• ट्रेण्डिङ्ग :
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको सङ्क्रमण देखिँदै

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको सङ्क्रमण देखिँदै


  • 4.6K
    SHARES
    • आषाढ १३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 7.1K Views

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको सङ्क्रमण देखिँदै

    कञ्चनपुर, असार १३ गते । गर्मी र वर्षातको समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।

    images

    जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो । “तापक्रम र वर्षाको चक्रले डेंगुको जोखिमलाई बढाएको छ”, उहाँले भन्नुभयो, “पहिला गर्मी र वर्षाका बेलामात्र डेंगुको सङ्क्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेंगु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।”

    लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्‍याउँदा डेंगुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको उहाँको भनाइ छ । उहाँका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेंगु सङ्क्रमण देखापरेको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

    कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेंगु सङ्क्रमण देखापरेको छ । बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेंगुका बिरामी देखापरेका छैनन् । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेंगु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले डेंगुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

    जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेंगुसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । वर्षातको समय सुरु भएकाले डेंगुको सङ्क्रमण तीव्र रूपमा बढ्नसक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

    डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

    “गर्मी र वर्षातको समयमा डेंगु सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेङ्गुको रोकथाम गर्न सकिन्छ ।” रासस 

     


    तेस्रो आँखा