कुरा २०६६ साल तिरको हो । त्यतिबेला मैले उच्च शिक्षाको पहिलो वर्षको परीक्षा दिएर घरमा बसेको थिएँ । त्यतिकैमा गाउँका हामी चार जना साथीहरुले केही महिना कमाउन र रेल चड्ने रहर पूरा गर्न भारतको गुजरात जाने निर्णय गर्यौँ । हाम्रो निर्णय बारे घर परिवार खुसी त थियनन् तर ६/७ महिनापछि फर्केर पुनः पढाई अगाडि बढाउने हो भनी कन्भिस गर्यौं। बुवा आमाको स्वीकृतिपछि बुधबारको दिन पारी टिकाटालो लाएर बिदा भयाैं । माछागढसम्म पुर्याउन भाइहरु पनि आए।
माछागढबाट हामी नेपालगञ्ज भन्सारसम्म जाने बसको छतमा बस्यौं । म, गौरब, मयाराम र सन्तोष बस चढ्यौं। घर अनि आफन्तबाट टाढा जाँदा थोरै दुःखी थियौं भने त्यो भन्दा धेरै नयाँ ठाउँ नयाँ परिवेश देख्न पाउने इच्छाले फुरुङ्ग थियौ । लगभग २ घन्टासम्म बस छतमा गरिएको यात्रा पछि हामी भन्सार पुग्यौं । रिक्सा वाला भैयाले बस स्टेसनसम्मको २० रुपैयाँ भनी रिक्सा चढाए । भारत तर्फको बसपार्क पुगेपछि जनही २० रुपैयाँ (भारु) ठटाय । इन्डियामा पहिलो पाइलामा ठेस लाग्यो।
मैले यसलाई नेपालगञ्ज तिर भेटे कुट्नुपर्छ है भन्दै हामी जयपुर जान तयार भएको रोड बेज बस तिर लाग्यौं । बस भित्र दुई जना नेपाली दाजुभाइ बसिरहनु भएको थियो । हामी पनि चढ्नै लाग्दा ‘किधर जाना है बहादुर’ भन्दै थर्कायको जस्तो आवाजमा बसको सहचालक बोल्यो । मैले ‘गुजरात’ भने । ‘ये बस गुजरात तो नहिँ जायगा लेकिन जयपुर तक जाना है तो बोलो। ओहा से गुजरातका बस मिलजायगा’ । हामीले हवस् भन्दै टाउको हल्लायौं। बस भित्र ममफली (बदाम)को बोक्रा र पुकारका प्याकेट छरपस्ट थिए। सिट च्यातिएर फलाम देखिन थालिसकेका थिए।
ड्राइभर भने अगाडिको लामो सिटमा सुतिरहेको थियो। अपराह्न ३ बजे बस स्टार्ट भो त्यतिबेलासम्म लगभग बस आधा भन्दा धेरै नेपाली दाजुभाइले नै भरिसकेको थियो। बाके, बर्दिया, सुर्खेत, दैलेख, रुकुम तिरका युवाहरूको गन्तव्य नै बनेको थियो गुजरात । होटेलमा डिस वासरदेखि कुक त कोही म्यानेजर प्रायः नेपाली भेटिन्छन् । प्रायः परिवार लिएर गएका भने अपार्टेमेन्टमा काम गर्ने गर्थे गुजरातको अहमदावाद, राजकोट, बडौदा र सुरत गरी मुख्य चार शहरमा अझै पनि धेरै नेपाली भेटिन्छन् ।
बस अगाडि बढे सङ्गै बसमा दुई जना किन्नर चढे अनि सबैसँग पैसा माग्दै आशिर्वाद दिदै गरे मेरो छेउमै आयर एउटीले हाय ह्यन्डम भन्दै पैसा मागी मैले गोजी बाट १० रुपैया थमाउदै उस्लाई पन्छाउन पट्टी लागँे जब बस केही अगाडि पुग्यो। सहचालकले टिकटको लागि एक एक गरेर अगाडि बोलाउन थाल्यो हाम्रो नेपालमा भाडा उठाउन सिट सिटमा आउथे सह चालक ईन्डियामा भने उनकै सामुन्ने जानुपर्ने यो पक्कै पनि नेपालीलाई हेपेको हुनुपर्छ भन्ने मलाई भान भयो तर पनि जनही ५०२ रुपैयाँको दरले चार जनाको जयपुरसम्मको टिकक काटेर म पुनः आफ्नै सिटमा आएर बसेँ ।
