काठमाडौं, २६ फागुन। साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’ लाई फिल्मको रुपमा हेर्न पाइने भएको छ। कारो फिल्म्सले पुस्तकको सर्वाधिक खरिद गर्दै यसमाथि फिल्म बनाउन लागेको हाे ।
फिल्म बनाउने विषयमा कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच बुधबार सर्वाधिकार खरिदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। फिल्मको पटकथा स्वयं साहित्कार पाण्डेले नै लेख्ने भएका छन्।
इन्टरनेट कम्पनी क्लासिक टेकको सहायक संस्था कारो फिल्म्सले यही फिल्ममार्फत निर्माण गर्न लागेको हो। कारो फिल्म्सले आगामी दिनमा वेब सिरिज निर्माणलाई पनि अघि बढाउने जनाएको छ।
आगामी दिनमा नेपाली फिल्मलाई थप नयाँ उचाइमा लैजाने उद्देश्य रहेको पनि खरेलले बताएकी छन्। यसअघि पाण्डेद्वारा लिखित दुई उपन्यास ‘उलार’ र ‘सल्लीपिर’ माथि पनि फिल्म बनाउने कुरा भएको भए पनि निर्माण कार्य अगाडी बढ्न सकेको छैन।
