काठमाडौं, ५ चैत। अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक पारित भएको छ। विधेयक शुक्रबार बहुमतले पारित भएको हो। मेरिल्याण्ड हाउस अफ एसेम्बेलीका सदस्य ह्यारी भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै बिधेयक पास भएको जानकारी दिए।
'एक जुगमा एक दिन एकपटक आउँछ। साँच्चै नै अमेरिकाको नेपाली डायस्पोराका लागि यो दिन एक जुगमा एकपटक नै आएको हो' उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
अमेरिकामा नेपाली मूलका सांसद उनले दशै नेपालमा उत्पति भएको सांस्कृतिक चाड हो भनेर विधेयक प्रस्तुत गरेका थिए। उक्त बिधेयक ५ मतका विरूद्ध १२३ मतले पारित भएको उनले जानकारी दिएकाछन।
'सामान्यतया सबैका लागि असम्भव जस्तै लाग्ने त्यो सपना मैले भने अमेरिका आएर यही बस्छु भन्ने लागेकै दिनदेखि देख्न थालेको थिएँ, आज त्यो विपना हुँदा मेरो दिमागमा एउटै कुरा खेलिरहेको छ,राजनीतिको शब्दकोशमा असम्भव भन्ने शब्द हुदैन’ उनले लेखेका छन।
यो विधेयकको प्रस्तावनामै नेपालमा उत्पति भएको दशै असत्यमाथि सत्यको जीतको खुशीयालीमा मनाइने एक सांस्कृतिक चाडका रुपमा उल्लेख गरिएको छ। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४औं संसद अधिवेशनमा प्रस्तुत भएको हो।