बाटोमा देखिने ठूलाठूला फाँटमा लगाइएका गन्ना(उखु)का खेती तरकारी खेती हेर्दै इन्डिया पनि नेपाल जस्तै त रैछ है भन्दै बाटोमा खाजाको निमित्त ल्यायको वाईवाई चाउचाउमा चिउरा मिसाएर साथमा कोकाकोलाको चुस्की लगाउन थाल्यौं ।
मयारामलाई अपच भएछ क्या हो अघि खायको चाउचाउ र चिउरा जस्ताको तेस्तै झ्यालबाट बाहिर निकाल्न सुरु गरे । त्यो देख्दा हाम्रो पनि पेट बटारियको थियो। तर जसोतसो कन्ट्रोल भयो । लगभग ९ बजे तिर भारतको बिशाल घाग्रा नदी क्रस गरे सङ्गै बसले खाना खुवाउन सडक छेउमा रहेको एउटा ढाबा( होटेल)मा रोक्यो मलाई भने अघि खायको कोक र पानी बिसर्जन गर्नु थियो। म एताउता सौचालय खोज्न थाले तेहा त सौचालय कतै थियन सबै होटेलको पछिल्लो पट्टी बनेको वालमा सिचाई गरिरहेका थिए। म पनि तेतै लागें हामी पुरुषलाई त ठिकै हो तर महिलालाई सारै असुविधा हुदोरहेछ यस्तो यात्रामा।
हामीले होटेल सङ्गै जोडिएको अम्लेट सेन्टरमा अम्लेट बनाउन लगायौं दुई अन्डाको अम्लेट र दुई स्लाई पाउरोटी तलमाथी पारेर कागजमा राखी थमायो । न स्वाद न ब्यादको पाउरोटी र अम्लेट जसोतसो खायर पैसा तिरेर हामी अरु भन्दा पहिले नै बसमा चढ्यौं।
रात भरिको यात्रापछि बिहान् ९ बजे जयपुर प्रवेश गर्यो बस । भारतमा जयपुरलाई सुनको चरा भनिदो रहेछ । साच्चिकै तेस्तै थ्यो पनि जयपुर । विशाल घर अनि सडक नै सडक सडक भरी किरा झै सलबलाउदै कुदेका गाडीहरू प्रत्येक गाडी भित्र खचाखच यात्री लगभग १० बजे रोडबेज बस स्टेसन पुग्यो । बिरानो मुलुक नचिनेका मान्छे तेसैले हाम्रो सहारा तिनै बसमा भयका अन्य नेपाली यात्री भय हामी ऊनीहरुको पछिपछि लाग्यौं क्षितिज बिल्डिङको ग्राउन्ड फ्लोरमा रहेको गोयल ट्राबल्सबाट अरुले झै हामिले पनि जनही ४५० का दरले गुजरातसम्मको टिकक काट्यौं ।
बस भने १ बजे मात्रै हिड्ने टिकट काउन्टरका एकजनाले जानकारी दिए। यसो घडी हेरेको ११ मात्रै बजेको रैछ थोरै भए नी घुम्ने निर्णय गरेर झोला सोला त्यहीँ ट्राभल्समा छोडेर हामी हिड्दै अगाडि बढ्यौं । बाटो बाटोमा फर्किन सजिलो होस भनेर चिनारीको लागि होर्डिङ बोर्ड हेर्न थाल्यौं । रोड पारी पट्टि ठेलामा बेच्न राखियको चना भटुरे खान तेतै लाग्यौं अब भने १२ः३० भो हामी फर्किन पर्छ सन्तोष बोल्यो तेसैमा सही थप्यो मयारामले गौरव भने हामी भन्दा पहिले पनि एक पटक गुजरात आइसकेको हुनाले ह्या चिन्ता नगर म छु भन्दै ध्वास लगाउदै अगाडि लाग्यो हामी उस्को पछिपछी ।
