• ट्रेण्डिङ्ग :
पुस्तक समीक्षा
मेरो सालु मेरो रामेछाप

मेरो सालु मेरो रामेछाप


  • 21.2K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 32.5K Views

    मेरो सालु मेरो रामेछाप

    मनले तनले धनले वृद्धि भएको शुभ कर्मले गर्नु छ कायाकल्प अब जनजीवनको आकाङ्क्षा यो रामेछापको ।

    काठमाडाैं, ७ फागुन । गान्धीराज काफ्ले समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनको “मेरो सालु मेरो रामेछाप” कविता सङ्ग्रह पाँचौं कृति हो । उनी नेपाली र अङ्ग्रेजी दुवै भाषामा बराबर कलम चलाउँछन् । “मुक्तिवेगका नायक” कविता सङ्ग्रह उनको पहिलो कविता सङ्ग्रह हो । हालसालै बजारमा आएको “मेरो सालु मेरो रामेछाप” नामक यो कृतिभित्र “जन्मसँगै जन्मभूमि” देखि “गौरव र सम्भावना” सम्म गरेर १५ वटा कविता रहेका छन् ।

    images

    यस सङ्ग्रहभित्रको “जन्मसँगै जन्मभूमि” शीर्षकको पहिलो कवितामा आफ्नो जन्मभूमिको माया कति हुन्छ भन्ने कुरा कविता मार्फत देखाइएको छ । आफू जन्मेको ठाउँ छोडेर मान्छे कर्म गर्न जहाँ नै पुगे पनि मन त त्यहाँ हुन्छ जहाँ बाल्यकाल बितेको हुन्छ । त्यो ठाउँको सौन्दर्य हृदयमा खोपिएर बसेकै हुन्छ बाँचुञ्जेलसम्म । उनले लेखेका यी कविताले पाठकलाई रामेछाप, मन्थली, सालु डुलाउँदै त्यहाँका प्रत्येक डाँडाकाँडा, भिरपाखा, खोला झरना, वनजङ्गल डुलाउँदै चरम आनन्दमा लीन गराउँछन् ।

    कवि ह्रदयमा फुटेको मुललाई उनी शब्दले सिँगारेर कविता बुन्छन् । पाठकलाई रामेछापको दृश्यपान गराउँदै यो ठाउँ संसारकै सुन्दर स्थल हो भनेर वर्णन गर्छन् र त्यहाँको समृद्धि र सुधारको लागि केही गरांै भन्ने चाहना व्यक्त गर्छन् कविताको माध्यमबाट यसरी–

    मनले तनले धनले
    वृद्धि भएको शुभ कर्मले
    गर्नु छ कायाकल्प अब जनजीवनको
    आकाङ्क्षा यो रामेछापको ।

    उनले धार्मिक आस्थाका विषयमा “नमन जन्मभूमि” नामक कविता लेखेका छन् । आफ्नो जन्मभूमि पवित्र तीर्थस्थल हो, यो प्रिय छ, अतुलनीय र प्रशंसनीय छ अनि बन्दनीय छ र पूजनीय छ मेरो जन्मभूमि भन्दै उनी आफ्नो देश नेपालप्रति नतमस्तक हुन्छन् यसरी––

    अरब अरबौंका मानिस
    कोटी कोटीका आस्था
    कुन पन्थ समाती
    कुन ठाउँ पुगूँ म तीर्थ
    मेरो तीर्थ मेरै सालु । 

    प्रस्तुत कविता सङ्ग्रहमा स्रष्टा गान्धीराज काफ्लेले आफ्नो जन्मभूमिको सम्झना, अनुभव, अनुभूति, दुःख सुखका उहापोह र प्रकृतिसँगको सम्बन्धलाई प्रष्ट देखाएका छन् ।

    वरिपरि जन्मभूमि
    थरिथरि तीर्थ
    आधार तीर्थ
    जन्मभूमि
    तीर्थहरुको तीर्थ मनबीच मेरो
    मेरै सालु ।

