दसैँ तिमी फेरी आउनु
माल चरीको लाम लिएर आउनु
रातो कमेराको पछ्यौरा ओडेर
रातो टीका र जमराको सलाम लिएर आउनु ।
दसैँ तिमी फेरी आउनु
चुहिने छानो टाल्न गएको छोरा लिएर आउनु
निर्लज्ज, निवस्त्र खुलेयाम लुटेको घडीको दाम लिएर आउनु
भोकै भुड्की भरेर राखेको सहकारीको ऋण दिएर आउनु ।
दसैँ तिमी फेरी आउनु
लिङ्गे पिङमा चचहुइ चचहुइ रमाएर आउनु
खाली खुट्टा दरबार छिरेकाहरुले जतिको दौलत कमाएर आउनु
देश बेचुवालाई हैन विहान बेलुका मुस्किलले छाक टार्नेहरुको कान समाएर आउनु ।
दसैँ तिमी फेरी आउनु
चरचर चिरिएको मेरो छाति सिएर आउनु
गिरीबन्धुको चिया पिएर आउनु
खोरैबाट हराएका बाख्रा गोठालालाई दिएर आउनु ।
दसैँ तिमी फेरी आउनु
तिम्रो, उसको र मेरो प्रेम र सम्बन्ध बढाएर आउनु
केही गर्छु भन्नेहरुलाई पाताकसी लडाएर आउनु
नेपालीलाई भुटानी बनाइ अमेरिका पठाएर आउनु ।
दसैँ तिमी फेरी आउनु
मेरो बालापनको याद बोकेर आउनु
खोल्दा खोल्दैका हजारौं फाइल रोकेर आउनु
काण्डै काण्डको शृङ्खलामा सुमार्गीलाई छोपेर आउनु ।
दसैँ तिमी फेरी आउनु
पहिरोले पुरिएको मेरो कथा पढेर आउनु
म चुर्लुम्म डुबेको बेला तिमी चिलगाडी चढेर आउनु
शुभकामना तिमीलाई अभावमा म थलिएको बेला सधैं महंगी बढेर आउनु
दसैँ तिमी फेरी आउनु ।
लोक राज डाँगी
