सम्मानित व्यक्तित्व मेघराज तिमसिना सरका लेख रचना, कविता जीवनी केही खोजमूलक आलेखहरु यत्रतत्रबाट छापामा आउथे र पढिन्थे पनि । वहाँले वि.सं. २०१८ सालदेखि नै दमकलाई कर्मथलो बनाई शिक्षण पेशाबाट पुन्य कर्मको शुरुवात गर्नुभएको हो ।
नयाँ राष्ट्रिय शिक्षा योजना लागू हुने क्रममा राजनैतिक अभियोग लागेर शिक्षण पेशा खोसिएकोले त्यसबेला दमकमा हालको शंखधर साख्वा चोकमै पुस्तक पसल खोलेर पत्र पत्रिका बेच्न थाल्नुभयो । जोखिम मोलेर नै वाराणसी (बनारस)देखिका कांगे्रस र कम्युनिष्ट विशेषको राजनैतिक परिवेशका पत्र–पत्रिका आफनै स्वविवेकले जसरी तसरी सम्पर्कमा पुर्याउने वहाँ एक निर्भिक व्यक्तित्व हुनुहुन्छ ।
साहित्यिक, सामाजिक, धार्मिक, संघ/संस्थामा आवद्धता–यस्ता वहु आयामहरु समेटेर यस भेगलाई योगदान दिइरहनु भएका मेघराज तिम्सिनाको लेखन पक्षको चर्चा गर्न लागेको छु । ‘पूर्व स्मृतिमा दमक’ कृतिको रुपमा पहिलो प्रकाशित पुस्तक पढ्ने अवसर प्राप्त भएकाले समीक्षा लेख्न आँट गरेर नै शुरु गरेको छु । पुस्तक हातमा राखिदिनुहुने कृतिकार मेघराज सरप्रति आभार व्यक्त गर्दछु ।
वि.सं. २०१८ साल दमकलाई भिषण अग्नी काण्डकोे खरानीले ढाकेको वर्ष थियो । त्यो अग्निकाण्डदेखि दमक बजारको परिस्थिति, स्कूलको हविगत, मौजा आदिका सिमा क्षेत्र जग्गा नापी, बनफँडानी जस्ता तत्कालीन विषयहरुलाई आफ्ना खारिएका अनुभवले वर्तमानमा उभ्याउन सफल देखिनु भएको छ । उहाँसँगको प्रत्यक्ष र लेखकीय दुबैबाट सुनेको र पढिएको दमक र आसपासका ढुकुरपानी र ताराबारीलाईसमेत जोडेर समग्रतामा हेर्दा त्यसबेला मेट्रिक पास (मेटुकुलेट) तीनजना मात्र थिए रे । र उहाँ पनि पछि जोडिनु भएछ । त्यसरी दमकसँग नाता सम्बन्ध जोडिदै गएर लगभग ५९ वर्षपछि स्मिृति कृति रचना गरी भावी पुस्ता वा सन्ततिका लागि ऐतिहासिक धरोहरसहितको दस्ताबेज हुने नै छ । र, यो उहाँको प्रयासको प्रशंसा नगरी रहन सकिन्न , उहाँ प्रशंसाको हकदार हुुनुुहुन्छ । धन्य, सर ।
पुस्तकको आवरण पृष्ठको शिरमा राता अक्षरले पूर्व स्मृतिमा दमक लेखिएको विचमा दमकको हाटखोला र हिन्दूका आरध्य देव पशुपतिनाथको मन्दिर दाँया रतुवा खोला किनार र बाँयातिर सन्तवीर लामाको धानमिल, दमक बजारकै मेनलाइन नगरपालिका रोडको छेउमै रहेको सिद्रा पसलसहितको फोटा राखिएका र अन्त्यमा मेघराज तिमसिना लेखिएको र पछाडि पृष्ठको शिरानमा माथि लेखकको नाम, जन्म, आमाबाको नाम, जन्मस्थान, शैक्षिक योग्यता, स्थाई बसोबास, सम्पर्क नं. समेत राखी आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कार क्रमागत रुपमा राखेर अन्त्यमा धर्मपत्नीको नाम, जन्म, आमाबासहित संलग्न संस्थाहरु उल्लेख गरिएको छ ।
