काठमाडौं, २९ फागुन। प्रकाश सपुतलाई के को ‘पिर’ प¥यो होला ? किन उनले ‘पिर’ बजारमा ल्याए होलान् ? यी प्रश्नको उत्तर भन्दा पहिला समाजिक सञ्जाल तर्फ आखाँ डुलाउँ। प्रकाश सपुतले बजारमा ल्याएको ‘पिर’ले उनलाई भन्दा बढी अरुलाई ‘पिर’ परिसक्यो। यहाँ जनतालाई झुटो बोलेर आफ्नो रोटी सेक्नेहरुलाई सबै भन्दा बढी ‘पिर’ परेको छ। ‘पिर’ पंक्तिकारलाई पनि नपरेको भने होइन। अझै भिडियोमा परिवर्तन मासु पसलका संचालको हातमा रहेको लेनिनको पुस्तक ‘राज्य र क्रान्ति’ राम्रोसँग अध्ययन गरेकाहरुलाई कति पिर परेको होला ?
समग्र ‘पिर’को कुरा गरौं। हरेकलाई आ–आफ्नै ‘पिर’। सामाजिक सञ्जाललाई खोलेर हेर्ने हो भने सबैका ‘पिर’ छरपस्ट भएका छन्। सबैले आ–आफ्नो तरिकाले ‘पिर’ व्यक्त गरेका छन्। अझै भनौं तत्कालीन जनयुद्धमा संलग्न भएकाहरुले त खरो तरिकाले ‘पिर’ व्यक्त गरेका छन्। जसले माओवादी छोडेर अलगै बसे उनीहरुका लागि वास्तविक गीत बनेको छ।
भिडियोमा हेर्दा मासु प्याक गर्ने पत्रिकाको शिर्षक देखेर अझ ‘पिर’ परेकाहरुले व्यक्त गर्न सकिरहेका छैनन् होला। सर्वहाराको लागि भनेर बन्दुक उठाएको पार्टीमा विवादित अर्बपतिको इन्ट्रिले नै पार्टीले कुन बाटो तय गरेको छ भनेर अनुमान लगाउन गाह्रो नपर्ला ?
कम्रेडहरुको नाम त के हो थाहा भएन। तर, जब भिडियोमा श्रीमानलाई श्रीमतीले आफ्नो दाइने कोखामा लागेको घाउको डोब देखाउँदै भन्छिन्, ‘देश र जनताका लागि भनेर गोली खाएको हैन, नापियो’ उनको भनाइले पनि माओवादीले जनयुद्ध हुँदा बोलेका कुरा र संसदीय व्यवस्थामा आएपछि गरेको व्यवहारको भिन्नता प्रष्ट हुन्छ। उनै पात्रको अर्को डाइलगले समाजमा परिवर्तन कथित भएको छ कि भन्ने प्रश्न पनि जन्माउँछ। उनले भन्छिन्, ‘न त तिमीलाई मेरा बा आमाले ज्वाई स्वीकार गरे, न त मैले छोरीलाई पेट भरी दुध चुसाउन पाएँ, न तिमीले पेटभरी भात खुवाउन पाउँछौं।’
माओवादीले जनयुद्ध गर्दाताका ठूला नेता तथा नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गीतले वास्तविकता बोलेको छ भन्दै गर्दा अहिले माओवादीमा भएकाहरुले प्रकाश सपुतलाई धम्की दिए। खुमलटारलाई सच्चिने अवसर भनेर धेरैले भनेका छन्। सामाजिक सञ्जाल नभएको भए ‘पिर’ले उत्पन्न गराएको पीडा कसले देख्थ्यो र कसले सुन्थ्यो र ? हामी जति देखाइन्थ्यो त्यति देख्थ्यौं जति सुनाइन्थ्यो त्यति सुन्थ्यौं।
सुरुमा त प्रकासको कुरा गरौं। प्रकाश भनेको उज्यालो हो। कसैलाई बताइरहनु नपर्ला। जहाँ अध्यारो हुन्छ त्यहाँ प्रकाश परेपछि सबै छर्लङ्ग देखिन्छ। राजनीतिक विश्लेषक भरत दाहालको शब्दलाई सापटी लिने हो भने कथित जनयुद्धमा प्रकाश परेको हो। यो प्रकाशमा ग्रहण लाग्छ कि भन्ने ‘पिर’ फेरी पंतिकारलाई परेको छ।
विशेष गरी भिडियोमा तीन जना पात्र छन्। बीचमा बसेर बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिको कुरा कुनै अर्को दिन गरौंला तर, अहिले तीन जना योद्दाहरु जो सँगै युद्ध लडे, एकै स्थानमा नेताको ज्यान बचाउन तीन जनाले नै आफूलाई ढाल बनाए आज तिनै तीन जना अलग अलग अवस्थामा छन्। गोली लागेका कतिपय योद्दाहरु विदेशमा छन्। कतिपय उच्च राष्ट्रवादी, राष्ट्रभक्ति हुँदा पनि सन्तानलाई देशको परिभाषा दिन सकिरहेको अवस्थामा छैनन्। भिडियोमा देखाएको अर्को पात्र हुन गोली लागेकी योद्दाले वेश्यावृत्ति अंगालेको।
पात्र भन्दा पनि प्रवृति महत्वपूर्ण हुन्छ। अहिले समाजको प्रवृत्ति, देशको वास्तविक अवस्था चित्रणको फ्यूजन हो उक्त भिडियो। पंतिकारलाई अर्को पनि ‘पिर’ परेको छ। त्यो ‘पिर’ नेपाली समाजलाई हामीले कलाका माध्यामबाट के दिँदै छौं। तिमी प्रकाश मात्र होइनौ, सपुत पनि हौ। नेपाली शब्दकोषका अनुसार सपुत भनेको, ‘वंश वा कुलको इज्जत चम्काउने सन्तान’। तिमी नेपाली आमाका सन्तान हौ। नेपालका कुल पनि हौ। तिमी राम्रो बानीबेहोर भएको छोरो पनि हौ। कलाकार र साहित्यकार समाजका ऐना मात्र होइनन्, मार्गदर्शक पनि हुन्। समाजको ऐनाका रुपमा मात्र साहित्य र कलालाई लिनु भनेको प्रतिगामी सोच हो। कला साहित्यले समाजलाई मार्ग निदेशन गरिरहेको कुरा बिर्सनु भएन।
जनयुद्ध लडेकाहरुका महिला योद्धाहरुका लागि गलत भएको दृष्य एउटा प्रवृत्ति हो। जनयुद्ध लडेकाहरुको हालत देखाउन गोली लागेको महिला कमरेडले काखेछोरी छोडेर विदेश जानु भन्दा ठूलो अर्थपूर्ण दृष्य अरु के छ ? अझै विदेशमा गएर बन्धक बनेको दृष्य, त्यसपछि नेताहरुको साहारा खोज्दाको दृष्य, जुन नेताका लागि गोली छातिमा थापेर बसेका छन् उनै नेताका गाडीले हिलो छ्यापेको दृष्य काफि छन्। हामीले सकारात्मक नजरले पनि समाजलाई हेर्न सक्नु पर्छ। गलत भनिएका दृष्यहरुलाई आलोचना गरेर बस्नु भन्दा त्यस्ता प्रवृत्तिहरु समाजमा आउने दिनमा नआउँन, नदेखिउन भन्ने बारे पनि सोच्नु पर्छ।
