कैलाली २३ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नु भएको छ ।
आज गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अनुगमनका क्रममा उहाँले भन्नुभयो, ‘विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दै जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।’
उहाँले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रक्रिया रहेको बताउनु भयो । उहाँले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताउनुभयो । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उहाँले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले गेटा अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल ५० शय्याको अस्पताल सञ्चालनमा छ ।