पुस्तकका भौतिक एवम् शैक्षिक पक्षको सन्दर्भमा पुस्तक चिटिक्कको र भित्री पाना स्तरीय लाग्छन् भने अक्षरहरु पनि स्पस्टसँग पढ्न सक्ने गरिकै छन् । पुस्तक मुद्रक लक्ष्मी अपसेट प्रेश दमक ८ झापाले १२४ पृष्ठमा छापी तयार गरेको पुस्तको मूल्य रु. २५० तोकिएको छ । र, समर्पणमा आफ्ना माता पिताको र साना बुबा (काका बा) को फोटा राखी धन्य बन्नुभएको छ । असल सन्तानले गर्ने धर्म र कर्म दुबै हो ।
एसएलसी पास गरेका अल्लारे उमेरमा दमकसँग वि.सं. २०१८ सालमा नाता गाँस्न आउनु, शिक्षण पेशामा लाग्नु, पेशा खोसिनु, पुस्तक पसल खोल्नु जस्ता काम व्यवहारका आरोह अवरोहका राप र तापले खारिएका सर्जक साहित्यानुरागी हुनाले पूर्व स्मृतिमा दमक नामक कृतिमा आफू आउनुभन्दा अगाडि अर्थात २०१८ साल भन्दा अघिका विवरण त्यस ताकाका बूढापाका, अग्रज, बुद्धिजीवीसँगको सामिप्यता एवम् संगतबाट प्राप्त भएका र त्यसदेखि यताका आफ्नै भोगाइका अनुभवका आधारमा आजका दिनमा दुर्लभ हुने दमकका कायाकहिरनलाई पूर्ण रुपमा संगालेर कृतिको रुप दिई दमकएलिका लागि अनुपम उपहार स्वरुप संस्मरणात्मक लेख, निवन्ध रचनाका आधारले चार खण्डमा स्थानपरक स्मरण,निजानात्मक संस्मरण, व्यक्तिपरक संस्मरण र अनुसन्धानात्म खोज विवरणमा छुट्याई दस ओटा शीर्षकले शु–सोभित एवम् पठनीय कृति हो । समग्रमा उदरार्धमा दमकसँग साइनो गाँस्नेहरुका लागि महत्वपूर्ण ठहर्ने कृतिका सर्जकसँग पुस्तक आद्योपान्त पढेर मात्र होइन, धेरै अगाडिदेखि उहाँसँगको सामिप्यमा रहनुभएका सुविज्ञ ख्याति प्राप्त बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई सरले धेरै अघिदेखि पिछा लाग्दा लाग्दा यो कृति तयार भएको हो (सर्जकको भनाई) ।
पुस्तकको भूमिका लेखनमा दमकेली साहित्यानुरागीहरु साहित्यिक संस्थाहरु , पत्र–पत्रिकाको प्रकाशन आदिलाई पक्रदै सर्लक्कसँग सर्जकको चिनारी सहितको प्रशंसामा ग्रन्थले मेराति लाई भन्दा पनि दमकलाई चिनाउने छ, यहि उद्गार नै कृतिको स्पन्दन हो भन्ने लाग्छ । दमकलाई चिनाउन प्रयत्न गर्ने श्रष्टा दमककै एक निधि हुनुहुन्छ भने दमकका तत्कालिक साहित्यिक श्रष्टा तथा सर्जकहरु सामाजिक अगुवा, बुद्धिजीवीहरु आदिबासी, आदिका परिवेशलाई साहित्यिक सास्कृतिक एबम् प्राज्ञिक दृष्टीले कृतिको गरिमा दर्साईदिनु भएकोमा खुसीको अनुभूति हुन्छ । यो कृतिसँगको यर्थाथ प्रतिको भावनात्मक स्पन्दन हो ।
दमकको सन्दर्भमा पूर्व स्मृति कृतिले इतिहासलाई आंशिक रुपले भएपनि दमकलाई राम्ररी चिनाएको छ र साथै चर्चित एवं सुविज्ञ साहित्यानुरागी साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई ज्यूको प्रधान सम्पादकत्वमा प्रकाशित झापा दिग्दर्शन ग्रन्थमा दमक नगरपालिकाका बारेमा विभिन्न सन्दर्भ सामग्री अध्ययन गरी गोपाल प्रसाद भण्डारी ज्यूले तयार गर्नुभएको दमक नगरपालिका शीर्षकले दमकको चिनारीलाई पूर्णता दिन पुलको भूमिका निर्वाह गरेकाले दमकको ऐतिहासिक रुपरेखा तयार भएको छ , श्रष्टाको प्रशंसा नगरि रहन सकिन्न । धन्य ।
