रमाउला हामी दुई साल पछि खुशी पालेर बस
थिचेर राख प्यास एक छिन त हो इज्जत नफालेर बस
पिएर जालान भमराले रस प्यारी जोवन सम्हालेर बस
म छिट्टै फर्कि आउछु प्यारी घर सम्हालेर बस ॥
घामको ताप, ऋणको चाप र प्रदेशको बास काटेकै छु तिमी दियो बालेर बस
दुधको भारा र रगतको मुल्य चुकाउन पाईन तिमी आमा र बा पालेर बस
चुहिने घरको छानो फेर्नछ सानु धन सम्हालेर बस
म छिट्टै फर्कि आउछु प्यारी सिन्दुर र थर सम्हालेर बस ॥
चुकाई ऋण फुकाई खेत फाटेको चोली टालेर बस
फूल भै जोवन जोडौंला माला, लाला र बाला सम्हालेर बस
याद तिम्रो साथ शिरानी एक घुट्को पानी दुई दाना अन्न पेटमा हालेर बस
छिट्टै फर्कि आउछु प्यारी रहर सम्हालेर बस ॥
भरौला रङ जिवनको सपना झन संगालेर बस
न सुकोस कोपिला मायाको निशानी छातीमा सघन चित्र अंगालेर बस
अभाव जे सुकैको होस प्यारी तन सम्हालेर बस
म छिट्टै फर्कि आउछु प्यारी मन सम्हालेर बस ॥
लोक राज डाँगी
