आमा !
थाहा छैन तिमी कहाँ पुग्यौ
न्यानोपन अझै छ ममा तिम्रा काखहरुको
थाहा छैन बा तिमी कहाँ पुग्यौ
बलिया साथ छन् झै लाग्छ तिम्रा काँधहरुको
आमा
सपना झैं लाग्छ तिमीलाई
त्यो नदी किनारमा दागबत्ति लगा’को
सपना झैं नै लाग्छ बा तिम्रो
त्यै नदीमा खरानी बगा’को
तर सत्य !
तर, सत्य हो यी सपना सपना थिएननु
काँधमा बसी तानेको बा’को कपाल थिएनन्
काखमा सुति लात्ति हानेको आमाका स्तन थिएनन्
थिएनन् दुबैका देहहरु
तर, यादमा छन् माया र साथका हर प्रहरहरु
आमा
भन्ने गथ्र्यौ
‘बाआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुडा माथि’
बा
भन्ने गथ्र्यौ
‘माया सधै उदोतिर बग्छ उबो तिर बग्दैन’
भन्थ्यौ, बिहे गरेसी छोरा बेचियो भनेर
थाहा छैन
आज फर्केर हेर्दा तेस्तै लाग्यो
तिमीले छाडेको दुई बित्ता माटोको लागि
हामी दाजुभाइको झगडा हुँदा
एउटै स्तन चुसेका दिदीबहिनीलाई
एउटा बुढी बाख्रो दिन तर्किदा
हामी !
हामी अजिब थियौं
पीडाले छटपटिँदा के खानी भनेर नसोधी,
त्येस्तै हुन् आमाबा भन्ने गथ्र्यौ
सायद तिम्रो भन्दा बढी इज्जतको माया भएरै होला
आज पण्डितलाई हामी लावालस्कर पारेर सजाएर पठाउदै थियौं
हामी मात्र होइन हामी जस्ता धेरै छोरा येस्तै थिए होला
अझै तेस्तै हुनेछन् होला
आमा
थाहा छैन तिमी कहाँ पुग्यौं
न्यानोपन अझै छ म मा तिम्रा काखहरुको
थाहा छैन बा तिमी कहाँ पुग्यौं
बलिया साथ छन् झै लाग्छ अझै तिम्रा काँधहरुको
