• ट्रेण्डिङ्ग :
तिम्रो अदभूत कला प्रदर्शन गर्ने मैदान भयो मेरो मन

तिम्रो अदभूत कला प्रदर्शन गर्ने मैदान भयो मेरो मन


  • 27.5K
    SHARES
    • फाल्गुण २८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 42.4K Views

    तिम्रो अदभूत कला प्रदर्शन गर्ने  मैदान भयो मेरो मन

    प्रेम प्राप्ति हो। त्याग हो। खुसी हो। विश्वास हो। तर, प्रेम के हो। नेपाली बृहत शब्दकोषमा प्रेमका दुई वटा परिभाषा छन्। पहिलो ‘कुनै विषय वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग।’ दोस्रो ‘रूप गुण स्वभाव सामीप्य अथवा कामवासना आदिका कारणले स्त्रीपुरुषमा परस्पर हुने अनुराग; प्यार; प्रीति।’

    images

    मैले दोस्रो प्रकारको प्रेममा विश्वास गरिन्। म जहिले पनि कामवासनाका कारण प्रेम हुन्छ भन्ने पक्षमा छैन। थिइन र हुँदैन पनि। पहिलो परिभाषाले भनेझैँ तिम्रा केही स्वभाव, केही गुणप्रति मेरो मनमा अनुराग उत्पन्न भएको हो। 

    सायद माया र प्रेमका कुरा गर्न मदन र मुनालाई मानिसले उदाहरण बनाउँछन्। भारतमा रहेको ताजमहल पनि प्रेमको प्रतिक हो। तर, मैले प्राप्ति मात्र प्रेम हो भन्ने गरेको छैन। प्रेम त्याग पनि हो। जहाँ त्याग हुँदैन। त्यहाँ आकर्षण हुन्छ। जसले प्राप्तिका लागि मात्र प्रेम गरेको हुन्छ। त्यो नाटक हो । यो मैले आफैलाई सम्झाउन बनाएको परिभाषा पनि हो। 

    भाग्यलाई पनि मैले धेरै पटक दोष दिएको छु। तिमी मेरो भाग्यमै थिएनौ भन्दा पनि यो मन बुझ्दैन। आफैले बनाएका परिभाषा र अनेकौं बाहानाका बाबजुद पनि यो मनले अहिलेसम्म तिमीलाई प्रेम गरिरहेका छु भन्छ। प्राप्ति, मिठो सम्बन्ध, खुसी, भरोसा, विश्वास जे जति कुरा गरे पनि मेरो मनले तिमीबाट केही पाए जस्तो मान्दैन। 

    प्रेममा एकअर्का प्रति विश्वास भएन भने धेरै समय टिक्न सक्दैन । प्रेममा सफल हुनलाई भाग्य पनि हुनुपर्छ भन्छन् सायद मेरो भाग्यमा तिमी न भएको हुनुपर्छ। न मलाई तिमी प्रति कुनै गुनासो छ न गुमाउनुमा कुनै पश्चताप । कुनै चिज हाम्रो लागि बनेकै हुँदैन र हामी त्यो चिज पाउन धेरै कोसिस गर्छौ र नपाउदा धेरै दुःखी हुने गर्छौ। म तिमी सँग हुँदा खुसी थिएँ गयौ खुसी नै छु।

    तर, जीवनमा धेरै कुराहरु तिमीबाट सिक्ने अवसर पाएँ मेरो लागि त्यो पनि ठुलो कुरा हो । यहाँ सित्तैमा कसैले केही सिकाएर जादैनन्। सम्बन्ध बचाउनको लागि केहि प्रयत्न अवश्य गरे हुँला । तिम्रो सामु धेरै पटक झुके हुँला । मैले तिमीलाई विश्वास दिलाउनै सकेन तर के झुट मै  विश्वास टुट्छ भने, अनायासै सम्बन्ध छुट्छ भने, भो चाहिँदैन माया कसैको मलाई, अब जलाइ दिन्छु तिम्रो हरेक  यादहरु कोरेर सलाई। 