दमकका बारेमा अतितदेखि झण्डै बर्तमान सम्मको बोधले निखारिएका जानकार, लगनशील, सर्जककै भनाइ र लेखाइमा प्रा.डा. गोविन्दराज सरको प्रेरक भनाइ प्रशंग “तपाई जस्तो लेखकले कुनै कृति नछपाई मर्नु हुन्न, जसरी पनि एउटा पुस्तक त प्रकाशनमा ल्याउनै पर्छ ।” किन? जाँगर नचलाउनु भएको? भन्दै बारम्बार घचघचाउँदा यो कृति तैयार भएकोले उहाँले गरेको उपकारको प्रशंसा गर्न चुक्नु भएको छैन । धन्य । मेराति सर ।
पुस्तक उध्ययन गर्ने बुझ्ने अनुभव गर्ने, समीक्षा लेख्ने आ–आफ्नै क्षमता र योग्यतामा भरपर्ने आ–आफ्नै दृश्टिकोण र बुझाई अबश्य हुन्छ नै । तथापि विषयवस्तुको यर्थाथ सार, चुरो र मर्मसँग के कति गहिराइ भित्र छिर्न सकिन्छ र यो गर्न सितिमिती कहाँ सकिन्दो रहेछ नै । असलमा विषय र प्रशंगभित्र कि बाहिर, त्यो त पाठकहरुको विद्वताले पर्गेलने कलामा पनि भर पर्दछ भन्ने पनि लाग्दछ । जे होस जे जसरी भएपनि कृतिको समीक्षात्मक ढाँचामा शीर्षकै पिच्छेका रचनाको कसिमा समीक्षा लेख्ने जमर्को मात्र हो ।
स्थानपरक स्मरण : दमकको ऐतिहासिक झलक
दमकको नाम कसरी रहन गयो ? भन्ने सन्दर्भमा थलथले जमिन वा भांस हुन जमिन भएकोले या दहहरु (होली) भएकाले यस्तै उस्तै अपभ्रंश भई दमक भएको हुन सक्दछ अनि पुराना बूढापाकाको भनाई वि.सं. १९९० सालको भुकम्पका कारण भांस हरायो, धेरै पछि २०४५ को भूकम्पको कारणले त निकै परिवर्तन गर्यो भांसपूरै हराएको उल्लेख गरिएको छ ।
लगभग ३०० वर्ष अघि देखि यहाँका पुराना आदिवासीहरु जीविकोपार्जन गर्दै आएका र समय अन्तरालमा पछि पहाड इलाम, पाँचथर एवं धनकुटातिर बाट गोठ पाल्न, आराकाट्न भनी तराई झरेका मानिसका कारण दमकमा बस्ति बढेको र आदिवासीहरुका रुपमा दमक विशेषका गाउँहरु, जम्मुझार, अर्नाखाडी, दापगाछि, ताराबारी, चटकपाडा, दोधारे र खरखरेका मुख्य आदिबासी धिमाल र कुमाल थिएभने अन्यमा राजवंशी, ताजपुरिया, कोचे, मेचेको बसोबास सँगसँगै छिटपुट रुपमा अन्य जातजातिहरु पनि थपिन्दै आएका हुन भने दमकको पटक पटक सिमा हेरफेर गरिएको, औलो उन्मूलन पछि बस्ती विस्तारसँगै वि.संं. १९९४ तिर जग्गा नापि भएको , सामाजिक चेतनाको विकास हुन सकेको थिएन ।
वि.सं. २०५८ अघिका अतितमुखी सन्दर्भहरुलाई तत्कालिक दमकका सामाजिक, सास्कृतिक, साहित्यिक, शैक्षिक , राजनैतिक, सरकारी तथा गैर सरकारी संघसंस्था,धर्म संस्कृति, मठ, मन्दिरका साथै दमका आदिबासी धिमाल र कुमाल दुई जातिको संक्षिप्त रुपमै भएपनि तिनको परिचय उल्लेख गरिएको छ ।
हिमालय माध्यमिक बिद्यालय(हिमाबि) को ऐतिहासिक रुपरेखामा दमककै सिङ्गो शैक्षिक इतिहासको खोज तलासमा तिनताक कृतिकार स्वयम शिक्षण पेशामा आबद्ध रहनुभएकोले दमकसँगको जीवनका ती अनमोल समयका दिनहरुमा आरोह अबरोहमै शिक्षण खोसिएपछि शैक्षिक एवं सामाजिक, साहित्यिक, संघ संस्थमा आवद्ध रहि व्यवहारले खारिएका कृतिकारले दमक ग्राम पञ्चायतदेखिका नै विविध पक्षको वर्णनसँगै शैक्षिक मूहानको उल्लेख गरि दमकको चिनारी गराउने उहाँको प्रयत्नको स्वच्छ हृदयले प्रशंसा सहित नमन । यसको असली हकदार बन्नु भएकोमा धन्य
