• ट्रेण्डिङ्ग :
आरोहण पर्खाइमा ५२ देशका आरोही

आरोहण पर्खाइमा ५२ देशका आरोही


  • 2.8K
    SHARES
    • भाद्र ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    आरोहण पर्खाइमा ५२ देशका आरोही

    यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् ।

    images

    पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२ देशका ३२९ जनाले अनुमति लिएका हुन् । शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि विभागबाट हालसम्म ३२ समूहका २४६ जना पुरुष र ३२ जना महिलाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये मनासलु मात्रै २५ समूहका २९० जनाले अनुमति लिएका छन् ।

     पुथा हिउँचुली आरोहण गर्न सात जना, अन्नपूर्ण चौथोमा पाँच जना, ठकर गो इस्टमा चार जना, धौलागिरि पहिलोमा १४ जना, फुङ्गीमा पाँच जना र कुम्भकर्ण हिमाल आरोहण गर्न दुई जना आरोहीले अनुमति लिएका हुन् । आरोहण अनुमतिबापत विभागले तीन करोड ७४ लाख ४३ हजार ९०५​ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको बताए  ।

    हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट ५७, अमेरिकाबाट ३५, रसियाबाट ३०, बेलायतबाट २३, जापानबाट २३, चेक रिपब्लिकबाट १४, जर्मनीबाट १२ र काजाकिस्तानबाट १० जना आरोही रहेका छन् ।

    मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा गत वर्ष भदौ ३१ गते पहिलो आरोहण भएको थियो । किलर माउन्टेनको उपमा पाएको मनासलु आरोहणलाई सगरमाथा आरोहण गर्न जानुअघिका रूपमा लिइन्छ । शरद ऋतुलाई मनासलु आरोहणका लागि उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि बाटो बनाउने काम (रोप फिक्सिङ) को जिम्मेवारी पाएको सेभेन समिट ट्रेक कम्पनीले तेस्रो आधार शिविरसम्म बाटो बनाइसकेको विभागले जनाएको छ । यसैबिच सरकारले दसैँअघि नै आरोहणयोग्य नयाँ ५७ वटा हिमाल खुला गर्ने तयारी गरेको छ । हाल नेपालमा ४०१ हिमाल आरोहणका लागि खुला रहेका छन् । तीमध्ये २७ वटा हिमालको आरोहण अनुमति नेपाल पर्वतारोहण सङ्घले दिँदै आएको छ भने बाँकी हिमालको आरोहण अनुमति विभागले दिँदै आएको छ । 

    विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।  गोरखापत्र दैनिकमा समाचार छ ।


    तेस्रो आँखा