    हुनत प्रेमले  हामीलाई ठूलो भिडमा पनि एक्लो भएको आभाष गराउँदो रहेछ। कहिले कमजोर बनाईदिँदो रहेछ त कहिले निडर पनि। यहाँ प्रेमको परिभाषा सबैले फरकफरक तरिकाले दिँदा रहेछन। कसैले प्रेमले जिउन सिकाउँछ, हाँस्न सिकाउँछ, रमाउँन सिकाउँछ भन्छन्। कसैले प्रेमले पीडा दिन्छ, बेस्सरी रुवाउछ, मर्नु न बाच्नु गराउँछ भन्छन। मैले प्रेम  मै धोका पाएर पागलसम्म भएको  पनि देखेको छु। तर किन  मलाई प्रेमको परिभाषा नै फरक लाग्दैछ आजकाल किन यति धेरै बकवास लाग्दैछ यो प्रेम !

    किन यति झुट लाग्दैछ प्रेम ! किन भ्रम जस्तै लाग्दैछ मलाई  प्रेम ! के मैले गरेको प्रेम फरक थियो ? के  म नै फरक थिएँ त ? कि तिमी फरक थियौँ र ? अघिल्लो रातसम्म तिमी मेरै थियौँ रातारात कसरी तिमी  मेरो नहुन सक्छौं ? तिमीले बोलेका हजारौं कुराहरु सही होलान् तर के त्यो रात नै  झुट थियो त?  जात, पात धनी, गरिव, वर्णले यदि हाम्रो प्रेममा प्रभाव पारेको नै हो भने  के वर्षौसम्म मित्रता हुँदै प्रेमको उपनाम दिएको  हाम्रो सम्बन्धमा कसरी आँच  आयो ? तिमीलाई हेक्का हुनुपर्ने हाम्रो मित्रता पनि कुनै समय  उदाहरणीय नै थियो।

    किन तिमी सबै जानेर पनि अवोध बालिका जस्तै बन्ने कोसिस गर्यौ कसरी मनले दियो कहिले सोचेनौ बेला बेला म सँग घुर्कि लाउँदै अदृश्य भगवान् को नाम जब्दै कसम खाएका ति भगवान् साच्चै भईदिएको भए ? मनले गाँसेको सम्बन्धमा कुनै चिज खास हुदैन भने, प्रेमिल जोडीमा भरोसा र कुनै आस हुदैन भने, केलाई भन्छौ माया ! के लाई भन्छौ प्रेम ! प्रेमले त हामीलाई असल सम्बन्ध निभाउन सिकाउनु पर्ने। गल्तीमा पनि पटकपटक   अवसर दिलाउन सिकाउनुपर्ने ।

    मेरो मन त तिमीले तिमीमा भएको अतभुत कला प्रदर्शन गर्ने रंगमञ्च बनाएर गयौं ?  तिमीसँग गुनासो र कुनै पश्चताप नभएको म किन फेरि यिनै  कुराहरुमा अल्झिदैछु। मेरो त अब बाटो नै फरक छ गन्तव्य नै फरक भएपछि बाटो मोड्नु त मेरो धर्म हो। म जहाँ पुगौला जस्तो स्थितिमा पुगौला दोबाटो आएर छुट्टिएका हामी फेरि मुलबाटोमा कहिले भेटिने छैनौं। संयोग बस भेटिए एकअर्कालाई चिन्ने छैनौं बोल्ने पनि छैनौं  म त यहीँ चाहान्छु तिम्रो उज्वल भविष्यको कामना तिमी जहाँ छौ जस्तो छौ सधैं  खुसी नै रहनु मेरो अथक  प्रयासले सफल नभएको हाम्रो प्रेम पात्र बदलेर भएपनि तिमीले सफल बनाउनु।


    समिर ओली
    लेखकबाट थप