निजात्मक संस्मरण : मन बहकिएका बेला
कृतिकारलाई उहाँकै सानाबाबु(काकाबा) ले दार्जेलिङ लगेर पढाउदै गर्दा दशैंमा घर आएपछि मन बहकिएर हिडेको अल्लारे ठिटोले यस शीर्षकमा तिन ताकानै शिक्षाको महत्व बुझेका प्राज्ञ डिल्लीराम तिमसिनादेखि सुरु गरेर आफ्नो पढाइ लेखाइको कहिरन लेख्दै कक्षा आठ उत्तिर्ण गरेको ठिटो मन बहकिएर घर छाडी सामलतुमल र आमाले जतनले खोपामा राखेका रुपैयाँ लिई निरुदेश्य रुपले रन्थनिन्दै फिदिमको पल्लो टार लालिखर्क नाम्दु खोलाको तिरैतिर सुकेपोखरी साखेजुङको ओरालो पुवाखोला तोरीबारी चुरे घाँटी हुदै इलाम दानाबारी जेमद्वार विरिङ , ताइटिङ , खुदुनाबारी हुदै शनिश्चरे बजार चापागाईँ थरका गाउँलेहरुको बाहुनवडाँगीको घर , नक्सानबाढी र घैलाडुब्बा र रेल आसाम मावला जाने शुर धुलाबारी खनालको घर, औलो ज्वरोले थलिनु र निको भएपछि दमकको ससुराली घर परिवेशलाई गन्तव्यमा पुर्र्याएर मास्टरीको जागिर , श्रीमति लिई पहाड घर पुगे पश्चात पुनः दमकमै रहेको यथार्थतालाई खोपाको पैसा, सूतिबिडी आदिको लत इमान्दारीका साथ उल्लेख गर्नुपनि आँटकै काम हो ठानिएको छ ।
रमाइलो झोडा २०२८
रमाइलो झोडा २०२८ सम्झन्दा लेखकलाई पनि जग्गा जोड्ने र सम्पन्न हुने रहरले गर्दा मोरङको कानेपोखरी रमाइलो झोडा लाग्ने सुरमा, केही साथीहरुसँगको साथमा झोडा पसेको र दाहिने गोडाको घुँडामाथि गोली लागेको र खबरदारीले पानी पिउन मनाह गरेको र बेहोस भएको, उही खबरदारीले उठाएको , जसोदसो राजमार्गमा पुगेको , डाइबरले चिनेर दमक चोकमा छाडिदिएको, बल्लतल्ल घर पुगेको , उपचारको क्रम, पुलिसको खोजाई, थानेदारको सहयोग आदि कहिरनले मन सिरिङ्ग हुन्छ नै । पञ्चायती कालको चित्रण र २०४६ पछिको बहुदलबादीले ति रमाइलो झोडामा मारिएका र फालिएका जनताको खोजखबर नै गरेनन् र रमाइलो झोडा झोडै रहेन । आखिर बस्ती बसेको छ भन्दै गुनासो पोख्नुभएको छ ।
व्यक्तिपरक संस्मरण : एक चेपाली वंशवृक्ष
एक चेपाली तिमसिनाहरुमा ताप्लेजुङकोे भाषा पाठशाला पढ्न गएकै अवस्थामा त्रिलोचनको मृतु भएकाले तिमसिनाहरुले पण्डित हुनु हुदैन भन्ने अन्धविश्वासले जरो गाडेता पनि लेखकका सानो बुबा डिल्लीरामले १५ वर्षको उमेरमा शिक्षा आर्जन गर्ने उद्देश्यले घर छाडेर हिडेकाले उहाँपछि बहुभाषाका ज्ञाता ठूला विद्वान कहलिनुभई शैक्षिक धरोहरका रुपमा रहनुभएकाले प्रशंसा गरिएको छ । उहाँ साना ठूलाको भेदभाव नगर्ने, निष्पक्ष र सामाजिक व्यक्तित्वका रुपमा चिनिनु भएको समाजको विकास गर्न खातिर आसामतिर पसेर नेपाली बस्तीमा शिक्षाको ज्योति फैलाई पुस्तकालय खोली सबैका लागि शिक्षा अनिवार्य हुनुपर्छ भन्ने भावनाले युक्त रहेर सामाजिक सुधारका साथै तेह्रथुम, खेलपुर, दार्जेलिङ, हिन्दु विद्यालय जहाँ रहे तापनि साहित्य साधनामा तल्लिन झण्डै २ दर्जन कृतिका सर्जका डा. डिल्लीराम तिमसिना ज्यूको सन्दर्भमा लेखिएका सन्दर्भहरु ऐतिहासिक एवं अत्यन्तै महत्वपूर्ण ठहरिन्छ ।