    उनका कविताहरु पढ्दा एउटा सानो कृतिभित्र रामेछाप भन्ने एउटा संसार अटाएको जस्तो लाग्छ । जो कसैले यस्ता किसिमका कविता लेख्ने आँट गर्दैनन् । कवि कर्म अन्तर्मुखी यात्रा हो । कवि ह्रदयमा फुटेका मुललाई शब्दमा बगाइदिने कवि यसरी लेख्छन् –

    भावनाले आस्थाले
    प्रेम अनौठो जोडिन्छ
    जन्मभूमिसँगको नाता
    जन्मसँगै जन्मन्छ ।
              
    कविता साहित्यको एक सशक्त विधा हो । अहिले सम्म पनि संसारकै जेठो विधाका रूपमा कविता विधालाई लिइन्छ । कविताको माध्यमबाट कविहरुले विम्ब र भावसँग शब्द सजाएको पढ्न पाउँदा मलाई अत्यन्त खुसी लाग्छ । कवितामा रमाउनुको आनन्द अरु कुनै विधामा पाइन्छ जस्तो लाग्दैन । 

    भाग्यको लहरामा लहरिकन आफ्नो जन्मथलो छोडेर अन्यत्र गएका नेपालीहरुको ब्यथाको समभाव यसरी देखिन्छ कुनै कवितामा ः

    कामनाको प्रबल शक्ति
    हुटहुटी मनमा चलोस् भन्छु
    उठुन् पाइताला कुदुन् भन्छु
    जन्मभूमि वन्दनीय
    जान पाउँ सालु भन्छु ।

    जीवनभित्रको कोलाहलमा शुन्यता र शुन्यताभित्र कोलाहल पैदा गर्ने शक्ति कवितामा हुनैपर्छ । उनको कविताले यसो भन्छ — मेरो रामेछापमा सधैं अमृत जस्तो चोखो र मीठो पानी बगिरहन्छ । खोलाका छेउछाउमा धान झुल्छ । बारीका पाटामा मगमगाउँदै फलफूल पाक्छन् । माथि “च्याउँकेठाँटी” डाँडातिर उक्लँदा आउने शितल बतासले संसारै भुलाउँछ । यो स्वर्गको टुक्रा जस्तो मेरो बैंसालु रामेछापमा म आपूmलाई सदैव ऊ जस्तै जवान पाउँछु । मेरो सालु रामेछाप कहिल्यै बुढो नहोस्, उसको तन्नेरी हावा जुगौंजुग चलिरहोस् ।

    जन्मभूमिको रङ मनोरम
    प्राञ्जल भावनाको चित्रपट
    के हो
    होइन के
    सब थोक मेरो
    मेरो सालु
    मेरो रामेछाप । ”
     
    मूलतः एउटै अन्तरवस्तुमा केन्द्रित भएका छन् उनका कविताहरु – रामेछाप र सालु प्रत्येक कवितामा दोहोरिएका छन् । पाठकले रामेछापका अतिरिक्त नयाँ विषयवस्तु कतै भेट्दैनन्  । सबै कविताको भाव एउटै भएपछि नयाँ नौलो हेर्न पढ्न आँखाले खोजिरहन्छ ।

    कविता लेख्ने आ आफ्ना शैली हुन्छन् नै । उनका कविताले मलाई युगकवि शिद्धिचरण श्रेष्ठ सम्झायो । “मेरो प्यारो ओखलढुंगा” जस्तै कविले पनि “मेरो सालु मेरो रामेछाप” भनेर वर्णन गरेका छन् । गान्धीराजका यी कविताले रामेछाप चिनाए जसरी नै रामेछापले एकदिन उनलाई चिन्नेछ । हुन त जगदीश घिमिरेको “अन्तर्मनको यात्रा” किताबमा पनि रामेछाप मन्थलीको सुन्दरता हामीले पढेकै हो तर त्यो किताब कविताको थिएन । एउटा सिङ्गो कृतिमा नै आफ्नो जन्मस्थलको कविता जो सुकैले लेख्ने आँट गर्दैनन् । यसरी नेपाली साहित्य जगतमा रामेछापको सुन्दरतालाई कविताको माध्यमले भित्र्याउने कवि गान्धीराज काफ्लेलाई धेरै धेरै शुभकामना ।

    ©शशी भट्टराई श्रेष्ठ


    शशी भट्टराई श्रेष्ठ
    लेखकबाट थप