१२ः४५ मा बसमा चढ्नु पर्ने भो हाम्रो सिट अगाडिको भए पनि ट्राभल्सको मान्छेले ईन्डियनलाई अगाडि सिटमा राख्दै हामीलाई पछिल्लो सिटमा बस्न बाध्य बनायो मैले मेरो टिकट देखाउदै मेरा सिट दो नम्बर हे क्यू पिछे भन्दै प्रश्न गर्दा आगे बैठो या पिछे पहुचोगे तो साथमे भन्दै हपार्यो मनमनै नेपालीमा गाली दिदै २० नम्बर सिटमा आयर थच्किएँ।
भोलिपल्ट बिहान् ५ बजे हामिलाई गोयल ट्रभल्सको बसले गिता मन्दिर बस स्टेशन झार्यो हामिलाई लिन त्यहाँ गाउकै अग्रज दाई रमेश शाही मीठो मुस्कानका साथ पर्खिरहनु भएको थियो। हामिलाई देख्ना साथ के छ केटा हो आयौ लाहुर भन्दै तीन पाङ्ग्रे अटो रिक्सामा राखेर रिक्सा चालकलाई मेमनगर सर्जन टावर भन्ने एड्रेस दिनु भो । लगभग आधाघन्टा सहरका गल्ती र पक्की सडक अनि भिडभाड छिचोल्दै पुगियो सर्जन टावर एका बिहानै पुगेको हुनाले कोठामा रहनु भएको भिनाजु सागर र विशाल निदाइरहनु भएको रैछ अध्यारो कोठामा ३/४ जना भुईमा ओछ्यान लगायर सुतेको देख्दा घरमा आमाले मिलाइ दिनुभएको बिस्ताराको झलझली याद आयो ।
हाम्रो आगमनले उहाँहरुको निद्रा बिग्रेछ क्या हो एक एक गर्दै आँखा मिच्दै उठ्न थाल्नु भो अनि हाम्रो हाल खबर गाउँ घरको हाल खबरका बारेमा केही बेर चर्चा गरेर कोही नुहाउन गए भने कोही मोबाइलमा झुन्डिन थाले । हामिलाई भने दुई दिनको अनिदोका कारण निन्द्रा देवीले छोपिछ्न।
राती ११ बजे साथीहरु कामबाट फर्किएपछि हाम्रो निन्द्रा खुल्यो बिहानदेखि केही नखाएकाले उठ्ने बितिकै असाध्यै भोक लागेको अनुभव गरें मैले विशाल भेनाले ल्याई दिएको पनिर को तरकारी र रोटीको पोको खोलेर हामी चार जना खान थाल्यौं।
खादै गर्दा भेना बोल्नु भो भोलीबाट काममा जानुपर्छ केटा हो मैले एउटा रेस्टुरेन्टमा कुरा गरिदिएको छु । चिनेको म्यानेजर छ केही टेनसन नलिनु तलब अहिले १२ सय दिन्छ खान बस्न फ्री पछि काम सिकेसी बढाउछु भन्या छ। एक मनले काम गर्न आएको काम पाउँदा खुसी थिएँ भने अर्को मनले बिरानो मुलुक अपरिचित मान्छे अप्ठ्यारो भाषा कसरी काम गर्ने होला भनेर तनावग्रस्त भएँ । मयाराम र सन्तोष भने स्वामिनाराण मन्दिरको भान्सामा काम गर्न जाने भए भने म र गौरव रेस्टुरेन्टमा वेटरको काम सिकेर भोली म्यानेजर हुने सपना देख्दै लाग्यौं गान्धी आश्रम रोडमा रहेको आश्रय रेस्टुरेन्टमा तिर ।
दिउँसो १२ बजे आश्रय रेस्टुरेन्टमा म्यानेजर नरेशको जिम्मा लगयार केही परे फोन गर्नु भनेर भेना फर्किनु भयो।
म्यानेजरले एउटा वेटरलाई बोलायर हामीहरुलाई तयार गरेर ल्याउन अराए। उसले पनि टाउको हल्लाउँदै हामिलाई लिफ्टको साहरा चौथो फ्लोरमा लगेर झोला यता राख भन्दै इसारा गर्यो अनि एउटा लकर खोलेर पुरानो ड्रेस निकाल्दै कुन फिट हुन्छ ट्राई गर्न भन्यो मलाई जसोतसो एउटा शरीरमा फिट भयो गौरबलाई भने कुनै ड्रेस फिट नभय पनि पाइन्ट अली दोबार्दै लगायर हामी पहिलो तलामा रहेको रेस्टुरेन्टमा झर्यौं ।
