तिम्रो कोमल ओठले चुमेर फालेका चुरोटका ठुट्टाहरुलाई मेरा पैतालाले हरेक दिन कुल्चिदा तिम्रो चम्किलो र हँसिलो मुहार याद आउने गर्छ। तिमी को हौ कहाँ बस्छौं तिम्रो नाम केहो मलाई केही थाहा छैन। लगातार केही समयदेखि तिमी चिया घरको रेगुलर कस्टमर भएर आइरहेकी छौ मैले मेरो ख्यालमा आएसम्म सायद तिमी यो ठाउँ भन्दा बाहिर कै हुनुपर्छ तिमीले लगाउने कपडा तिम्रो बोली तिम्रो व्यक्तित्व देख्दा कुनै शहरबाट यो ठाउँमा आएर पढ्दैछौ अथवा जागिर खान्छौ जस्तो लाग्छ ।
मेरो मनमा तिमी को हौ भन्ने कौतहल पहिलेदेखि लागिरहेको थियो तर बोल्ने कुनै बाहानाहरु केही भेट्टाउन सकेको थिएन। मैले चिया घर सुरुवात गरेको पनि झन्डै तीन वर्ष पुरा हुन थालिसके छ। चिया घर सुरुमा म आफैंले हेर्ने गरेको थिएँ तर बिस्तारै मेरो समय व्यस्तताका कारण मैले एकजना व्यक्तिलाई केही समयको लागि भाडामा दिएर संचालन भईरहेको थियो।
अहिले फेरि विविध कारणले गर्दा आफै चलाउनु पर्ने भएको छ मैले केही दिन बन्द गरेर व्यवस्थापन मिलाउन थालेको थिए। तर चिया घरका शुभचिन्तक साथी भाईहरुले चिया घर कै फेसबुक पेजमा म्यासेज गरेर मलाई फोनसमेत गरेर किन बन्द गर्नु भएको चिया घर कहिले खुल्छ छिटो खोल्नुस न जस्ता सुझावहरु आउन थालेका थिए।मैले चिया घरलाई एउटा चिया पसलको रुपमा मात्र स्थापित गरेको रहेन छु ।
यहाँ आएर घण्टौंसम्म साथी भाईहरू गफिनको हास्न हसाउन रमाइलो गर्नका लागि एउटा राम्रो जक्सनसमेत भैसकेको रहेछ ।मैले चिया घर चलाएर कति पैसा कमाए भन्दा पनि यति धेरै माया गर्ने साथी भाईहरु कमाएको रहेछु म यो कुरामा नै गर्व गर्छु। चिया घर १/२ दिन बन्द हुँदा चिया घर बाहिरबाट तपाईहरुलाई फर्काउदा मलाई पनि नमज्जा लाग्ने गथ्र्यो। चिया घर संचालनमा नआउनुको मुख्य कारण मैले यहा काम गर्ने मान्छे नभेट्टिएकाले थियो तर आजदेखि म आफै भए पनि खोल्छु भन्ने लाग्यो। मलाई हरेक सुख दुखमा साथ दिने रगतको नाता नभए पनि भावनाको साइनो जोडिएको एकजना आत्मीय भाई अभियान गौतमलाई फोन गरेँ ।
उ होटेल म्यानेजमेन्टको विद्यार्थी पनि अहिले बारिस्ता कफी चिया बनाउने तालिम पनि लिईरहेको छन समय मिल्छ भने तिमी आउ न मलाई केही समय सहयोग गर भनेपछि उसले पनि नाई भनेनन् र आजदेखि फेरि चिया घर संचालनमा आएको छ। दुवै जना मिलेर सरसफाइदेखि सबै सामानहरु किनेर ल्यायौ । बिस्तारै फेरि पुरानै अनुहार गरेका साथीहरू चिया घर भित्र पस्दै थिए।
चिया घरमा तिम्रो पुनः आगमनले म उत्साहित थिएँ। भित्र पसेर तिम्रा मृग नयिनी आँखाले वरिपरि कसैलाई खोजे जस्तो गरेर नियालेर हेरिरहेको थियो ।मुसुक्क हाँसेर सुरिलो स्वरमा खै त यहाँ काउन्टरमा बस्ने दाई? उसको प्रश्नको जवाफमा मैले उहाँले छोडिसक्नु भयो चिया घर अब म आफै चलाउदै छु ? के लिनु हुन्छ चिया कफि ? केहि नबोली मुस्कुराइरहेपछि मलाई थाहा भयो उनी सधै चिया घरमा चुरोट खानको लागि आउने गर्थिन कहिले चियासँग त कहिले चुरोट मात्र मैले धेरै पटक म भर्याङमा उक्लिदा उनलाई चुरोट खाईरहेको देखेको थिए। आजभोली चुरोट केटीले पनि खान्छन् भन्दा अचम्म मान्नु पर्दैन सामान्य जस्तै भइसकेको छ।
तर लुकेर खाने चाहि उनी मात्रै थिइन अरु केटीहरुले सबैको अगाडि खाने गर्थें । मेरो कोठा चिया घर कै माथिल्लो तलामा छ म माथि जाँदा तल झर्दा भर्याङमा सधै ति सुन्दर केटीले आठमा च्यापेर फालेका चुरोटका ठुट्टाहरु कुल्केर हिड्ने गर्छु र सम्झन्छु उज्यालो हँसिलो अनुहार भएकी सुन्दर केटी आज तिमी सुरुमा एक्लै आएको थियौं पछि तिम्रो साथीहरूलाई पनि बोलाएको रहेछौं । चुरोट पनि साथीहरू सँग तल नै बसेर खायौ अप्ठ्यारो मान्नु पर्दैन हरेक व्यक्ति स्वतन्त्र हुन्छ उसले के गर्ने के नगर्ने भन्ने आफ्नै अधिकार को कुरा पनि हो फेरि चुरोट खाँदैमा कोही बिग्रेको हुन्छ भन्ने मानसिकता भएको समाजलाई पनि त बदल्ने जिम्मा हाम्रो नै हो।
बरु आउ लुकेर होइन खुलेर खाँउ तिमी सँगै बसेर म पनि सँगै खाइदेउला तिमी सँग परिचय गरेर साथी भैदिउला । अब तिम्रो कोमल ओठले चुमेका चुरोटका ठुट्टाहरु मेरो पैताला ले कहिले कुल्चिन नपरोस् । तिमी यसैगरी सधै आऊ र निर्धक्क भएर माग तिमीलाई के खान मन छ शिखर वा सुर्य म मुस्कान सहित तिम्रो सेवा गरिरहने छु।
समिर ओली