सुवेदार डम्बर बहादुर अधिकारी
समाजसेवी सुवेदार डम्बर बहादुर अधिकारी सामाजिक, शैक्षिकm धार्मिक , राजनैतिक क्षेत्रमा समर्पित , लगनशील, विनयशील, उद्योगी, जाँगरिला, दाता जसले २०३२ मा धनकुटाको मारेकटरे छाडि दमकलाई नै बढी कर्मक्षेत्र ठानेर दमककै उन्नयन र प्रगतिका लागि सदा तत्पर भई योगदान पुर्याउने सु. डम्बर बहादुरको संक्षिप्त जीवनी समावेश गरि उहाँको योगदानको कदर दमकबासीको हैसियतले गर्नुभएकोमा पनि धन्य ।
पं. काशीनाथ कट्टेल
एक पराकर्मी सामाजिक व्यक्तित्व पं. काशीनाथ कट्टेल कतिपनि बिचलित नभई सामाजिक , धार्मिक रुपले सम्मानजनक व्यवहारका धनी सामाजिक, बैदिक जागरणका प्रणेता सनातन धर्म सेवाका अगुवा व्यक्तित्व एक अनुकरणीय आदर्शका कर्मयोगी अभिभावक पं. काशीनाथ कट्टेल ज्यूको संक्षिप्त जीवनी समेतले पुस्तकको गरिमा बढेको महशुस हुन्छ ।
अुनसन्धानात्मक खोजी विवरण :तिमसिना वंशावली,वंशदपर्णको सन्दर्भ, कुमाल जातिको परिचय
पूर्वमा तिमसिना वंश खोजबिनको प्रयास : आफ्ना पूर्खा पूर्वजहरुको खोज तलासमा लागि पर्दा वंशजको थातथलोदेखि यत्रतत्र छरिएर देश विदेशमा रहेका तिमसिना बन्धुहरुको विद्वत डा. डिल्लीराम तिमसिना ज्यूको पहलकदमीबाट खोजबिनको कार्य थालनी भएको र वंश दर्पणको सन्दर्भलाई उठान गरिएकोले तिमसिना बन्धु बान्धवमा उत्साह गौरवको संकेत गरिएको पाइन्छ । यो उदाहरणीय कार्यको प्रशंसा गर्ने पर्दछ ।
कुमाल जातिको परिचयः यस जातिको परिचयको सन्दर्भलाई सर्जकले निकै मिहेनत गर्नुभई समाजशास्त्रीय एवं मानव शास्त्रीय आधारमा विविध सन्दर्भ सामग्रीहरुको अध्ययन, स्थलगत अनुसन्धान र सोधपुछबाट पूर्वजका थापथलोदेखि देशका विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेको कुमाल जातिका रहनसहन, संस्कार ,धर्म, थर आदिकोे र संक्षिप्तमै भएता पनि धिमाल जाति पछिका आदीबासीका रुपमा दमकका कुमालहरुको समावेश हुनुले पनि पुस्तकले महत्व पाएको छ ।
पुस्तकको भूमिका लेखनमा दमकको पृष्ठभूमिमा ”बेलेको एउटा बत्तीले“ सर्जकलाई उज्यालो फाँटमा पुर्याएको छ र लेखकका आफ्ना कुराले पुस्तकका सन्दर्भहरुलाई छोटै पाराले भएपनि प्रस्टाइएको देखिन्छ । समावेश गरिएका शीर्षकहरुले आ–आफ्नो महत्व उजागर गरेकै अनुभूति हुन्छ । र, अन्त्यमा क्रान्तिकारी विचारधाराका सक्रिय चूडामणि बराल सर शीर्षकको लेखनको भने अगाडि कुनै चर्चा पाइएन । यदि शीर्षक सूचीमा पनि राखिएको भए राम्रो हुन्थ्यो । तथापि बराल सरको सन्दर्भले राजनीतिक परिवेशलाई थोरै भएपनि समेटिएकोमा धन्य ।
अन्त्यमा श्रष्टा मघेराज तिमसिना सरको भर्खरै मात्र प्रकाशित कविता संग्रह दिग्भ्रमको लोकार्पण भएको छ । सरको दोस्रो कृति छिटै प्रकाशित भएकोमा हार्दिक बधाई एवं अजस्र शुभकामना , लेखनी कार्यले निरन्तरता पाइरहोस हार्दिक नमन । धन्य ।
नारायण प्रसाद शर्मा फुयाल