रेस्टुरेन्टमा प्रायः उत्तराखण्ड र राजिस्तानी वेटर थिए भने किचनमा धेरै नेपाली कुक र डिस वासर थिए । नेपाली भयर मात्रै के गर्नु नेपाली कोही बोल्ने होइनन् नेपाली मै सोधपुछ गर्दा नि हिन्दिमा जवाफ दिएको देख्दा मन कुडिन्थ्यो । मलाई नि झोक चल्दा उनिहरुले हिन्दीमा सोधेको अवस्थामा म अङ्ग्रेजीमा जवाफ फर्काउने गर्थे । मैले अङ्ग्रेजी बोलेको सुनेर रिसले हो कि मायाले यत्रो पढेलेखेको मान्छे के खान ईन्डिया आको भनेर खिल्ली पनि उडाउने गर्थे । म घुम्न आयको ६÷७ महिनाको लागि भन्दै जुठो भाडा युटिलिटिको स्टेनमा राख्दै रित्तो ट्रे औंलामा नचाउदै रेस्टुरेन्टका छिर्थे ।
यसैगरी काम गरेको २२ दिन मात्रै के बितेको थियो। गौरवले एउटा राजस्तानीसँग झगडा गरेर टाउको नै फुटाइदियो अनि हामी सुटुक्कै झोला बोकेर कुलेलाम ठोक्यौं। तर कसरी पुनः भिनाजुको कोठामा पुग्ने कुनै आइडिया थियन एउटा अटो रिक्सालाई सर्जन टावरसम्म कित्ना भन्दा हाम्रो बजेट भन्दा माथि भन्यो अनि बसको साहारा जाने निर्णय गरेर ५/५ रुपैयाँ को बस टिकट काट्यौं। स्टेसन आउनु अगाडि अङ्ग्रेजी हिन्दीमा अनि गुजरातिमा आगणु जनमार्ग स्टेसन फलानो फलानो भन्दै थियो तर हामी ओर्लिने मेमनगर स्टेसन कति बेला कटेछ पत्तो नै भयन अगाडि गलत स्टेसनमा ओर्लिदा जनमार्गको सेक्युरिटीले ४५/४५ जरिवाना लाग्छ भनेर हकार्यो अनि हामिले डरायर दियसी सहयोग गरेझै गरेर पुनः सोही टिकटमा बस चढाइदिने र अबको तेस्रो स्टेसनमा ओर्लिन पर्ने भनि सिकायो ।
जसोतसो रुम पत्ता र लगाएर त पुगियो तर भिनाजुको नाम खराब गरेर आयको भन्दै सारै हप्काय । पछि के माया पलायो आफुले काम गर्ने राजपथ क्लबमा काममा लगाइ दिने तर झगडा गर्न नपाइने सर्त राख्नु भयो। हामीले नि हुन्छ भन्दै भोलिपल्ट बिहानै ७ बजे राजपथ क्लब पुग्यौं तेहा वेस्ट बाङ्गालको मण्डल सर भन्ने म्यानेजर हुनुहँुदो रहेछ लड्के अच्छे हे तुमारा पास राख के काम सिखाना विशाल भन्दै भेनाले जिम्मा लगाइदिनु भयो। १६ हजार मेम्बरको ठूलो क्लबमा काम गर्दै जाँदा विभिन्न भारतीय सेलिब्रेटी देख्न पाउदा र मासिक भारु ४५०० तलब थाप्दा पढाइ त बिर्सेछु ६/७ महिनापछि फर्किन्छु भनेको मान्छे वर्ष दिनपछि मात्रै फर्किएँ ।
११ क्लास रेगुलर पास भएको रैछु तर १२ पढ्न मन लागेन किनभने २२ वर्ष नेपाल आर्मीको जागिरपछि पेन्सन पाइरहनु भएका मेरा बुबा पुनः बैंकमा गार्डको जागिर गर्दा कताकता मलाई नराम्रो लाग्यो भने, गुजरातको रमझम र मासिक आउने पैसाले लोभ्याउन थाल्यो अनि म पुनः धन कमाउन मुग्लान लागेँ।
दिपेश पण्डित (भूमीपुत्र)
