• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न ( रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पवनकुमार कवर)

वडाध्यक्षसँग पाँच प्रश्न ( रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पवनकुमार कवर)


  • 8.0K
    SHARES
    • श्रावण ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 12.3K Views

    वडाध्यक्षसँग पाँच प्रश्न ( रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पवनकुमार कवर)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पवन कुमार कवरसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष कवरसँग तेस्रो आँखाका सम्वाददाता भरत विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १- वडाको गतिविधि के छन् ? गत आर्थिक वर्षमा के-के गर्नुभयो ? 

    गत आर्थिक वर्षमा हामीले पूर्वाधार विकासको क्षेत्रमा बढी काम गरेका छौँ । बाटो, शिक्षा, सिंचाई लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । शिक्षा क्षेत्रमा विद्यालयहरुमा टिन (जस्ता) का टहरा भएका भवनहरु, त्यसलाई विस्थापित गरेर पक्की बनाउने काम गऱ्यौं ।  सिंचाई क्षेत्रमा पनि केही काम भएका छन र खानेपानी क्षेत्रमा अलि बढी जोड दिएका छौं । हामीले आगामी आर्थिक वर्षमा, एक घर एक धार खानेपानी, जुन प्रत्येक टोलहरुमा गत वर्ष पनि भयो, यसलाई हामी यस वर्षमा पनि निरन्तरता दिनेछौँ । 

    २- सडक पूर्वाधारको क्षेत्रमा के-के काम भए ? 

    सडक पूर्वाधारको रुपमा मुख्यत यो क्षेत्रको लाइफ लाइनको रुपमा चिनिएको किमिचौर (घोडागाउँ र सुर्पाल दाङ हुँदै जाने जुन बाटो छ, त्यसलाई यसवर्ष चाहीँ संघिय अनुदान बजेट र स्थानीय समपुरक बजेट थियो, त्यो बजेटले ट्र्याक खोल्ने र नालाहरु बनाउने कार्य वडा कार्यालयसम्म भएको छ । अब यसलाई हामी कटिङ हुने ठाउँमा कटिङ गर्ने र पिच हुने ठाउँमा पूर्वाधार बनिसकेको छ, त्यसलाई चाहिँ आगामी वर्षमा गरिने छ । अहिले बजेट पनि प्रयाप्त मात्रामा आएको छ । त्यसलाई हामी निरन्तरता दिन्छौं । अहिले हामीले सिमावर्ती जिल्ला प्युठानको किमिचौरदेखि घोडागाउँसम्म काम गर्छौ र अन्य क्षेत्रमा आगामी वर्षमा गर्ने गरेर अगाडी बढ्छौं । 

    ३- शिक्षा क्षेत्रमा के सोचिरहनुभएको छ ?

    अहिले हामी माझ विद्यालयहरुमा पूर्ण दरबन्दी छ । जनशक्ति र मेनपावर प्रयाप्त मात्रामा रहेको छ । अर्को कुरा विषयगत शिक्षकहरु पनि हुनुहुन्छ । किन नतिजा कमजोर आयो भन्ने कुरामा चाहिँ अहिलेको समय सापेक्ष अनुसार प्रविधियुक्त बनाउने, विद्यार्थीले कुन प्रविधि प्रयोग गर्दा छिटो क्याच (स्मरण) गर्न सक्छन, सजिलै अध्ययन गर्न सक्छन, कसरी शिक्षकले पढाएको सहजै ग्रहण गर्न सक्छन भन्ने कुरामा छलफल भएको छ । हामीले पालिकास्तरमा पनि प्रधानाध्यापक र अन्य केही शिक्षकहरुको उपस्थिति गराएर ट्रेनिङ चलायौँ, त्यसले केही कुरा त हल गऱ्यो, तर यसले मात्र नभई शिक्षकहरुले सिकाईमा चाहिँ केहि परिमार्जन गर्दैपर्छ । अब चाहिँ शिक्षकहरुले नयाँ ढङगले सिकाउने प्रयास गर्नुभएन भने हामीले सोचेजस्तो अपेक्षा आउन सक्दैन् । 

    ४- आर्थिक विकास क्षेत्रमा के गर्दै हुनुहुन्छ ? 

    पर्यटन क्षेत्रमा केहि सोचेका छौं । रेड सोइल पार्क (रातोमाटो बगैंचा) बाट खुग्रीको मन्दिरसँग झोलुङ्गे पुलको माध्यमबाट जोडने प्रयास गरिरहेका छौं । यसले गर्दा खुंग्री मन्दिर दर्शन गर्न र रेड सोइल पार्क (रातोमाटो बगैचा) सम्म पर्यटकहरु चहलपहल बनाउन सकिने सम्भावना छ । घोडागाउँको माथिल्लो क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्र र तल्लो भुभागलाई तरकारी खेतीको लागि मोडेलको रुपमा अहिले बजेट बिनियोजन गरिएको छ । उत्पादन क्षेत्रतिर जनताको चासो कम भएको छ । हामीले सबै बाहिरबाट आयातित बस्तुहरु सहजै रुपमा गाउँमा आउने भएकाले नागरिकको चासो कम भएको हो । अभावले उत्पादन गर्न सिकाउछ । तर पछिल्लो समय सबै बाहिरबाट आउने हुनाले चासो चाहिँ कम छ, यसलाई आर्कषित कार्यक्रम बनाएर गर्न सकिन्छ । गाउँमा सिंचाईको पनि सुविधा छ । खानेपानीको काम पनि यो आर्थिक वर्षमा सक्छौं । 

    ५-हजुर गाउँपालिकाको प्रवक्ता पनि हुनुहुन्छ समग्र गाउँपालिकाको विकास निर्माणमा कसरी अगाडी बढिरहनु भएको छ ? 

    गाउँपालिकाको हकमा हामी निर्वाचित भएर आएपछि पुरानो ठेक्का लागेको दायित्व भुक्तानी गरिरहेको छौं । त्यसकारण पनि हामी निर्वाचित भएपछि वडाहरुमा भनेजस्तो बजेट आउन सकेको छैन् र मोडेल खालको विकास गरौँ भन्नेमा अर्थले नै साथ दिएको छैन । अर्को कुरा हामी सामाजिक क्षेत्रमा निर्वाचनको समयमा पनि भनेका थियौ, सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिकाको केन्द्र जानुपर्ने समस्याको हल गरेका छौ । अहिले प्रत्येक वडा वडामा हामिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं ।


    तेस्रो आँखा