एकाबिहानै सर्मिलासँग प्रेम कला (उनकी सासु ) झर्कन थालिन् ।
‘एउटा बच्चा पनि पाउन नसक्ने कस्ती बाँझी आइमाई हो । बिहे गरेको यत्रो वर्ष भइसक्दा पनि एउटा सन्तानको इच्छा लागेन तँलाई अलछिना’
प्रेम कला को कुरा सुनेर सर्मिलालाई भन्न मन लाग्यो ‘बाँझी म होइन , तपाईंको छोरा हो।’
तर, उनी चुपचाप गहभरी आँशु बनाउँदै केवल उनको कुरा सुनिरहिन्।
साँझपख रमेश (सर्मिलाको श्रीमान ) घर आएपछि प्रेम कलाले रमेशसँग भन्छिन् ‘मेरो मर्ने बेला हुन लागिसक्यो । नाति को मुख नदेखाई मर्न दिन्छस् त बाबु’
उनको कुरा सुनेर रमेशले भन्छन् ‘आमा तपाईंलाई जलाउने मैले नै हो किन चाइयो नाति ?’ र हाँस्छन् ।
प्रेम कला फेरि बोल्छिन् ‘एउटा असल केटी खोजेर बिहे गर । यो बाँझीबाट त नाति को आस गरेकी छैन, अब तैंले अर्की बिहे गर्नै पर्छ।’
रमेशले बिहेको लागि अस्वीकार गर्छन् तर प्रेम कलाको ढिपी को अगाडि केही चल्दैन । उनले बिहे गर्ने निधो गर्छन् । सर्मिला रमेशसँग रुन्छिन् , कराउँछिन् तर उनको केही सिप लाग्दैन ।
सर्मिलाले घर छोडेर निस्किन्छन् ।
सर्मिला घर छोडेर माइत नगई छुट्टै डेरा गरेर बस्छिन् अनि आफै सानो व्यवसाय चलाउँछिन् । यसै गरी पाँच वर्ष बित्छ ।
एकदिन सर्मिला यत्तिकै बसिरहेकी हुन्छिन्, उनको फोन बज्छ । फोन तिर हेरेर उनी झसङ्ग हुन्छिन् । रमेशको फोन आएको रहेछ । सर्मिलाले फोन उठाउछिन्
‘हेलो’
(रमेशले लामो लामो स्वास लिइरहेकोे आवाज आउँछ ।)
सर्मिला फेरि ‘हेलो रमेश’
रमेश ः सर्मिला म तिमीसँग भेटेर कुरा गर्न चाहन्छु ।
सर्मिला ः ठीक छ भोलि भेटौला
फोन को वार्तालापले सर्मिला सोच्न थाल्छिन् । ‘पक्कै डिभोर्सको लागि भेट्न खोजेको होला ।’
भोलिपल्ट सर्मिला रमेश भेट हुन्छन् । सर्मिलाले रमेशलाई भेट्न खोज्नुको कारण सोध्छिन् ।
अनि रमेशले भन्छन ‘तिम्लाई थाहा छ पुष्पा (रमेशको बहिनी)को पनि अहिलेसम्म बच्चा भएको छैन । उनको सासुले पनि अर्को बिहे गर्न कर गर्दा पनि ज्वाइँले बहिनीलाई धेरै सपोर्ट गरेर बिहे गर्दिन भने।’
रमेशको कुरा सुनेर सर्मिला ले भनिन्, ‘भाग्यमानी रहिछन् पुष्पा’
कुरालाई यहीँ रोक्दै सर्मिलाले फेरि सोधिन्, ‘मलाई यहाँ बोलाउनु को कारण ?’
रमेशले आँखा भरी आँसु पार्दै भन्छन्, ‘मलाई माफ गरिदेउ सर्मिला । आमाको चित्त नदुःखोस् भनेर मैले केवल आमाकै कुरामा हुन्छ भरिरहँे, मैले तिम्रो बारेमा पनि सोच्नु पर्ने थियो । म आफ्नो गल्ति को प्राश्चित गर्न चाहन्छु । हिँड, म तिमीलाई घर लैजान आएको हुँ।’
रमेशको कुरा सुनेर सर्मिलाले भनिन्, ‘म तिमीसँग जान्छु भनेर आएकी होइन , मैले तिमी डिभोर्स माग्न आएको हौला भनेर आएकी हुँ , खोइ देऊ, म दस्तखत गरिदिन्छु । त्यस बापत मलाई केही चाहिँदैन । तर तिमी यो सोचेर आएको छौ कि म तिमीसँग फर्किएर जानेछु, तब तिमी भ्रम मा छौ । मैले त्यो घरमा आफ्नो आत्म सम्मान गुमाएकी छु ।’
लामो सास लिँदै सर्मिलाले फेरि भनिन्, ‘निकै मुस्किलले मैले आफूलाई सम्हालेकी छु । मैले नयाँ जिन्दगी सुरुवात गरिसकेँ । अब म त्यो पुरानो जिन्दगी मा फर्किएर जान चाहन्न, जहाँ मेरो आत्मसम्मानको कदर नहोस्।’
रमेश पश्चाताप बोध गर्दै सर्मिलाको अनुहारमा एक टकले हेरिरहन्छन् । सर्मिला आँखा भरी आँसु बनाउँदै त्यहाँबाट सरासर आफ्नो डेरा तिर लाग्छिन् ।
सेलिना सापकोटा (सैलु)
