प्रेम प्रकृतिको सुन्दर उपहार हो । प्रेम प्रकट गर्नलाई कुनै समय, काल, ऋतु आवश्यक पर्दैन।
जसरी प्रेम गर्न जात धर्म उमेरले छेक्दैन त्यसरी नै प्रेम गर्नलाई साइत पनि जुराइ राख्नु पर्दैन।
तर पछिल्लो समय नेपाली परिवेशमा ‘भ्यालेन्टाइन डे’ ले युवा पुस्तालाई च्यालेन्ज गरेको पाइन्छ। तेस्रो शताब्दीको अन्त्य तिर रोमबाट प्रारम्भ भएको यो ‘भ्यालेन्टाइन डे’ को इतिहासलाई फर्केर हेर्दा पादरी सेन भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ।
तत्कालीन रोमन सम्राटले युवाहरू प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने मनसायले यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर भ्यालेन्टाइनले भने सम्राटको निर्णय धर्म विपरित भन्दै उनको उर्दीको विपरित लुकिछिपी जोडीहरुको विवाह गराइ दिन लागे। 'एकान, दुई कान' हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो र उनलाई जेलमा राखियो भ्यालेन्टइनलाई सन २६९ को फेब्रुअरी १४ को दिन झुन्डाइएको थियो । त्यही दिनलाई स्मरण गर्दै ‘भ्यालेन्टाइन डे’ मनाउन सुरु गरेको अनुमान गरिन्छ ।
तर पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ विकृति र सम्झौतामा युवा युवतीहरु अगाडि बढ्दै गरेको पाइन्छ ।
प्रेमलाई कामवासनाको रुपमा लिने युवा युवतीहरूलाई यो पर्व महान् लागे पनि म जस्ता प्रेमको पुजारीको निम्ति विकृति नै भएको छ।
शारीरिक आकर्षणबाट निस्केको प्रेम, प्रेम होइन त्यो त यौवन कालको उल्लास हो, जो दुई दिन रहन्छ अनि मरेर जान्छ।
प्रेम गर्न प्रेमिल जोडीको निम्ति कुनै साइत जुराइ राख्न पर्दैन। तर पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ ले प्रेम गर्ने जाेडीको निम्ति बसन्त पर्व नै बनेको छ।
जस्को महँगो गिफ्ट उसैले नै धेरै माया गर्छ की भन्ने भ्रम युवा युवतीहरूको मस्तिष्कमा सिर्जना गरी दिएको छ, यो ‘भ्यालेन्टाइन डे’ ले ।
हिजोको दिनमा रोमियो-जुलेट, लैला-मज्नु र मुना-मदनले गरेको प्रेम त अब केबल किताबको पानामा मात्रै सिमित भएको पाइन्छ।
केही समय अगाडि कहाँ सुनिन्थ्यो र ‘भ्यालेन्टाईन डे’ । मेरो लभ पर्दा नै मैले साइत कुरीन बरु कुरेर बसे, हुलाकी बनाई पठाएको सानो फुच्चे केटोलाई हातमा चिठी थमाएर यो चिठी पुर्याएर ‘आ’ तलाई ५ रुपैयाँ दिन्छु भन्दा म्याराथनमा दौडेझै दौडिदै गएर युद्ध जितेको सिपाई झै छाती चौडा गरेर फर्केको थ्यो फुच्चे केटो !
चिठी जवाफ दुई चार दिनमा पाउँदा दोहोराई तेहेराई पढ्दाको मज्जा र त्यो कागजमा मायाको मसिले रंगाएर पानको पातभित्र लेखिएको ‘डि’ प्लस ‘एस’ को सुगन्ध के था अहिले म्यासेन्जरबाट लभ गरेर ह्वाट्सएपमा गै ब्रेकअप गर्ने युवा युवतीहरुलाई ?
एक पटक तपाईं हाम्रो यौवन काललाई स्मरण गराैं त के हुन्थ्यो त्यो बेला स्कुले साथी भाइहरूले जिस्काएको भरमै ख्याल, ख्याल मै चोखो माया गरिसकेका हुन्थेम हामी ।
सयौं जोडीको विवाह बन्धन पनि सम्पन्न भएको ज्वलन्त उदाहरण छ्न्। त्यो बेला न गुलाबको फुलको डिमान्ड हुन्थ्यो त न महँगो उपहार नै, तर पनि माया अटुट रहने गर्थ्याे।
घाँस काट्न जाँदा होस, स्याउला लिन जाँदा बनभरी ढकमक्क फूलेका लालि गुराँसको फूल टिपेर उनको केसमा लगाई दिँदाको झै के सुगन्ध के दिन सक्ला र, ‘रोज डे’ मा दिइएको आर्टिफिसियल गुलाबको फूलले ।
सँगै गोठालो जादा होस या वनपात, मैले टोपिमा टिपेको जामुन र उनले चुनरीमा गाँठो पारी राखेको थाकल, सँगैबसेर खाँदाको झै स्वाद के देला ‘चकलेट डे’ मा दिएको प्याकेटको चकलेटले ।
एउटै मुलमा मुख गाडेर पानी पिउँदा मेटिएको तिर्खा के मेटाउला र ? एउटै ‘स्ट्रो’ सेर गरेर कोकाकोला पिउँदा।
उनले बुनिदिएको गलबन्दीलेजस्तै के स्थान लिन सक्ला र ? बजारबाट किनेर ल्याइदिएको ‘टेडी बियर’ले ।
गोठालो जाँदा सालको रुखमा खोपिएको उनको र मेरो नामको पहिलो अक्षर झै के यादगार होलान् र ? केकमा लेखिएका ती नामहरु।
रोधी घरमा मिर्मिरेसम्म उनी सँगै कुम जोडेर नाचेको झै कहाँ स्मरणीय होला र ? डिस्कोमा नसाको तालमा झुम्दा।
वर्षमा एक दिन आफ्नो गर्लफ्रेन्ड वा श्रीमतीलाई महँगो होटेलमा लन्च र डिनर गराउँदैमा वा महगो गहना उपहार दिदैमा माया गरेको मान्न सकिदैन।
यदि तपाईं आफ्नो प्रेमिका वा श्रीमतीलाई चोखो माया गर्नुहुन्छ भने उनका स-साना खुशीलाई नजरअन्दाज नगर्नुहोस्।
उनी महिनावारी हुँदा चार दिन आराम गराएर आफैले घरको काम गरेर प्रेम दर्शाउनुहोस्, सुत्केरी भएको दश दिनमै गाग्रो बोकेर पधेरोमा पानी भर्न जान बाध्य हजारौं महिलाका पुरुषहरुले एक महिना भए पनि पुरुष धर्म निभाइदिउन्।
बाटोमा एक्लै भेटिएकी नारीलाई देख्दा ‘अवसर’ होइन ‘जिम्मेवारी’ सम्झिएर अगाडि बढुन्।
मैले यति भनिरहदा ‘भ्यालेन्टेनटाइन डे’ को विरोध गरेको भान हजारौं युवा युवतीलाई पर्न सक्छ। हजारौं युवा युवतीलाई रिस पनि उठ्न सक्छ तर बुझ्नुपर्ने कुरा के हो भने पश्चिमा संस्कृती हाबी हुँदै गइरहेको परिवेशमा आफ्ना धर्म, संस्कृती र रितिरिवाजलाई पनि नबिर्सौ। प्रेमलाई कुनै महँगो उपहार सँग तुलना नगरौं, अनि कुनै सम्झौतामा प्रेम नगरौं।
दिपेश पण्डित (भूमीपुत्र)
