियो,
सुकुमारी बादलहरू
पानी बोकेर दौडँदै थिए ।
म भने
हराएको प्रेमी योग नरेन्द्र देवको खोजीमा थिएँ ।
उनको सम्झनासँगै
सुरम्य पाटन दरवार स्क्वायर आयो र
त्यसैभित्र लुकिबसेका
रहस्यमय देवताका लिलाहरु ठेलमठेल गर्दै आए ।
अचानक,
त्यतिबेलै नरेन्द्र मेरो छेउमा आए
र
मलाई फकाउँदै भने :
मेरी प्रियसी,
झूठो इतिहास नपढ,
त्यहाँ मलाई मारिसके,
म जिवितै छु र तिमीलाई आजसम्म पर्खिरहेछु
सयौं ऋतुहरु यसैगरी तिम्रो प्रतिक्षामा बिताएँ
नपत्याए सोध्नु यि हिटिहरुलाई...
नजिकै बसेर
अँगालोमा कस्दै उनले
तान्त्रिक ज्ञानको भण्डार खोले ।
शयनकक्षमा उनीसँगै पुगेकी म,
उनकै नाममा सती गएका
ती नारीहरुको क्रन्दन सुनेर
अनायासै बिथोलिएँ ।
रहस्यमय त्यो रात...
के म जिवितै छु र ?
के उनी पनि जिवितै छन् ?
शशी भट्टराई श्रेष्ठ
